Home समाचार भोको पेट भर्ने बाध्यताले बगान

भोको पेट भर्ने बाध्यताले बगान

न सरकारले हेर्यो न मालिकले

झापा ९ बैशाख । नेपाल सहित विश्वमा कोरोना भाइरसको संक्रमण जोखिम फैलिरहेका बेला झापासहित पूर्वका चिया मजदुर भने जोखिम मोलेर काम गर्न बाध्य छन् । भोको पेट बस्नु भन्दा जोखिम मोलेर काम गर्न आएको उनीहरुले बताउँछन् ।
काम नगरौं चुल्हो बल्दैन, गरौं हामीलाई भोली कोरोना लाग्यो भने त्यसको जिम्मा कसले लिन्छ ? कोरोनाबारे त्रास बोकेर काममा आएकी सावित्रा बन्जरा पौडेलको प्रश्न हो यो । विर्तामोडस्थित गिरी बन्धु टि स्टेटकी स्थायी मजदुरका रुपमा रहेकी पौडेलले भनिन्–‘एक ठाउँबाट आउँदैनौं, कोही कहाँबाट आउँछौं, कोही कहाँबाट आउँछौं यस्तो महामारीमा असर हुन्छ कि भन्ने डर त हुन्छ ।’ सुरक्षित रहन्छौं भन्ने के विश्वास छ ।’
विर्तामोडस्थित गिरी बन्धु टि स्टेटमा काम गर्दै आएकी सावित्रा बन्जरा राहत पनि काँहीबाट नपाएको र काम नगरी बगान मालिकले पनि पैसा नदिएपछि जोखिम मोलेरै काममा आउनु परेको बताउँछिन् । उनी भन्छिन्–‘राहतका लागि वडा कार्यालय नगरपालिका पनि पुग्यौं, तर काँहीबाट पाएनौं, न त सरकारले दियो न त कम्पनीले नै, यस्तो अवस्थाले काम गर्न आएका छौं ।’ लकडाउनका कारण बगान मालिकलाई घाटा भएको मजदुरले बुझेको भएपनि भोली पनि काम लाग्ने मजदुरलाई मालिकले पनि संकटमा नहेरेको बताउँदै भनिन्–‘‘काम नगरी ज्याला नपाउने भएपछि मन डराइ डराइ काममा आउनु पर्ने बाध्यता छ ।’ विश्वमा कोभिडबाट मृत्यु भइरहेको बुझिरहेपनि खानका लागि जोखिम मोल्नु परेको छ ।’ पैसा पाउनका लागि कामै गर्ने पर्ने भएपछि भोकै बस्नु भन्दा मनमा डर बोकेर भएपनि काममा आएका हौं ।’


चिया बगानमै काम गरेर परिवार धान्दै आएकी कोइरालाले मजदुरलाई संकट पर्दा कसैले नहेरेको बताइन् । सरकारले काम नगरेपनि चैत महिनाको पैसा पाउनु पर्छ भने पनि नपाएको बताउँदै उनले भनिन्–‘अरुले सरकारबाट राहत पाए हामीले अहिलेसम्म केही पाएको छैन, उद्योगको पनि घाटा छ, बुझेका छौं, तर पनि मजदुरलाई हेर्नुपर्ने हो, हेरेका छैनन् धेरै गारो भएको थ्यो ।’ संकट पर्दा मजदुरलाई सरकारले बगान मालिकले दुवैले नहेरेको बताउँदै भनिन्–‘सरकारले चैत महिनाको पैसा काटिदैन् भन्छ, बगान मालिक पैसै छैन कहाँबाट दिनु भन्छ ।’
खानै समस्या भएपछि जे सुकै भएपनि काममा आउनु पर्यो । काम नगरी ज्याला पाइदैन ।’ कोरोना होस् कि जे सुकै होस् खान त पर्यो’–कोइरालाले भनिन् । आइतवारदेखि यो सिजनको काम थालेका उनीहरुले दुइ दिन टपिङको काम गरेभने मंगलबारदेखि पत्ती टिपाइ शुरु भएको छ ।
संकट पर्दा मजदुरलाई कसैले नहेरेको अर्की चिया मजदुर श्यामकुमारी याख्याको गुनासो छ । अर्जुनधारा–११ बाट दैनिक बगानको काममा आउने याख्खाले भोको पेट बस्न नसकेका पछि लकडाउनमा पनि काममा आउनु परेको बताइन् । बगानको क्वार्टर भन्दा छुट्टै बस्तीमा बसेकी याख्खाले स्थानीय तह, बगान मालिक , सांसद कसैले पनि मजदुरका विषयमा गम्भिर नबनेको बताउँदै भनिन्–‘भोट त चाहिएको र छ नी, भोट सकिएपछि नेतालाई मजदुर किन चाहिंदो र छ र ।’ अर्जुनधारा–११ का वडाध्यक्ष, नगरपालिकाका प्रमुख, सांसदलाई मजदुर जिताएको दावी गर्दै भनिन्–‘यो महामारीमा मात्र होइन, अघिल्लो साल ४५ दिन बगान बन्द हुँदा पनि न सांसद बोले, न नगरपालिका र वडाले नै केही भन्यो, केही गर्यो ।’ भोट दिन पाउनु आफ्नो अधिकार भएपनि जिताएपछि नेताहरु मालिक हुने गरेको बताउँदै थपिन्–‘भोट दिने हामी त उनीहरुको हली हो ? हाम्रो हली उनीहरु हुनुपर्ने होइन् ? अब भोट त माग्न् आओस् न् ।’ रोगको पीडा भन्दा भोकको पीडाले पोलेपछि लकडाउन भएपनि काम गर्नुपरेको उनले बताइन् ।

प्रधानमन्त्रीले मजदुर भोकले मर्दैनन् भनेको सुनेकी सुकमती देवान समाचार हेर्दा र सुन्दा ठिक उल्टो देखिएको बताइन् । समाचार सुन्दा र टेलिभिजन हेर्दा भोकले रोइराखेका हुन्छन्–उनले भनिन्–‘बुझ्नै नसकिने संसार पो भयो अहिले त !
आफ्नो पारिश्रमिकबाट सामाजिक सुरक्षा कोषमा पैसा काटिएको पैसा संकटका बेला पाउनुपर्ने तर्क गर्दै भनिन्–‘त्यो पैसा त हामीले पाउनु पर्यो नी संकटमा पाइदैन भने किन काट्नु ?’ सामाजिक सुरक्षाकोषमा श्रमिकको पैसा काटेपनि बगान सूचीकृत नहुँदा आफूहरु उक्त रकम पाउनबाट पनि बञ्चित रहेको उनले बताइन् ।
यतिबेला पूर्वका अधिकतम चिया बगानका श्रमिकहरु पेट पाल्नकै लागि कोरोना संक्रमण जोखिम न्यूनिकरणका लागि लगाइएको लकडाउन पर्वाह नगरी काममा लागेका छन् । उनीहरुले भने जस्तै भोली बगानभित्र कुनै किसिमको रोग फैलियो भने त्यसको जिम्मेवार को भन्ने प्रश्न जटिल छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार भोको पेट भर्ने बाध्यताले बगान

Most Popular

Recent Comments