Homeसमाचारसमाचारहरिशयनी एकादशी र तुलसी रोपण

हरिशयनी एकादशी र तुलसी रोपण

आज आषाढ शुक्ल एकादशी । यो एकादशीलाई लाई हरिशयनी एकादशी भनेर चिनिन्छ अर्थात तुलसी रोपण गर्ने दिनका रुपमा लिइन्छ । हरि अथवा विष्णु भगवान् शयन गर्ने समय भएकाले यस दिनलाई हरिशयनी भनिएको हो । एकादशी चान्द्र महिनाको एघारौँ दिन हो । यस दिन व्रत बस्ने कथा सुन्ने र तुलसीको रोप्ने गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन दल राखिएको तुलसीको विरुवा हरिशयनी एकादशीमा रोपण गर्ने प्रचलन छ । आषाढ शुक्ल एकादशीका दिन रोपण गरिएको तुलसीको चारमहिना पछि आउने हरिबोधिनी एकादशीका दिन विष्णु भगवानसँग विवाह गर्ने शास्त्रीय विधान रहेको छ । यस एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ ।
तुलसी भक्ति ज्ञान र वैराज्ञको केन्द्रविन्दु हो । एकादशीमध्येको उत्तम एकादशी हरिशयनी हो । यस दिनबाट विष्णु भगवान् चार महिनासम्म शयन गर्ने भएकाले यो समयलाई चतुर्मासा पनि भनिन्छ । आयु वृद्धिमा पनि तुलसीको विशेष महत्व रहेको छ । आयुर्वेदमा तुलसीलाई महौषधीको संज्ञा दिइएका छ । बाहिर कतै पवित्र स्थानमा उम्रिएको तुलसीको बिरुवालाई यस दिन मठमा सार्नु पर्दछ ।
तुलसी रोपण विधि –
हरिशयनी एकादशीका दिन तुलसीलाई मठमा सारिन्छ । तुलसीको दल राखेको स्थानमा गई
प्रसीद मम देवेशि कृपया परया सदा ।
अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।। मन्त्रोच्चारण गरिन्छ । यसरी प्रार्थना पछि जरा र केही माटोसहित तुलसीलाई पूर्व फर्केर उखेल्नु पर्दछ । यसरी उखेल्दा ‘ॐ नमो भगवते वासुदेवाय’ उच्चारण गर्नु उत्तम हुने जानकारहरु बताउँछन् । त्यसैगरी विधिपूर्वक उखेलिएकी तुलसीलाई मठमा पूर्व फर्केर रोपण गरी पानी राखिदिनु पर्दछ ।
तुलसीलाई विभिन्न आठ नामले पुकारिन्छ । जस्तैः वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी ।
हरिशयनी एकादशीको कथा –
स्कन्द पुराण अनुसार पतिव्रता पत्नी वृन्दाको सतीत्व नै जालन्धरको अमरत्वको आधार थियो । वृन्दाको सतीत्व अन्त्य नगरी जालन्धर राक्षसको अन्त्य सम्भव थिएन । सृष्टिको कल्याण गर्ने उद्देश्यले भगवान् विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नुपरेको थियो । विष्णु भगवान्ले रूप वदली जालन्धरको भेषमा गई वृन्दाको सतीत्व हरण गरेको थाह पाएपछि वृन्दाले भगवान् विष्णुलाई श्राप दिन्छिन् । त्यसपछि भगवान् विष्णु पत्थरका रूपमा शालग्राम हुनुभयो । पुनः वहाँ वृक्षका रूपमा तुलसी पनि हुनु परेका थियो । वृन्दाको श्रापका कारण भगवान् तुलसीरूपमा प्रकट भई सर्वकल्याण गरेको कथा पनि पुराणमा पाइन्छ । तुलसीको वनलाई वृन्दावन भनिन्छ । एकादशी महिमाको चर्चा पद्म पुराणको चौध अध्यायमा पनि पाइन्छ । एकादशीको व्रत धारण गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्रप्त हुने कुरा ब्रह्मवैवर्त पुराणमा व्याख्या गरिएको छ ।
आहार विहार
एकादशी तिथिमा सात्विक आहार उपयुक्त मानिएको छ । विशेषतः अन्नलाई पनि त्याज्य मानिन्छ । सात्विक आहार, विहार र विचार एकादशीका पर्याय हुन् । भगवान्का कथा श्रवण एवं भगवान्को नामसंकीर्तन यस दिन उत्तम फलदायी रहन्छन् । यस दिन मांसहार, मैथुन, परनिन्दा, राजसी र तामसी भोजन एवं कार्य निषेध गरिएको छ । दान पुण्यका कर्म भने एकादशीमा शुभ रहन्छन् ।
व्रत रहनु आफूमै पवित्रताको वरण गर्नु हो । आजको विज्ञानले पनि व्रतलाई आवश्यक ठानेको छ । वैदिक संस्कृति र सभ्यतामा व्रतलाई एक यज्ञको संज्ञा दिइएको छ । व्रत पनि एकप्रकारको यज्ञ नै हो । यसैले विशेष तिथि पर्वमा व्रत धारण गर्ने परम्परा रहिआएको छ । यस्तै व्रत धारण गर्ने उपयुक्त दिन एकादशी पनि हो । व्रत रहँनाले समस्त मनोकांक्षा पूर्ण हुने धार्मिक मान्यता रहेको छ । हरेक पन्ध्र दिनमा एउटा एकादशी पर्ने गर्दछ । हाम्रो समाजमा एकादशीको व्रत बस्ने चलन छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारहरिशयनी एकादशी र तुलसी रोपण
spot_img

Most Popular

Recent Comments