Home समाचार समाचार विर्तामोड नगरतर्फ एक दृष्टि लगाउँदा

विर्तामोड नगरतर्फ एक दृष्टि लगाउँदा

इन्द्रप्रसाद कट्वाल
अवस्थिति –
नेपाल अधिराज्यका ७ प्रदेश, १४ अञ्चल र ७७ जिल्ला मध्ये प्रदेश नं.–१ मेची अञ्चलमा पर्ने झापा जिल्ला पूर्वी सीमान्त जिल्ला हो । यसै जिल्लाको पूर्वोत्तर भागमा महेन्द्रराज मार्गका उत्तर र दक्षिणी भागमा अवस्थित विर्तामोड नगरपालिका झापाको मात्र नभएर प्रदेश नं.–१ को तथा पूर्वाञ्चलकै प्रमुख व्यापारिक केन्द्र मानिन्छ । यसको पूर्वमा मेचीनगरपालिका, पश्चिममा कनकाई , उत्तरमा अर्जुनधारा नगरपालिका र दक्षिणमा हल्दिीबारी गाउँपालिका, भद्रपुर नगरपालिका र बाह्रदशी गाउँपालिका पर्दछन् ।
पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलाम जोड्ने मेची राजमार्गको मुख तथा विश्राम र सम्पर्क स्थल यही विर्तामोड नगरपालिका हो । यस नगरपालिकाको बजार क्षेत्र दिनानु दिन विस्तार भइरहेको छ । पूर्वी पहाडी जिल्लाहरुमा मेची अञ्चलका ताप्लेजुङ, पाँचथर र इलामबाट यहीसम्म झर्दा वा काठमाडौं जान र आउन गाडी चढ्ने र ओर्लने सम्पर्क क्षेत्रका रुपमा रहेको यस विर्तामोड नगरपालिकालाई कुन रुपमा हेर्न सकिन्छ ? त्यसको संक्षिप्त आँकलन गर्ने प्रयास यहाँ गरिएको छ ।
नेपाल अधिराज्य भित्रका प्रमुख सहरहरुमा कतिपय सहरको नाम सबैलाई थाहा नहुन सक्छ तर ‘विर्तामोड’ को नाम नसुन्ने मानिस विरलै पाइन्छन् । भारतको सिक्किम, पश्चिम बंगालको दार्जिलिङ तथा सिलीगढी जस्ता ठाउँहरुबाट नेपाल पस्दा बास बस्ने तथा जानलाई यात्रा तय गर्ने स्थानका रुपमा विकसित यो नगर औद्योगिक सहरका रुपमा विकसित हुन नसकेको भएपनि व्यापारिक केन्द्रका रुपमा बहु–चर्चित र विकसित नगर मानिन्छ । हेरौं यस भित्रका केही सकारात्मक पक्ष र निकारात्मक पक्षहरुका केही पाटाहरु :

  • पहाडी जिल्लाहरुबाट शिक्षा र स्वास्थ्यको अधिकतम सुविधाका दृष्टिले बसाईँ सरी आउने स्थानको प्रमुख आकर्षण केन्द्र हो विर्तामोड नगरपालिका । यहाँ प्रायः धनकुटा, भोजपुर, खोटाङ, चैनपुर र तेह्रथुमदेखि ताप्लेजुङ, पाँचथर र इलाम देखि आएर बस्ने मानिसहरु पाइन्छ । स्वास्थ्यका निमित्त यहाँ वि.एण्ड.सी., बिर्तासिटी, कनकाई, कञ्चनजंघा र मनमोहन मेमोरियल जस्ता निजी क्षेत्रका हस्पिटलहरु पाइन्छन् भने पूर्णतया सरकारी स्वामित्वका हस्पिटलहरु ग्रामिण र नगर इलाकास्तर उपचार केन्द्र बाहेक अन्य कुनै देखिंदैन । यहाँ सञ्चालित स्कूल, कलेज तथा हस्पिटलहरु प्रायः निजी स्वामित्वमा सञ्चालित भएका हुँदा महंगा र नियम कानूनको परिधि भन्दा पनि पहुँचको परिधिमा चलेको सेवाग्राहीहरु बताउँछन् । हस्पिटलहरु भित्र पहुँचवाला, धनीमानी र राम्रो अनुहार भएकाहरुको राम्ररी उपचार हुने र सर्वसाधारणका लागि उपचारको औपचारिकता मात्र पुर्याएर पैसामात्र असुल्ने नियतले सञ्चालित भएको देखिन पाइएको छ । धभर्खरै कनकाई हस्पिटलमा घटेको घटना यसको प्रत्यक्ष उदाहरण हो । समग्रमा यहाँका हस्पिटलहरुको सेवा जनमुखी नभएर धनमुखीमा आधारित भएको देख्न पाइन्छ । त्यसैले यसतर्फ सरकारी नियन्त्रण र क्षेत्र निर्धारण हुन जरुरी देखिन्छ ।
  • उहाका शिक्षण केन्द्रहरुमा बाहिरबाट आएर डेरा गरी बस्ने छात्रछात्रा धेरै भएका र प्रायः किशोर किशोरी हुनाले उनीहरुमा कडा अनुशासनको अभावमा व्यभिचार र विकृति बढेको देख्न पाइन्छ । बढ्दो संख्याको यस्तो गतिविधिलाई नियन्त्रण गर्न विद्यालय कलेज र तिनका अभिभावकको ध्यान जान नितान्त जरुरी देखिएको छ ।
  • यातायातको सन्दर्भमा यस क्षेत्रमा भएका बाटा–घाटा अत्यन्त साँघुरा र अव्यवस्थित भएको हुँदा अत्याधिक रुपमा दुर्घटना हुन पुगेको पाइन्छ । यहाँका सवारी चालकहरु हेपाहा, मिचाहा, र निर्दयीपन रहेको प्रष्टै देख्न पाइन्छ । अर्थात यहाँका सवारी चालकहरुले ट्राफिक नियमको पूरै वेवास्ता गरेको पाइन्छ । यसतर्फ ट्राफिक नियमलाई कडाइका साथ व्यवस्थापन र लागू गर्न जरुरी देखिन्छ । प्रमुख टोलका बाटाहरुको स्थिति पनि दयनयि देखिन्छ ।
  • बसोबास र बजारीकरण यस नगरपालिकाको अर्को लथालिङ्ग भएको पाटो हो । यहाँ अप्रत्यक्ष भूमि व्यापारीकरण भएको छ । धनी व्यापारीहरुले जतासुकै प्लटिङ गरी घडेरी बेच्ने गर्नाले खेतीयोग्य जग्गा बाँझो रहन पुगेका छन् भने सर्व–साधारण किसानले स्वाभाविक मूल्यमा जग्गा किन्न नसक्ने भएका छन् ।
    जग्गा किनबेचका नाउँमा वास्तविक किसानहरु दलालका दलदलमा फसेका छन् । यसबाट मुक्ति दिलाउन बजारीकरण र भवन निर्माण सम्बन्धी निश्चित मापदण्ड अपनाउन जरुरी देखिन्छ । नत्र भने यसले यहाँको पर्यावरणीय पक्षलाई समेत असर पुर्याउने देखिन्छ ।
  • विर्तामोड नगरपालिका भित्र पर्याप्त होटलहरु भएको र यी होटलहरुमा यौन विकृतिको कारोबार बढेको हुँदा बजारको मानवीय प्रदुषणका रुपमा यसलाई लिन सकिन्छ । होटल भित्र सञ्चालित यस्ता गतिविधिले नगरीय प्रगति त होइन प्रत्यक्ष अधोगति हो भन्ने पाटो उजागर गर्दछ ।
  • बजारभित्र देखिएको अत्यन्त अमानवीय, असुरक्षित र त्रासदी पाटो यस सहरमा हुने गरेको चोरी हो । यहाँ दिउँदै घर फोरेर चोरी हुने र साइकल, मोटरसाइकल चोरी भइरहेका छन् । यसका लागि प्रहरी प्रशासन उदासीन भएर बस्न मिल्दैन ।
    समग्रमा नगरलाई ‘नगरी’मा परिणत गर्न त यहाँका शिक्षा, स्वास्थ्य, यातायात, बजार व्यवस्थामा आकर्षक व्यवस्थापन गर्न जरुरी हुन्छ । जसरी प्रकृतिमा सौन्दर्यता पाइन्छ त्यसैगरी नगरलाई नगरीका रुपमा विकसित गर्न प्रथमत स्वस्थ चिन्तन र सुधारात्मक एवं सकारात्मक सोचको आवश्यकता हुन्छ । तबमात्र विर्तामोड नगरलाई विर्तामोड नगरी बनाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार विर्तामोड नगरतर्फ एक दृष्टि लगाउँदा

Most Popular

Recent Comments