
दमक २९ जेठ । कोरोना भाइरसको संक्रमणका बीच सहकारी तथा लघुवित्त संस्थाहरुले गाउँ गाउँमा ऋण असुली गरिरहेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले तत्काल उक्त कार्य रोक्न चेतावनी दिएको छ ।
महामारीको घडीमा समेत ऋणको किस्ता तिर्न उर्दी जारी गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले विज्ञप्ती मार्फत त्यस्तो चेतावनी दिएको हो । झापामा साहारा नेपाल , जीवन बिकास , फरवार्ड लगायत एक दर्जन भन्दा बढि लघुवित्त तथा सहकारी संस्थाहरुले सर्वसाधारण जनता र व्यवसायीहरुलाइ ऋणको किस्ता तिर्न भर्न मानसिक दबाब दिएको उल्लेख गर्दै उक्त कार्यप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
कोरोना भाइरसका कारण हालसम्म नेपालमा १५ जनाले ज्यान गुमाएको र त्यो भन्दा बढि भोकमारी र गरिबीका कारण आत्महत्या गर्ने गरीब, मजदुर, सुकुम्बासीहरुको संख्या १ हजार एक सय भन्दा बढि रहेको भन्दै मानविय संवेदनशीलतालाई ध्यान दिन र तत्काल किस्ता तिर्नको लागि कसैलाई पनि मानसिक दबाब नदिन विज्ञप्तीमार्फत सचेत गराइएको छ ।
जिल्ला सेक्रेटरी श्रीजंगले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा दलाल पूँजीवादी संसदीय व्यवस्थाले जनताको बिचमा थुपारेको अन्यायपूर्ण ब्यवहारको विरुद्ध संघर्ष रहँदै बैज्ञानिक समाजबादी राज्यसत्ता स्थापनाको निम्ति जस्तोसुकै चुनौतीको सामना गर्न तत्पर रहेको पनि उल्लेख छ ।