Home समाचार बन्दाबन्दीको फाइदा करेसावारी निर्माण

बन्दाबन्दीको फाइदा करेसावारी निर्माण

भद्रपुर २१ बैशाख । कोरोना भाइरसको संक्रमण जोखिम नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि अधिकांस मानिस काम विहिन भए ।
विभिन्न पेशा–व्यवसाय गरेर व्यस्त रहने अधिकांसको जीवन शैली फुर्सदका कारण अल्छी र आलस्यमा बितिरहेको छ । तर, कतिपयले समय बिताउन घर छेउछाऊको जमिनको टुक्रालाई साथी बनाएर नयाँ अनुभव समेत बटुल्ने मौका पाएका छन् । कोरोना लकडाउनका कारण कहिल्यै खेती बालीमा ध्यान नदिनेहरू पनि करेसाबारीलाई साथी बनाउन थालेका छन् ।
फुर्सदिलो समयको सदुपयोग हुने अनि दैनिक आवश्यक पर्ने तरकारी पनि उत्पादन हुने भएकाले अहिले अधिकांस मानिस करेसाबारीमा ब्यस्त देखिन थालेका हुन् ।

झापा भद्रपुर–७ का मिनकुमार अधिकारीले लकडाउनको समयमा विभिन्न प्रकारको सागसब्जी लगाएको सुनाउँछन् । ‘अरु काम केही छैन, बाहिर निस्कन मिल्दैन’, उनले भने, ‘घरमा बसेर अनावश्यक समय बिताउनु भन्दा केही सागसब्जी लगाउन थालेको छु ।’ उनले बारीमा फर्सी, साग, भिण्डी, धनियालगायत सागसब्जी लगाएका छन् ।
सञ्चारकर्मीका साथै प्रविधि सम्बन्धी प्राविधिक समेत रहेका भद्रपुर–७ का बिगम श्रेष्ठ पनि करेसाबारीमै व्यस्त छन् । ‘अरु बेला कामले केही गर्न भ्याइँदैन, अहिले फुर्सद छ’, उनले थपे, ‘जसले लकडाउनको पनि पालना हुन्छ, समयको सदुपयोग पनि । त्यसैकारण करेसाबारीमा पस्ने फुर्सद निस्कदैन थियो तर, बन्दाबन्दीले तरकारी उत्पादनको सीप पनि विकास गराइ दिएको उनको भनाइ छ ।
केही दिन अगाडि झापा क्षेत्र नं–१ का सांसद राम कार्की (पार्थ) ले पनि करेसाबारी स्याहार्दै गरेको तस्वीर सार्वजनिक गरेका थिए । करेसाबारीमा गोडमेल गर्दै गरेको फोटो पोस्ट गर्दै कोरोना भाइरसबाट बच्न घरमै बसेर लकडाउनको पालना गर्न र सामाजिक दूरी कायम गर्न उनले सन्देश समेत प्रवाह गरेका थिए ।
भद्रपुर–१० का पत्रकार डिल्लीरमण नेपाल समाचार लेखनसँगै लकडाउनको समयमा करेसाबारीलाई थप व्यवस्थित बनाएको बताउँछन् । उनका अनुसार, ‘अहिले करेसाबारीकै तरकारीले भान्सा चलेको छ, बाहिरको तरकारी किन्नु परेको छैन । बजार धाउनु पर्ने बाध्यता पनि छैन अनि बिषादी विहिन उत्पादनले स्वास्थ्य समेत राम्रो हुँदैछ ।’


करेसाबारीमा उत्पादन गरिएको तरकारी विषादीरहित हुने भएकाले स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । गाउँघरमा धेरै मानिस सक्रिय भएर खेतीपातीमा लागेका छन् । बारी हुनेले बारीमा तरकारी जन्य उत्पादन गरिरहेका छन् भने खेतबारी नहुनेले घरका छतमा समेत तरकारी लगाएर समय कटाइ रहेका छन् ।
धेरै मानिसले करेसाबारीमा विभिन्न प्रकारका सागसब्जी लगाउनु सकारात्मक कुरा हो । यसखाले प्रयासले घरमै चाहिने सागसब्जी आफैँ उत्पादन गर्न सकिने र पैसाको बचतसँगै शारीरिक व्यायाम पनि हुने गर्दछ ।
मानिसमा सचेतना बढेसँगै स्थानीयस्तरमा उत्पादित तरकारीको खपत बढेको छ । भारतबाट आयात गरिएका तरकारी बिषदीयुक्त हुने हुँदा उपभोक्ताले कम रुचाउने अवस्था आउने कृषि विज्ञहरू बताउँछन् । अहिलेको सिजन अनुसार भिन्डी, फर्सी र लौकालगायत तरकारी लगाउन उपयुक्त हुने हुँदा यस्ता तरकारीजन्य उत्पादनमा आकर्षक बनाउन व्यापारीहरूले अखाद्य रङ मिलाउँने हुँदा आफैंले उत्पादन गरेका तरकारीमा बिष र अखाद्य रङ मिसिने संभावना हुँदैन ।
अहिले धेरै मानिस करेसाबारी बनाउन लागेका छन् । यसलाई बन्दाबन्दीको एउटा सकारात्मक पाटोका रूपमा लिन सकिन्छ । सङ्कट जति बेला पनि आउन सक्छ । आफूलाई चाहिने सागसब्जी आफैँ उत्पादन गर्नुपर्ने रहेछ भन्ने चेतना अधिकाम्स मानिसमा पलाउँदै गएको छ । यो एउटा सकारात्मक पक्ष हो । स्वाभीमान र आत्मनिर्भरताका लागि यस वर्षको बन्दाबन्दी गुरू भएर उभिएको अनुभव सवै मानिसले गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार बन्दाबन्दीको फाइदा करेसावारी निर्माण

Most Popular

Recent Comments