Home समाचार समाचार गुरु पूर्णिमा ! गुरुको श्रद्धा र स्मृतिको दिन

गुरु पूर्णिमा ! गुरुको श्रद्धा र स्मृतिको दिन

इन्द्रप्रसाद कटुवाल
गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरु साक्षात परंव्रम्हा तस्मै श्री गुरवे नमः ।।
अखण्ड मण्डलाकारं व्याप्तमेन चराचरम् ।
तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः ।।
हिन्दू धर्म संस्कृतिभित्र सारगर्भित महत्वका अनमोल संस्कृति रहेको पाइन्छ । यस्ता विभिन्न सांस्कृतिक पर्वहरुमध्ये गुरुपूर्णिमा गुरुप्रतिको सच्चा श्रद्धा ब्यक्त गर्ने, गुरुको महिमालाई ह्दयङ्गम गर्ने÷गराउने पर्वको दिन हो । यो आषाढ शुक्ल पूर्णिमाको दिन पर्दछ । यसवर्ष आजैको दिन अर्थात २०७६ साल आषाढ ३१ गते मङ्गलबारको दिन पर्न गएको छ । यसको प्रारम्भ श्री वेदब्यासज्यूको पूजा अर्चना र व्यासस्मृतिका रुपमा मनाइने गरेकोमा वर्तमान सन्दर्भमा आफ्ना श्रद्धेय गुरुप्रति श्रद्धा सुमन अर्पण गर्ने, गुरुलाई आफ्नो हृदयको उच्च आसनमा पवित्र भावले स्थापित गर्ने र तदनुरुप भेट गर्ने वा फोन गरेर पनि आफ्नो श्रद्धा प्रकट गर्ने गरिन्छ ।

हामी यस महान र पवित्र पर्व गुरु पूर्णिमाका दिनलाई प्रथमतः व्यास पूजाका रुपमा लिने गरेको पाउँछौं । द्वापर युगका महामुनि जगदगुरु श्री वेदव्यासले विश्वकै पहिलो लिखित दस्तावेजका रुपमा मानिएको वेदलाई लिपिवद्ध गर्ने तथा यसलाई सरलताका दृष्टिले चारभागमा विभाजन गरेर लेख्ने काम गरेका थिए । जस अनुसार ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद पर्दछन् । यसका साथै वेदान्तका रुपमा विभिन्न उपनिषद, वेदान्त दर्शन, १८ महापुराण र अठारै उपपुराण र महाभारत लेखेका हुन् भन्ने शास्त्रोक्ति रहेको छ । यसरी वेदलाई ऋचा र मन्त्रको रुपमा उपनिषदलाई दर्शनका रुपमा र पुराणलाई स्मृतिका रुपमा र महाभारतलाई इतिहासको रुपमा तथा श्रीमद्भागवत गीतालाई व्यवहार दर्शन एवं आत्मज्ञानका रुपमा अध्ययन गर्न पाएको श्रेय उनै जगद्गुरु महामुनि श्री व्यासज्यूमा निहित रहेको छ । त्यसैले यो ‘गुरु पूर्णिमा’ उनै व्यास ज्यू को पूजा अर्चना गरिने दिनका रुपमा मानिने हुनाले र गुरु परम्परा अनुसार आफूले मान्ने गुरुका श्रद्धा भक्तिसँग पनि जोडिन पुगेको बुझ्नुपर्छ ।
अब यहाँ गुरुको महत्व र महिमाको बारेमा संक्षिप्त चर्चा गरौं । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो । यसरी द्वयक्षरी गुरु शब्दको अर्थ अध्यारोबाट उज्यालोतर्फ लैजानु भन्ने हुन्छ । हो, यस संसारमा जन्म लिनेहरुमा कतिपय भौतिक रुपमा जन्मान्ध वा दृष्टिविहीन बन्न पुगेकारुमा पनि ईश्वरले ज्ञानचक्षु प्रदान गरेका छन् । जन्मदै कोही पनि ज्ञानवान भएर जन्मेको हुँदैन । जबसम्म गुरुबाट सच्चा ज्ञान प्राप्त हुँदैन तबसम्म हाम्रा आँखा र पशुका आँखासमान मानिन्छन् । त्यसैले जडवस्तुलाई देख्ने आँखामा चराचर जगतलाई बुझ्ने ज्ञानरुपी ज्योति त हामी गुरुबाटै प्राप्त गर्दछौं । त्यसैले पहिल्यै भनिएको छ ‘गुरु व्रम्हा ! विष्णु र महेश्वरका रुप हुन् अर्थात् त्यो अखण्ड चराचर जगतलाई ज्ञानरुपी आलोकले प्रकाशित गराइराख्ने गुरु देवता हुन् । यस्ता गुरुमा हाम्रो नमस्कार छ ।’
यहाँ अझै एउटा सवाल आउँछ, कस्लाई गुरु भन्ने ? भनिएको छः– शिक्षा गुरु अनेक हुन्छन् र दीक्षा गुरुचाहिं एक मात्रै हुन्छन् । यसरी हेर्दा शिक्षा गुरु विषयसँग सम्बन्धित रहेका हुन्छन् भने दीक्षा गुरु संस्कारप्राप्त गराउने पिताका रुपमा मानिन्छन् । त्यसैले गुरुलाई ज्ञानदाता, जन्मदाता र पालनकर्ताका रुपमा मानिन्छ । अनि त भनिएको छ–‘मातृदेवो भवः पितृदेवो भवः आचार्यदेवो भवः’ भनेर । तसर्थ आजको दिन त्यही परम पावन दिन हो जस्ले गुरुप्रति सच्चा श्रद्धाभक्तिको जागरण गराओस् । अस्तु ! श्री गुरवे नमः ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार गुरु पूर्णिमा ! गुरुको श्रद्धा र स्मृतिको दिन

Most Popular

Recent Comments