
कुनै बेला मधुपर्कमा पढेको एउटा लघु कथाको सम्झना आयो। कथामा हाम्रो साँस्कृतिक परिवर्तनको बिम्ब प्रस्तुत गरिएको थियो । मेरी बुढी फुपुका पालामा बिहे गर्ने केटो मछा मासु ,लसुन प्याज,हुक्का बिँडी केही नखाने शुद्ध ब्राह्मण हुनु पथ्र्याे। त्यसपछी मेरी फुपूको पालो आयो । त्यसबेलाको केटो हुक्का बिँडी, लसुन प्याज खाएपनि माछा मासु चाहिँ नखाने ब्राह्मण हुनुपर्ने भयो । पालो मेरी दिदिको आयो । लसुन प्याज, माछा मासु, लसुन प्याज सबैथोक खाएपनि जाँड रक्सी चाहिँ नखाने केटो रोजाइको हुनेभयो। अहिले आएर मेरी छोरीको पालामा अरु सबै चिज खाए पनि लागू पदार्थको कुलतमा चाहिँ नफसेको केटो सहि हुन पुगेको अवस्था छ । समय गतिशिल छ । परिवर्तन त अवस्य हुन्छ नै । तर सार्है बिस्तारो गतिमा हुने रहेछ । परिवर्तनका लागि ठूला ठूला आन्दोलन भए, विभिन्न राजनैनिक परिवर्तन भए । देश एकीकरण गरियो, राणा शासनको अन्त्य गरियो । राजा फालियो । बन्दुकको नालबाट सामाजिक परिवर्तन गर्न सकिन्छ भन्ने बिश्वास गर्नेहरुले हज्जारौं जनताको बलि चढाए । रातारात ब्यवस्था परिवर्तन पनि भयो । तर जनताको चाहाना अनुसारको परिवर्तन हुन सकेन ।
हुनत उहिल्यै चन्द्र शम्सेरले छुवाछुत प्रथाको अन्त्य गरेका हुन । राजा महेन्द्रले मुलुकी ऐनमा छुवाछूत गर्नेलाइ दण्ड सजायाँको समेत ब्यबस्था गरे। तर खोइ त्यसको परिणाम भर्खरै घटेको रुकुम घट्नाले परिवर्तनको संवाहक हौँ भन्नेहरुलाइ बेस्करी झंगालेको छ । हिजो कन्पारामा बन्दुक तेर्साएर ब्राह्मणको चुलोमा दलितलाइ भान्से बनाएर सामुहिक भोज गराउँदा पनि परिवर्तन भएनछ । जाजरकोट र रुकुममा मात्र जनयुद्धको बेला ५०० भन्दा बढी दलितहरुले ज्यान गुमाउनु परेको थियो भन्ने तथ्यांक बाहिरिँदै गर्दा त्यस अवस्थाबाट उत्पन्न परिस्थितिको तर मार्नेहरु कति जवाफदेही हुन सक्लान ।
करोडौं बिदेशी डलर भित्र्याएर खोलिएका Ngo/Ingo हरुका संचालक तथा दलितका अगुवाहरुले आरक्षणको माध्यमबाट सार्वजनिक पद धारण गरी ठूलो मान्छे भएकोमा गर्व गर्दै बस्नेहरुले आफ्नो वास्तविक काम कर्तव्यको बाटो बिर्सिदिँदा पनि यो परिवर्तनको गति तेज हुन सकेन । बर्तमान अवस्थामा आइपुग्दा दलित हुनु कुनै पूर्वजन्मको पापको फल वा कुनै देवी÷देवताको श्राप नभई यो त पेशा र बर्गको आधारमा सुरु गरिएको बिभेदको कारण उत्पन्न भएको भन्ने तथ्य स्पष्ट भइसकेको छ । अहिले कुनै पेशा या ब्यवसाय कुनै जाती बिशेषले मात्र गर्ने भन्ने अवस्था रहेन । ब्राह्मणले पनि कपडा सिउने ,फलाम कुट्ने ,सेफ्टी ट्याँकी सफा गर्ने जस्ता कार्यहरु सगौरव गरिरहेका छन । कामबाट सुरु भएको बिभेदको प्रथा कामकै आधारमा विभेद गर्नु मुर्खता हो भन्ने मान्यता स्थापित भइसक्दा पनि किन हुन सकेन यसको अन्त्य ‘कतै लुतो कन्याउँदा आनन्द भएर लुतोको उपचार नगरी कन्याइरहे जस्तो त होइन’ राजनैतिक पार्टी दलित अगुवा र नेताहरु नै चाहाँदैनन यसको अन्त्य । हरेक पार्टीको चुनावी घोषणा पत्रमा यो प्रथाको अन्त्य गर्ने कुरा गरेकै हुन्छन्। यसकै आधारमा होला आरक्षणको ब्यवस्था भएको । तर त्यसले वास्तविक दलित र तिनीहरुका पिडालाइ सम्बोधन गर्न सकेन । हरेक पटक एउटै ब्यक्ति कोटामा पर्नुले यसको पुष्टि गर्छ । के सामाजिक सुरक्षा भत्ता र आरक्षणले दलितलाइ दलन मुक्त गर्न सक्ला र ?

यो दलनबाट मुक्ति पाउन कसैले थर फेरे, कसैले जात लुकाए र कसैले धर्म परिवर्तन गरे । रुकुम घट्नाले यी सबै प्रयासलाइ मिथ्या साबित गरिदिएको छ । हुन त परम्परागत भन्दा केही परिवर्तन अवश्य भएका छन । कछुवाको गतिमा भएपनि परिवर्तनको क्रम जारी छ । कुनै दलित परिवारमा आफ्ना नानीहरुलाइ आफूहरु दलित भएको र हामीले छुवाछुत बार्नुपर्छ भनेर सिकाउन छोडियो । उपल्लो जात मानिएकाहरुले पनि दलित भनेर हेलाँ होचो गर्नु हुन्न भनेर सिकाइन्छ । तथापी राज्यको कुनै कुनै नीति नियम नै यसको विकासमा बाधा बनिरहेका छन ।
जब बालबालिकाहरु स्कुल पढ्न सुरु गर्छन तब बिद्यालयबाट सामाजिक सुरक्षाभत्ता अन्तर्गत दलितलाई कापी किताब, झोला, पोशाक आदि दिइन्छ तर उस्तै अर्थात त्यो भन्दा पनि कमजोर आर्थिक अवस्था भएको उपल्लो जातिको मानिने बिद्यार्थी पाउँदैन। शिक्षकलाइ सोध्न ऊ बाध्य हुन्छ । ‘उसले मात्र किन पायो मलाइ चाहिँ खोइ’ त्यो अवस्थामा समानताको पाठ पढाउनु पर्ने शिक्षकले बाध्य भएर साना बालबालिकाले बुझ्ने गरी दलित र गैह्रदलित बीचको भिन्नताको बारेमा बुझाउनु पर्ने हुन्छ । त्यस्तो बुझाइले राम्रा–राम्रा सामग्री पाएर फुरुङग परेको बालकको मन खिन्न हुन्छ । उसले आफ्ना अभिभावकलाई पनि सोध्छ । उनीहरुले पनि बाध्य भएर वास्तविकता अथ्र्याउनु पर्छ । त्यसैदिन देखि दलित बालबालिकामा हिनताबोधले ग्रस्त मानसिकताको विकास हुन थाल्छ । त्यसैगरी उपल्लो जात मानिएका बालबालिकाहरुमा दम्भ सुरु हुन्छ । उमेरसँगै यस्तो मानसिकताले फुल्ने फल्ने मौका पाउँछ र अन्त्यहिन मान्यता स्थापित भइ रहन्छन् ।
हुनत यस विषयका शोधकर्ताको कमी छैन। कतिले PHD गरेका छन्। धेरै कथा लेखिए । कविता कोरिए । गीत बनाएर गाइए पनि । यतिधेरै प्रयासहरु हुँदाहुँदै पनि दलितलाई हेर्ने दृष्टिकोणले नयाँ भेउ पाउन सकेन । यसो हुनुको मुख्य कारण हिन्दु धर्म शास्त्रलाइ मान्नेहरु पनि प्रशस्त छन । अझ यसका PHD वालाहरुले त धर्म शास्त्र र ब्राह्मणहरुलाइ गाली गर्नु नै समाधान बुझेका छन । तर हिन्दुधर्मको मुख्य शास्त्र मानिएको भागवत गीतामा किन्नर गन्धर्व देवताहरु सबै मिलेर नाचगान गरेको पुराण सुनेको र मिलेर रहेको पाइयो। ब्राम्हण क्षेत्री जस्ता उपल्लो जात मानिनेहरुले चलनमा ल्याएको भन्ने हो भने पनि राजा महेन्द्र र चन्द्र शम्सेरले गरेका कार्यले यो बर्ग पनि यसको अन्त्य चाहान्छ भन्ने बुझिन्छ । धर्म परिवर्तनले यसको अन्त्य हुन्छ भन्ने मान्यता राख्नेहरुले धेरै दलितहरुलाइ इसाइ बनाएका छन् ।
तर धर्मपरिवर्तन गरेकाहरु बिच पनि यो विभेद कायमै छ । यसले उनीहरुलाइ अझै दलित बनाएको छ । धर्म परिवर्तन यसको समाधान पटक्कै होइन। दलित उत्थानका निमित्त बनाइएका कानूनहरुनै दलितलाइ दलित नै बनाइ राख्न सहायक सिद्ध भएका छन । जसरी कोरोनाले धनी गरीव ,जात बर्ग उमेर केही नहेरी समान व्यवहार गर्छ नि त्यसरी नै समान व्यवहार गर्ने कानून बनोस। जन चेतनाको अभियानमा सबैले जुट्नु पर्छ । सचेत बर्गले अवस्य पनि फरक छुट्याउँदैन । यो प्रथा स्वयं अन्त्य भएर जानेछ । सबै सचेत बनौँ बर्गको आधारमा आरक्षणको माग गरौँ । अबको आन्दोलन दलित प्रथाको अन्त्यको लागि गरौँ। सामाजिक रुपान्तरणको लागि एकजुट बनौँ।
झापा ।