Home समाचार पूर्वीनाकाबाट उद्दार गरिएकालाई धमाधम गृह जिल्ला पठाउँदै

पूर्वीनाकाबाट उद्दार गरिएकालाई धमाधम गृह जिल्ला पठाउँदै

झापा १० जेठ । नेपाल–भारत पूर्वी सीमाबाट उद्दार गरिएका नागरिकलाई धमाधम गृहजिल्ला पठाउन थालिएको छ ।
पूर्वी सीमाबाट उद्दार गरिएका १ हजार बढी नेपाली मध्ये शनिबार ४ सय जनालाई गृह जिल्ला पठाइएकोे झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्दार गरिएका मध्ये लगभग ९ सयजना अन्तर जिल्लाका रहेका छन् । बाँकी रहेका लगभग ५ सय बढी नागरिकलाई पठाउने तयारी भइरहेको कोइरालाले जानकारी दिनुभयो । उद्दार गरिएकाहरु दाङ, कालिकोट, कैलाली, कास्की लगायत ४० जिल्लाका नागरिक रहेको बताइएको छ ।
विभिन्न कामले भारतमा रहेका नेपालीहरु कोरोना संक्रमण जोखिम बढ्दै गएपछि स्वदेश प्रवेशको आशामा नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा प्रतिक्षारत थिए । नेपाल पूर्वी नाकाबाट उद्दार गरिएका मध्ये लगभग नौ सय जना अन्य जिल्लाका नागरिकलाई झापाका विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा राखिएको छ ।
भारतमा अन्तरराज्य रेल चल्न थालेसंगै सीमानामा स्वदेश फिर्ताका लागि नेपालीहरुको भिड बढिरहेको छ । पूर्वी नाकामा अझै ६ देखि ७ सय नेपाली उद्दारको पर्खाइमा रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
पछिल्लो एकहप्तामा झापाका सीमावर्ती क्षेत्र कचनकवलबाट २ सय ४०, झापा गाउँपालिकाबाट १ सय ५० जना स्वदेश भित्रिए थिए । ती मध्ये कचनकवलको सीमा क्षेत्रबाट भित्रिएका २ सय ४० जना नै स्थानीय नागरिक हुन् । उनीहरु अहिले गाउँपालिकाको क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै झापा गाउँपालिकाको सीमाक्षेत्रबाट भित्रिएका १ सय ५० मध्ये आफ्ना नागरिकलाई झापाले क्वारेन्टाइनमा राखेको छ भने अन्य स्थानीय तह र अन्तर जिल्लाका नागरिकहरुलाई तत् स्थानीय तह र जिल्लामा पठाइएको छ ।
भारतबाट नागरिक भित्रिएका नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । चार दिन अघि भारतबाट आएका झापा गाउँपालिकाको डिल्लीराज माविको क्वारेन्टाइनमा बसेका एकजनामा शनिबार कोरोना पुष्टि भएको छ भने कचनकवलको क्वारेन्टाइनमा रहेका ३३ जनामा यसअघि नै कोरोना पुष्टि भएसंगै उनीहरुलाई उपचारका लागि कोशी अस्पताल पठाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार पूर्वीनाकाबाट उद्दार गरिएकालाई धमाधम गृह जिल्ला पठाउँदै

Most Popular

Recent Comments