Home समाचार धर्मकलाले आँशु झार्दै भनिन्–‘चाहेको परिवर्तन ब्यवहारमा देखिएन’

धर्मकलाले आँशु झार्दै भनिन्–‘चाहेको परिवर्तन ब्यवहारमा देखिएन’

इन्दु पूर्वेली
मन्त्री मण्डल गठन गर्न पुग्छन् यिनै दिल्ली
नेपालको शासन गर्ने नेहरुका विल्ली

केटाकेटी हुँदा धर्मकला प्रसाईले सुनेको गीत हो यो । त्यस बेला नेपालमा शान्ति प्रक्रियाका लागि दिल्लीमा गरिएको सम्झौताको विपक्षमा रहेकाहरुले यस्तो गीत गाउँथे । असन्तुष्ट मध्ये कतिपय २००७ सालपछि कम्युनिष्ट भएर यस्तो गीत गाउन थाले । धर्मकला ओली प्रसाईका बुबा काका पनि यस्तैमा पर्थे शायद । २००७ साल अघिसम्म प्रजातन्त्रकै लडाई लडेका जिम्दार देवीप्रसाद उप्रेती लगायत प्रजातन्त्रवादीहरु सम्झौताप्रति चित्त नबुझेपछि सक्रिय भएर राजनीतिमा हिंडेनन्। तर, पछिसम्म कांग्रेसलाई नै सहयोग गरे तर धर्मकलाका बुबा कृष्णप्रसाद, काकाहरु जयनारायण श्रीनारायण ओली लगायत कम्युनिष्ट भए ।
यद्यपि वी.पी.ले भने आफ्नो आत्मवृत्तान्तको परिच्छेद ३२ को अन्ततिर वी.पी ले दिल्ली सम्झौतालाई काल्पनिक कुरा मात्र भएको उल्लेख गर्नुुभएको छ । उहाँले लेख्नुभएको छ ‘हामीहरूको मोहनशमशेरको ग्रुपसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रक्रियामा । कुराहरू जवाहरलालजीमार्फत भए । जवाहरलाल नेहरूले पनि कुनै ठोस कुरा गरेका होइनन् र राजाले त्यसमा कुनै भाग लिएका होइनन् । अरूहरूसँग कुरा गरेको भए मलाई थाहा छैन । एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको ।’
तर कतिपय विश्लेषकहरुले भने दिल्लीको सहयोग नलिई भारतमै रहेको अंग्रेज शासककोे संरक्षण र प्रभावमा रहेको राणा शासन हटाउन नसकिने अवस्था देखिएपछि नेपालका राजा, नेपालमा सक्रिय राजनीतिक दल र दिल्लीबीचको सम्झौताका रुपमा उल्लेख गरेका छन् । उक्त सम्झौतामा के थियो ? भन्ने चाहिं खोजीकै विषय हो ।
वि.सं. २०९९ सालमा बुबा कृष्ण र आमा चन्द्रकला ओलीका सुपुत्रीका रुपमा जन्मिएकी धर्मकला ओली प्रसाईको बाल्यकाल कम्युनिष्ट पृष्ठभूमि भएकै घरमा वित्यो । लगभग १३ वर्षको उमेरमा गंगाप्रसाद प्रसाई (भान्जा बाबू) संग विवाह बन्धनमा बाँधिइन उनी । त्यसबेला झापाका अधिकांशजसो प्रसाईहरु कांग्रेसी थिए । अहिले पनि लगभग ७० प्रतिशत प्रसाई परिवार कांग्रेसमै रहेको बताउँछन् नेपाली कांग्रेस महासमिति सदस्य टिका प्रसाई । बुबा मार्कण्डेय र आमा पवित्राका सुपुत्र हुन गंगाप्रसाद । त्यस बेलाका जिम्दार प्रसाई परिवारसंग दुईसय विगाहा जमिन थियो । खेतिपाती गर्ने खेताला, घरमा आउजाउ गर्ने पाहुनाहरुको स्वागत र घरायसी कामकाजमै धर्मकलाले लगभग २०२१ सालसम्म गुजारिन । शरणामतीमा रहेको उक्त जग्गामा २०२१ सालमा खोलो बग्यो, घर जग्गा जमिन सबै खोलाले बगाएपनि मानवीय क्षति भएन । नाउबाट उनीहरुको परिवारलाई उद्दार गरियो । त्यसबेला उनीहरुसंग झापाको घैलाडुब्बामा १० विगाहा मात्रै जग्गा थियो । दाजु गंगाप्रसाद र भाई रामप्रसादले ५/५ विगाहा बाँडेर बसे ।
८÷९ वर्षकै छँदा धर्मकलाको विवाह भएकै थिएन, बुबा कम्युनिष्ट नेता । मनमोहन अधिकारी, ज्योति बसु जस्ता नेताहरु घरमा आइरहन्थे । प्रजातन्त्र प्राप्ती नहुन्जेल कांग्रस कम्युनिष्ट सबै तत्कालीन राणा शासकको आँखाको तारो बन्थे । २००९ सालको क्रान्तिमा कम्युनिष्ट नेताहरु भागाभाग थिए । कृष्णप्रसाद पनि धेरै समय घरमा बस्दैनथे । ‘२००९ सालको क्रान्तिमा बुबालाई धेरै कठिन थियो, प्रायः घरमा नबस्ने । कहिले इण्डियातिर त कहिले कता भूमिगत जस्तै बस्नु हुन्थ्यो ’– उनले त्यो केटाकेटी मानसिकताले अनुभव गरेको राजनीतिक पृष्ठभूमि सम्झंदै भनिन्–‘एकदिन राति घर आउनुभएको थियो, भोलीपल्ट तौलिया छाडेर जानुभएछ । त्यो तौलिया सुग्दा बुवाबुवा गन्हाउँथ्यो । सँधै सिरानीमा राखेर सुत्थे ।’
ताप्लेजुङको निगुरादिन पैतृक थाकथलो छाडेर धर्मकलाका बुवाआमा २००७ सालमा झापा झरेका थिए । झापाको शनिश्चरेमा लगभग १ बर्षको बसाइपछि साविक शनिश्चरे–बुधबारे र खुदुनाबारीको सिमाना अर्थात मदनपुरमा बस्न थाले उनीहरु । अहिले उनका माइती परिवार जयपुर आसपासमा छन् । धर्मकला सानैदेखि पढाइमा तेज । उनको शिक्षादिक्षा ज्यामिरगढी निवासी माइला काका जयनारायण ओलीको घरबाट भयो । शनिश्चरे, करफोक, शान्तिपुर र ज्यामिरगढीमा गरी उनले कक्षा–७ सम्मको औपचारिक अध्ययन गरिन् । अनौपचारिक शिक्षा ग्रहणको क्रम अहिले पनि जारी छ । विगत ६/७ बर्षअघि बाथरुममा लडेपछि अहिले उनको खुट्टामा स्टिल जडान गरिएको छ । उनी टाढा हिडडुल गर्न सक्दिनन् । हामी उनको घरमा पुग्दा ‘मनोवल एवम् गंगा सेवा’ पुस्तक पढ्दै भेटिएकी उनको अहिलेको समय कटाउने साथी पुस्तक र पत्रपत्रिका नै हो भने पनि हुन्छ ।
एकातिर कम्युनिष्ट पृष्ठभूमिका माइती परिवार र ‘सामन्ती’को संज्ञा दिदै कम्युनिष्टकै आँखाको तारो बनिरहेका घरपरिवारको बीचमा रहेकी धर्मकलालाई कर्मघरतर्फकै आस्था अर्थात नेपाली कांग्रेसकै राजनीतिप्रति मोह जाग्यो । उनी २०२३ सालमा नेपाली कांग्रेसको सांगठनिक संरचनामा औपचारिक रुपमा प्रवेश गरिन् । नेपाली कांग्रेसकै भगिनी संस्था नेपाल महिला संघ घैलाडुब्बा गाउँ पञ्चायतस्तरीय समितिको सभापति बनिन् उनी । उनीसँगै ११ जनाको समिति थियो । हरिकुमारी पोखरेल, कौशिलादेवी पोखरेल लगायत । २०२८ सालमा नेपाली कांग्रेसको चारआने सदस्य बनेकी उनी २०३१ सालतिर नेपाली कांग्रेस ४ नं क्षेत्रीय समितिको कोषाध्यक्ष बनिन् ।
‘चारआने, आठआने सदस्य भन्थे, पैसा कति तिर्नुपथ्र्यो भन्ने चाहिं थाहा छैन’–उनले भनिन्–‘म कोषाध्यक्ष रहँदा पनि पार्टीको आम्दानी थिएन । आवश्यक पर्दा आफैं खर्च गर्नुपथ्र्यो । गर्थे पनि, मलाई उहाँ (श्रीमान)ले दिनुहुन्थ्यो ।’ उहाँको राजनीतिक पृष्ठभूमि नजिकबाट चिहाउनेले खुत्रुके फुटाएर पनि धर्मकलाले पार्टीलाई सहयोग गरेको बताउँछन् ।


लगभग २०२८/०२९ सालतिर उनी प्राकृतिक चिकित्सा पद्दतिमार्फत आफ्नो स्वास्थ्य समस्या देखाउन गोरखपुर प्राकृतिक चिकित्सालयमा गइन् । त्यसैसमय गान्धी कलेजमा आयोजित एक सभालाई कांग्रेसका संस्थापक नेता महामानव वी.पी. कोइरालाले संवोधन गर्ने कार्यक्रम थियो । सोही प्राकृतिक चिकित्सालयमा आवासीय रुपमा बसेर उपचाररत धर्मकलासहित तीनजना गान्धी कलेजतर्फ लागे । शाहना प्रधान, शैलजा आचार्य, चक्र बास्तोला, प्रदीप गिरी लगायतका नेताहरु पनि त्यहाँ थिए । त्यहाँका मुख्य मन्त्रीले भाषणकै क्रममा भने–‘नेपालको महान नेता आउँदै हुनुहुन्छ । नेपालका जनता भोकभोकै छन् । तर राजाको राज्याभिषेकमा त्यति धेरै खर्च हुन्छ । अनि कसरी मुलुक समृद्ध हुन्छ’–धर्मकलाले २०२८ सालमा राजा विरेन्द्रको राज्याभिषेकको प्रसङ्गमा भारत गोरखपुरका मुख्यमन्त्रीले गरेको भाषण सम्झदै भनिन्–‘त्यसपछि वी.पीको भाषण सुन्यौ, विदेशतिरको राजनीति र पार्टीको सांगठनिक कुरा बढी गर्नुभयो । बचेर काम गर्नु भन्नुभयो ।’
‘भाषण सुन्दासुन्दै साँझ परिसकेको थियो । तर वी.पी.को मन्तब्य नसकी त्यहाँबाट हिड्न मन थिएन । सात बजेपछि चिकित्सालयको गेट लाग्थ्यो । तर खै के आँटले हो, हामी बसिरह्यौं’–उनले सम्झिइन्–‘भाषण सकेर फर्कदा लगभग साढे ८ बजिसकेको थियो । पाले गेटमै उभिएको रहेछ । ‘तुम कहाँ गइ हो बेटी’ भनेर सोध्यो । म सँधै भित्रबाहिर गर्ने क्रममा प्रणाम जी भनिरहन्थे । त्यसदिन त्यहि प्रणाम काम लाग्यो । धन्न ती पालेले हामीलाइ नै रुँगेर बसेका रहेछन् । अबदेखि यति ढिलो कहिल्यै नगर्नु भनेर सम्झाउँदै गेट खोलिदिए ।’
‘साँझ पर्दै गएपछि तपाइ को ? कहाँबाट आउनुभएको भनेर सोध्नेदेखि निकै डर लाग्यो भनिदिए–‘म सशिकला’– उनले भनिन्–‘तपाइ लेखक हो ?’ मैले भने –‘ म अर्कै सशिकला हुँ । त्यसबेला निकै डराएकी उनले सत्य भन्दा आफू असुरक्षित हुन सक्ने डरले ढाँटिदिएको बताइन् ।
प्रवासमा बसेर नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि रोजगारी, अध्यापनका सिलशिलामा भारतमा रहेका नेपालीलाई संगठित गरिरहेका थिए– वी.पी । विभिन्न राजनीतिक मुद्धा, मामिला खडा गरिएपछि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय अरु राजनीतिक ब्यक्तित्वहरु पनि नेपालमा बहुदलीय प्रजातान्त्रिक आन्दोलनको माहौल सिर्जना गरिरहेकै थिए । वी.पी.लाई देशद्रोह सहितका आधादर्जन बढी मुद्धाहरु लगाइएका थिए । स्वदेश फर्कदा तत्कालीन शासकहरुले जतिबेलै गोली ठोक्न वा फाँसीको सजाय दिने जोखिम थियो । तर ती सबैको प्रर्वाह नगरी २०३३ सालमा मेलमिलापको नीति लिएर वी.पी. स्वदेश फर्किएपछि २०३६ सालमा एकदलीय तानाशाही ब्यवस्था वा बहुदलीय प्रजातान्त्रिक ब्यवस्था ? भन्ने जनमत बुझ्न जनमत संग्रहको घोषणा गरियो । सत्तासीन राजतन्त्र एकदलीय तानाशाही ब्यवस्थाका पक्षधर थिए भने नेपाली कांग्रेस बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाका पक्षमा थियो । नेपाली कांग्रेसले बहुदलीय ब्यवस्था र प्रजातान्त्रिक समाजवादबारे प्रचार–प्रसार गर्न देशभर नै प्रचार–प्रसार समिति गठन ग¥यो । नेपाली कांग्रेस झापाले गठन गरेको प्रचार–प्रसार समिति संयोजकमा अप्सरा खड्का थिइन् भने सहसंयोजक धर्मकला प्रसाई थिइन् । त्यस्तै यज्ञकुमारी सिटौला, देवकुमारी बुढाथोकी, विनिता बुढाथोकी, उमा पोखरेल लगायत थिए समितिमा । त्यस समय उनीहरु गाउँगाउँमा हिडेरै पुग्थे । राजनीतिक भाषण गर्थे, बहुदलीय प्रजातन्त्रमा मात्रै कांग्रेसले लिएको रणनीति बमोजिम प्रजातान्त्रिक समाजवाद सुरक्षित हुने बताउँदै बहुदलीय प्रजातन्त्रका पक्षमा मतदान गर्न जनतालाई आह्वान गर्थे । तर पञ्च सरकारका कार्यकर्ताले जहाँ भेट्यो त्यहीं आक्रमण र अनेकौं हत्कण्ठा गरिरहन्थे ।
‘त्यसबेला हामी
पञ्च तिम्रो हाँकै राम्रो
पञ्च तिम्रो धाकै राम्रो
गरीवको गला घोट्ने
एउटै तिम्रो बानी नराम्रो’
भन्ने गीत खुब गाउँथ्यौं’–उनले सम्झिइन्–‘यो गीत नगाइएका सभा समारोह प्राय हुँदैनथे ।’ त्यसैसमय चुनावअघिको सभालाई सम्बोधन गर्नका लागि लगभग १७÷१८ जनाको टोली बैगुनधुरातिर लागे । एकैदिन विर्ताबजारमा र वैगुनधुरामा सभा थियो । पूर्णानन्द शर्मा, डिल्लीप्रसाद सिटौला, देवी खड्का, यज्ञकुमारी सिटौला, लक्ष्मी काफ्ले, धर्मकला प्रसाई, लगायत १८ जनाको टोली वैगुनधुरातर्फ लागे भने सि.के. प्रसाईलगायतका नेताहरु विर्ताबजारको कार्यक्रमलाई संंवोधन गर्न बसे । ‘त्यसबेला मेरो बुवा पनि विर्ताबजारको सभामा आउनुभएको थियो’–उनले भनिन्–‘प्रारम्भमा कम्युनिष्ट भए पनि पछि पछि कम्युनिष्टहरुको ज्यादती मन नपरेपछि बुवा कांग्रेसका सभा गोष्ठीहरुमा सहभागी बन्न थाल्नुभएको थियो ।’
‘विर्ताबजारको सभा पञ्चे कार्यकर्ताले विथोलेछन् । मेरो बुवा र भरतबाबु चना मुरै खान बस्नुमात्रै भएको थियो रे, थुप्रैलाई कुटेर हताहती बनाएछन्’–उनले भनिन्–‘हामी चाहिं वैगुनधुराबाट फर्किएर पाडाजुँगीमा आइपुगेका थियौं । गाडीको पत्ती भाँच्चियो । हामी गाडी सडकमै राखेर सडकदेखि केही तल्तिर फलैचामा थियौं । विर्ताबजारको सभा विथोलेर पञ्च कार्यकर्ता दमक हिडेका थिए शायद । हाम्रो गाडी बाटैमा देखेपछि कच्याककुचुक पारिहाले । झण्डा थियो सबै नष्ट पारे । पूर्णानन्द दाइ उँभोतिर लाग्नुभयो। मैलेचाहिं क्यासेट निकालेर साडीमा च्यापेछुँ, भरेमात्र थाहा पाएँ । पञ्च ग्रुपकै एकजना आएर के–के सोध्दै थियो । मैले डिल्ली दाइलाई दाइ तपाई नवोल्नुस् है भने । उहाँ बोल्नुभएन । पूर्णानन्द दाइ उँभोतिर लाग्नुभएको थियो भने लक्ष्मी काफ्ले (जो गीतमार्फत जनचेतना जगाउँथे, राम्रा गायक थिए ) लाई हामीले भगाइसकेका थियौं । हामी सबै चुपचाप बस्यौं । गाडी ध्वंस पारिसकेपछि हामीमाथि आक्रमण भयो । त्यहाँका कोही पनि स्थानीय बाहिर निस्किएनन् । भरे भरे पञ्च कार्यकर्ता आफ्नै बाटो लागे ।

त्यसबेला रातको एक बजिसकेको थियो । हामी भोकभोकै थियौं । त्यही राति हामी स्थानीय प्रेमदास उप्रेतीको घरमा गएर सुत्यौं । डिल्ली दाई, पूर्णानन्द दाई र ड्राइभर तल सुतेका थिए, हामी टाढें घरको माथीबाट थियौं । किनकिन निदाउनै सकिएन । हामी निदाएका बेला कोही पनि पञ्च आएर डिल्ली दाइ, पूर्णानन्द दाईलाई कुट्छन् कि ? भन्ने चिन्ताले सताइरह्यो । उहाँहरुलाई माथिबाटै बोलायौ र एकातिर उहाँहरु सुत्नुभयो । एकातिर हामी । तर उडुसले टोकेर सुत्नै सकिएन त्यो रात । विहान उठेर बाँसको डाँठ चुडेर दाँत माझ्दै गर्दा हामीलाई लिन पुग्नुभएछ । अनि त्यहाँबाट आयौं । सभामा कस्को गाडी लगिएको थियो । पार्टीमा पैसा थियो कि थिएन ? कहाँबाट पैसा आउँथयो वा आउँदैनथ्यो ? भन्ने विषयमा भने आफूलाई थाहा नभएको उनले बताइन् ।
सन्दर्भ २०३६ सालको निर्वाचन पूर्वकै थियो । त्यस समय कांग्रेसका अधिकांश कार्यक्रम कृषिथोक आसपास र सि.के. प्रसाईको घर परिषर देवी वस्तीमै हुन्थ्यो । विर्तामोड त्यति व्यस्त शहर बनेकै थिएन । एकाध घरहरु थिए भने सुनसान र प्रहरी प्रशासनको पहुँच कम थियो । सि.के. प्रसाईकै घर परिषरमा वी.पी. कोेइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह आउँदा बस्ने बेग्ला बेग्लै बाटिका बनाइएको थियो । वी.पी. बस्ने घरलाई वी.पी. वाटिका भनिन्थ्यो । अहिले वी.पी. वाटिकाको अस्तित्व लगभग नामेट छ भने सार्वजनिक पुस्तकालय निर्माणका लागि वी.पी.ले सोही बेला रामबाबु प्रसाईको जग्गा परिषरमा उद्घाटन गरेको छाताको अस्तित्व समेत लगभग समाप्तीको अवस्थामा छ भन्दा अत्युक्ति हुँदैन ।
‘जनमत संग्रहअघिको एक सभालाई संबोधन गर्न वी.पी. आउनुभएको थियो । भरत भुर्तेल नेविसंघ सभापति थिए । वी.पी. कार्यक्रम स्थलमा पुग्दैगर्दा म बोल्दै थिएँ । उहाँलाई देखेपछि म रोक्किएँ ।–सि.के. बाबु ‘टु वि. कन्टिन्यु’ भनिरहनुभएको थियो’– धर्मकलाले सम्झिइन्–‘ हामीले फूल दिएर विदा ग¥यौं । झापाली महिलाहरु कति एक्टिभ भनेर उहाँ (वी.पी.)ले प्रसंशा गर्नुभयो । त्यसैभेटमा उहाँले मलाई सोध्नुभयो–‘हाम्रो भेट गोरखपुरको गान्धी कलेजमा भएको हो ? मैले हो भन्नेवित्तिकै उहाँले भन्नुभयो– ‘तपाई तेस्रो लाइनमा सेतो साडीमा हुनुहुन्थ्यो होइन ?’ वी.पी.को स्मरणशक्ति देखेर म छक्क परे ।’ नेता हुनलाई धेरै क्षमतावान हुनुपर्छ भन्ने अनुभव आफूलाई भएको पनि उनले बताइन् ।
२०३६ सालमा बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको पक्षमा बहुमत नआएपछि जनमत स्वीकार गर्दै कांग्रेसले प्रजातान्त्रिक आन्दोलनलाई निरन्तर जारी राख्यो ।
त्यसपछि २०४२ सालमा भएको सत्याग्रह आन्दोलनलाई महत्वपूर्ण रुपमा लिइन्छ–नेपालको राजनीतिक इतिहासमा । त्यसबेला नेपाली कांग्रेस घैलाडुब्बा गाउँ पञ्चायतका सभापति थिए राम गिरी । कांग्रेसका जिल्ला सदस्यहरु तुर्सा हेमरम, टिका प्रसाई, अमृतबहादुर आङ्देम्बे (चार सरकार), मोहन राई (आममाफीपछि सन्ठीले बारेर घर बनाएकाले उनलाई सन्ठीघरे भनिन्थ्यो) लगायतको एक टोली काठमाडौं गयो । सत्याग्रहमा सहभागी हुने कार्यकर्ताको नाम टिपाउन कांग्रेसका देशभरका ७ सय बढी कार्यकर्ता डा. सशांक कोइरालाको घरमा भेला भएका थिए । त्यसबेला पार्टीका महामन्त्री गिरिजाप्रसाद कोइराला डा. सशांककैमा बस्नुहुन्थ्यो । वी.पी. को २०३९ सालमै निधन भइसकेको थियो । पार्टी सभापति कृष्णप्रसाद भट्टराई पनि त्यहिं आउनुभएको थियो । त्यसबेला बझाङका अर्जुनबहादुर सिंहलाई पक्रने निहुँमा प्रहरी चावहिल पुग्यो । सिंहसहित झापालीहरु पनि पक्राउ परे भने कतिपय कार्यकर्ता पछाडिको गेटबाट भागे ।
धर्मकलासहितका १०/१२ जना कार्यकर्ता विर्तामोडमा सत्याग्रहमा बसेकै बेला प्रहरीले पक्राउ गरेर शनिश्चरे प्रहरी चौकी पु¥यायो । जिम्मेवारी लिने मान्छे भए छाडिदिने प्रहरीले जनाएपछि उनीहरु जिम्मेवारी लिइदिने मान्छेको खोजी गर्दै थिए । धर्मकलाले उक्त प्रसङ्ग सम्झदै भनिन्–‘मैले जोशी सरलाई देखे । सर भनेर म कराएँ । सर डराउँदै डराउँदै भित्र पस्नुभयो । जिम्मेवारी लिएर हामीलाई निकालिदिनुप¥यो सर । सर हुँदैन भनेर कति छिटो भाग्नुभयो । पछि वहुदल आएपछि उहाँ पार्टीमा प्रवेश गर्नुभयो ।’ रत्नवहादुर कार्की आएर जिम्मेवारी लिएपछि एकरात चौकीमा राखेर भोलीपल्ट छाडिए उनीहरु । देशका विभिन्न स्थानमा सत्याग्रहमा बसेका कार्यकर्ताहरु पक्राऊ पर्ने क्रम तीब्र भयो । काठमाडौंमा पक्राऊ परेका कार्यकर्तालाई झापा नै पठायो प्रहरीले । उनीहरुले सिग्रेटका खोलमा ‘हामीलाई धेरै दिन हिरासत वा जेलमा राख्न सक्छ, कपडा पठाइदिनु’ लेखेर घरमा सन्देश पठाएको बताइन्छ । कार्यकर्ताहरु पक्राऊ गर्ने क्रम बढेपछि कांग्रेसले सत्याग्रह आन्दोलन फिर्ता लियो । त्यसपछि क्रमशः कार्यकर्ताहरु छाडिन थाले । झापा र काठमाडौंमा पक्राऊ परेका कार्यकर्ताहरु पनि लगभग डेढ/दुई महिनापछि जेलमुक्त भए ।
२०४६ सालमा कांग्रेस र कम्युनिष्टले एकीकृत रुपमा एकदलीय तानाशाहका विरुद्ध आन्दोलन गरे । केन्द्रमा कांग्रेसका गणेशमान सिंहले आन्दोलनको नेतृत्व गर्नुभएको थियो भने झापामा नेपाली कांग्रेसका तत्कालीन सभापति हुुनुहुन्थ्यो– रामबाबु प्रसाई । तत्कालीन उपसभापति कृष्णप्रसाद सिटौला नेपाली काग्रेसका तर्फबाट एक्सन समिति संयोजक हुनुहुन्थ्यो भने कम्युनिष्टबाट द्रोणाचार्य क्षेत्री संयोजक हुनुहुन्थ्यो । यसैगरी झापाको दक्षिणी भेगबाट आन्दोलनको नेतृत्व कांग्रेसबाट टिका प्रसाई र कम्युनिष्टबाट बेदराज रेग्मीले गरेको धर्मकलाले बताइन् । आन्दोलनकै क्रममा २०४६ साल फागुन ९ गते देशभरका मुख्य मुख्य चोकबजारमा कांग्रेसको झण्डा गाड्ने कार्यक्रम तय गरिएको थियो । सोही बमोजिम भक्ति सिटौला (जो अहिले राप्रपा नेपालका केन्द्रीय सदस्य छन्) ले विर्तामोडमा कांग्रेसको झण्डा गाड्ने कार्यको नेतृत्व गरे भने झापाका दक्षिणी टाँगनडुब्बा, गोल्धाप, शरणामतीलगायतका १० वटा गाउँ पञ्चायत(२०४६ सालको परिवर्तनपछि मात्रै गा.वि.स.मा परिणत भएको थियो)– का मुख्य मुख्य स्थानमा फहराउन ५ सय झण्डा बनाइएको थियो ।
‘घैलाडुब्बामा श्याम गोश्वामी, टिका माझी, शान्ति गणेश, दयानन्द गोश्वामी, टीका प्रसाई, मानबहादुर कार्की लगायतको टोली झण्डा गाड्न निस्कियो । कांग्रेस कार्यकर्ताको ठूलो मास थियो । प्रहरीले झण्डा गाड्न नदिएपछि झडप भयो । मासले प्रहरीलाइ खेद्न खोज्यो’–धर्मकलाले सम्झिइन्–‘त्यसदिन कांग्रेस र कम्युनिष्ट गरी १७ जना कार्यकर्तालाई प्रहरीले पक्राऊ गर्यो र त्यहींको साँगुरो कोठामा कोचेर राख्यो ।’
तिनै जेल परेकामध्ये एक थिए टिका प्रसाई (जो धर्मकलाका भतिजा पनि हुन्) सम्झन्छन्–‘साँगुरो कोठा, दुईतिर टाउकोे पारेर खुट्टा एकका माथि अर्कोले राख्नुपथ्र्यो । मेषमा जे पाक्यो त्यहि खानुपर्ने । मानसिक र शारीरिक रुपमा अत्यन्तै यातना दियो प्रहरीले । त्यसको केहीदिन पछि (पार्टी नीति बमोजिम नै भनिन्थ्यो तर हामीलाई थाहा भएन), केही कम्युनिष्ट नेताहरु ब्ल्यांक कागजमा सही गरेर निस्किए ।’
जेलमा परेकाहरुलाई लास हुने गरी कुटेको हल्ला चल्यो त्यो बेला । ब्ल्यांक पेपरमा सही गर्न नमान्ने कांग्रेस तथा कम्युनिष्ट नेताहरु हिरासतमै थिए । त्यसबेला झापामा डि.एस.पी. मदन थापाको नेतृत्वमा प्रहरी संगठन सक्रिय थियो । उनै डि.एस.पी. घैलाडुब्बा पुगेपछि हिरासतमा रहेका कार्यकर्तालाई अत्याधिक यातना दिएको जानकारहरु बताउँछन् । उक्त प्रसंग धर्मकलाले सम्झिइन्– टिकालाई मा¥यो भन्ने हल्ला फिजियो, बृहस्पति उप्रेतीलाई थानाका वरिपरी घिस्याउँदै कुट्दै गरेको हल्ला पनि बाहिर आयो । त्यसलगत्तै कांग्रेस÷कम्युनिष्ट कार्यकर्ताको संयुक्त जनसागर उर्लियो । उर्लदो जनसागरलाई नियन्त्रण गर्न नसक्ने देखेपछि २८ राउण्ड हवाइ फायर गरेको प्रहरीले अन्ततः तत्कालीन प्रधानपञ्च कृष्णप्रसाद कटुवाल र लक्ष्मी प्रसाइलाई जमानत राखेर पक्राऊ परेका सबैलाई छाड्यो । त्यसबेला टिकाको अवस्था अत्यन्तै नाजुक थियो।’ छाडिएकामध्ये टीका प्रसाईलाई एरिया एरेस्ट (दक्षिणमा लकडीगद्दी, पश्चिममा विरिङ, उत्तरमा गा.वि.स. परिसर बाहिर जान नपाउने गरी) गरिएको थियो भने टिका, श्याम, शान्ति, लगायतलाई राजकाज मुद्दा लगाइएपछि उनीहरु निर्वासित भई भारतस्थित सूर्यप्रसाद गणेशकी छोरीको घर तुलसी टप्पुमा आश्रय लिएर बसेको कुरा पछि उनीहरु फर्किएपछि थाहा भएको प्रसाईले बताइन् ।
प्रजातान्त्रिक आन्दोलनको पक्षमा हिडेका कांग्रेस कम्युनिष्ट कार्यकर्तालाई निशाना बनाएर दुःख दिने क्रम जारी नै थियो । २०४६ साल चैत २२ तिर हुनुपर्छ । तिथिमिति एकीन नभएपनि झापाको घैलाडुब्बामा संविधान जलाउने कार्यक्रम तय गरिएको थियो । ‘म आफैं गाउँ“–गाउँ र विद्यालय विद्यालय पुगेर विद्यार्थी पठाइदिन आग्रह गरेकी थिएँ ।’–धर्मकलाले भनिन्–‘नारा अगाडि नै दिइएको थियो । हामीले संकेत गरेपछि विद्यार्थी सडकमा निस्किए । सेतो कपडामा संविधानको किताव हालेर सत्गत गर्न जाँदै थियौं । मानव सागर उर्लिएको थियो । प्रहरीले होचो गरेर गोली हान्न शुरु ग¥यो । म निकै आत्तिएँ । आफैं गएर बोलाएको छ, यी केटाकेटीलाई केही भयो भने मेरै टाउकोमा आइलाग्छ भन्ने लाग्यो । मैले तुरुन्तै प्रहरी प्रमुखलाई भने– बच्चामाथि किन गोली हान्नुहुन्छ ? यी सबैलाई मैले बोलाएको, जे गर्नुहुन्छ, मलाई गर्नुस् । प्रहरीको बन्दुक राम गिरीतर्फ सोझियो । म गएर राम गिरीलाई च्याप्प समाएँ र भने मलाई गोली हान्नुस् । प्रहरी पछाडि स¥यो । बाटाभरी ढुङ्गा थुपारिएको थियो । प्रहरी पछि सर्ने वित्तिकै त्यो मासले प्रहरीमाथि ढुङ्गा बर्सायो । प्रहरीले नियन्त्रण त के ढुङ्गा हेर्न नै भ्याएन ।’
धर्मकला प्रसाई, राम गिरी, दुर्गा उप्रेती, राजु उप्रेती, जय उप्रेती, प्रेमनारायण प्रसाई लगायतको नेतृत्वमा निस्किएको उक्त आन्दोलनका क्रममा लीला नेपालको खुट्टामा गोली लागेको र अग्रपंक्तिमा रहेका कतिपय कार्यकर्ता पक्राऊ परेका थिए । ‘हामीलाई यहीं राख्नुभयो भने यो जमात कन्ट्रोल गर्न सक्नुहुन्छ ? छाडिदिनुस् भने मैले’–धर्मकलाले सुनाइन्–‘त्यसपछि प्रहरीले छाडिदियो । जेल हेर्ने रहर थियो त्यो चाहिं पाइएन ।’ चैत २३ गते झापाको भद्रपुरस्थित मेची क्याम्पसमा ठूलो प्रदर्शन भयो । सोही प्रदर्शनका क्रममा राम थापा मारिए भने थुप्रै हताहती भए । सोही घटनामा नेपाली कांग्रेस सुरुङ्गाका तत्कालीन सभापति रमेश दाहाल, सचिव भिष्म मैनाली, नेपाली कांग्रेस भद्रपुर नगर समितिका वर्तमान सभापति मोहन महर्जन लगायतका कांग्रेसका युवाहरु खुनसरी भएर नक्सलबाडी पुगेपछि प्रवासमा रहेका कांग्रेस कार्यकर्ताले उक्त घटना थाहा पाएको बताइन्छ । उक्त घटनापछि २४ गते विहानैबाट शाही घोषणा हुने हल्ला देशभर फिजियो, पक्राऊ परेका कांग्रेस÷कम्युनिष्ट कार्यकर्ताहरु अलेलि गर्दै छाडिन थाले भने आन्दोलन केही मत्थर हुँदै गयो । नभन्दै २०४६ साल चैत २६ मा शाही घोषणामार्फत बहुदलीय प्रजातान्त्रिक शासन ब्यवस्थाको प्रारम्भ भएको धर्मकलाले बताइन् । सो घोषणा तत्कालीन राजा श्री ५ विरेन्द्र शाहले गरेका थिए ।
२०४६ सालमै उनीमाथि प्रहरी प्रशासनको वारेन्ट जारी भएको थियो । कतिदिन त उनले लुकी लुकी राजनीति गरिन् भने कहिले माइत र कहिले घर गर्दै समय कटाइन् । तत्कालीन एस.एस.पी. भीष्मराज प्रसाई नातेदार भएका कारण सुरक्षा निकायले अत्यधिक दुःख चाहिं नदिएको हुनसक्ने उनको अनुमान छ ।
आन्दोलनका कतिपय घटनाको ठ्याक्कै तिथिमिति र सहकर्मीहरु सबैको नाम सम्झन नसकेको बताएकी धर्मकलाले कतिपय प्रसङ्ग सम्झदा आँखाभरी आँशु टप्काइन् भने तत्कालै सम्हालिदै कतिपय प्रसङ्गमा आत्मबलपूर्ण अभिब्यक्ति दिइरहिन् । २०५० सालदेखि भने पार्टीलाई कम र परिवारलाई बढी समय दिएको बताएकी उनले भनिन्–‘२०४७ सालमा पार्टीको अधिवेशन हुँदा जिल्ला सदस्य बन्ने सारै मन थियो । टिका पनि उठेको थियो । एकै घरबाट दुईजना सदस्य भन्ने प्रश्न उठ्यो । मलाई मनोनित गर्ने भनेर बसाए । जीतबहादुर पुरीसहितका नेताहरुले बस्नु, मनोनित गरेर जिल्ला सदस्य बनाउने भन्नुभयो । म पछाडि हटें तर पछि मनोनित गरिएन । जति दुःख गरेपनि पदजति पुरुषलाई नै पुग्दोरहेनछ जस्तै लाग्यो मनमा । दुःख पनि लाग्यो ।’
२०४८ सालको निर्वाचनमा सक्रियतापूर्वक पार्टी कार्यक्रममा खटेकी उनलाई चक्रप्रसाद बास्तोलाले जितेपछि कांग्रेस कार्यकर्ताले लगाएको नाराले चाहिं मनमा चिसो पस्यो रे । भनिन्– जितको उमङ्ग थियो, सुन्नेवाला कोही थिएन, कार्यकर्ताहरु अश्लिल नारा लगाउन थाले, मैले भने यस्तो नारा नलगाऔं, संयमित बनौं, तर सुन्नेवाला कोही थिएन । मनभित्र चिसो पस्यो । ओहो कार्यकर्ताले यस्तै उद्दण्डता देखाए भने पार्टीले कन्ट्रोल गरेर सही दिशामा हिडाउन सक्छ के ?’
‘श्रीमान निकै विरामी हुनुभयो । लाग्यो श्रीमतीले सबैभन्दा बढी इमान्दार श्रीमानसँगै हुनुपर्छ’– अगाडिकै प्रसंङ्ग सम्झदै उनले भनिन्–‘डिल्ली दाइले पनि मलाई उपचारमा लाग्न सुझाव दिनुभयो । श्रीमानको सबैसँग राम्रो सम्बन्ध भएका कारण प्रमुख जिल्ला अधिकारीलाई चिठ्ठी लेखेपश्चात प्रजिअले पनि –‘उपचारमा जानु तर काहीं पक्राऊ परेमा तत्काल मलाई खबर गर्नु’ भनेर चिठ्ठी पठाएपछि आफूले श्रीमानलाई उपचारका लागि लिएर दिल्ली गएको उनले बताइन् ।
घर, परिवार नभनी लगभग तीनदशकसम्म प्रजातान्त्रिक आन्दोलनमा विताएकी उनले अहिलेको राजनीतिक परिवर्तनप्रति सन्तुष्ट हुनुहुन्छ ? भन्ने हाम्रो प्रश्न सुन्नेवित्तिकै गला अवरुद्ध पारिन् । आँखाबाट गाला हुँदै आँशुका ढिका चुहिए । अवरुद्ध गलामा भनिन्–‘झापाबाट आफ्नो जन्मस्थान आठराई जाँदा झत्ता, झुम्रा धेरै ठाउँ टालेका लुगा लगाएका, नाकभरी सिगान बोकेका, खोसेलाका गुन्द्रीमा सुत्ने, जो राति पहिला विउँझियो, उसैले धुनि (आगो) बालेर तातो महसुस गर्ने, ओइलाएका अनुहारमा परिवर्तन आउला, उनीहरुले जुक्ता, मोजा र राम्रा ड्रेस लगाएर स्कुल जान पाउलान् भन्ने कल्पना गरेकी थिएँ । अहिले देख्दा लाग्छ–त्यो निरर्थक रहेछ ।’ नीति परिवर्तन भएपनि जनताको जीवनस्तरमा परिवर्तन आउन नसक्दा प्राप्त उपलब्धी ब्यवहारमा नदेखिएको र नेतृत्व जनताको जीवनस्तर उकास्नेतर्फ जिम्मेवार नभएको उनको भनाई छ ।
‘हाम्रो राजनीतिलाई पुँजीवादले गाँज्यो, नेतामा सादगीपन आएन। वी.पी.को सिद्धान्त बमोजिम भएन । नेताहरुमा देशप्रेम छैन, विलासी भए, सरलता, सरसता, नम्रता र सहिष्णुता भन्ने गुण नै छैन’–उनले भनिन्–‘नेताहरु नसाको वसमा छन् । नसाको वसमा भएको ब्यक्तिले के गर्छ भनेर आश गर्नु ? फेरि आफ्नै छोरी–वुहारी र नातेदारलाई मात्रै पदमा पु¥याउने कस्तो राजनीति हो ?’
उनले वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरुप्रति जनमानसमा उठेको वितृष्णाले पराकाष्ठा नाघेको उल्लेख गर्दै भनिन्–‘नाताले के.पी. ओली मेरा काका हुन् । छोरा छोरी छैनन्, उनलाई किन चाहियो सम्पत्ति ? अहिले हामी बोल्नु पर्दैन, सँगसँगै आन्दोलन गरेका कम्युनिष्ट नेताहरु आफै भन्नुहुन्छ–‘बरु कांग्रेसको पालामा यति धेरै भ्रष्टाचार भएको थिएन, कांग्रेसी बरु धनीको पार्टी रहेछ । हाम्रा नेताले भोकाएको स्यालजस्तो ब्यवहार देखाए ।’
आफ्नो घरमा अन्न भए पनि नभए पनि गाग्रामा चारमाना चामल हालेर पाहुनाका लागि साँच्ने, विहान वेलुका दीप जलाउने, मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव र अतिथि देवो भवको हिन्दु वैदिक संस्कारमा हुर्किएका नेपाली र यिनीहरुकै बाहुल्य रहेको नेपाललाई धर्म निरपेक्ष घोषणा गर्दै राष्ट्रप्रमुखहरुले नै खुल्ला रुपमा क्रिश्चियानिटीलाई प्रवेश दिनु अत्यन्तै गलत भएको टिप्पणी गर्दै धर्मकलाले भनिन्–‘ कांग्रेसका नेताहरु वी.पी.को समाजवादी नीति अनुरुप सादगी र अनुशासित बन्नुपर्छ । म एक्लै भए पनि कांग्रेस भएरै बस्छु । कम्युनिष्ट नेताहरुमा सत्बुद्धि पलाओस् । क्रिश्चियानिटीको खुल्ला प्रवेश रोकियोस्, हिन्दु वैदिक संस्कार मान्ने हामीहरुका लागि क्रिश्चियानिटीको प्रवेश अशुभ हुन्छ ।
उनले नेपाली कांग्रेसका सच्चा कार्यकर्तामा म्याउँ, म्याउँ गरेर नेताको अघिपछि कुद्ने प्रवृत्ति नभएको बताउँदै प्रजातान्त्रिक आन्दोलनमा सक्रियलाइ विना भेदभाव अवसर दिन र तथ्याङ्क राख्न जिल्ला नेतृत्वलाई पनि सुझाव दिइन् । उनले पटक पटक दोहो¥याइन्–‘नेतामा सादगी जीवनशैली, सरलता, नम्रता, सहिष्णुता र अनुशासन चाहिन्छ। एउटा गीत नै छ नि हामी आन्दोलनताका बारम्बार गाउँथ्यौं–
मुटुभित्र लेखिराख नेपालको छवी ।
देशभक्ति आउनेछ मुटुदेखि उम्ली ।।’ यो भावना नेतृत्वमा देखिनुपर्ने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार धर्मकलाले आँशु झार्दै भनिन्–‘चाहेको परिवर्तन ब्यवहारमा देखिएन’

Most Popular

यसपालीको दशैं टिकाको उत्तम साइत बिहान १०ः१९ बजे

झापा । दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा...

महानवमीको विशेष पूजा आराधनाका साथ मनाईंदै

झापा । आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व आज दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणका कारण यो...

देशबासीका नाममा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको (पूर्णपाठ)

सम्माननीय प्रधानमन्त्रीले बडा दशैंको उपलक्ष्यमा देशवासीका नाममा गर्नुभएको सम्बोधनआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा...

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभाको संसदीय...

Recent Comments