Home समाचार तरकारीको मूल्य अनुगमन: १ सय देखि ३०० प्रतिशतसम्म मूल्य बृद्धि

तरकारीको मूल्य अनुगमन: १ सय देखि ३०० प्रतिशतसम्म मूल्य बृद्धि

विर्तामोड १ बैशाख । लकडाउन बढ्दै जाँदा हरियो तरकारीको मूल्य आकासिएको गुनासो आउन थालेपछि उपभोक्त हित संरक्षण मञ्च र विर्तामोडका संचारमाध्यमको सहकार्यमा विर्तामोडमा बजार अनुगमन गरिएको छ ।
कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनको समय लम्बिएसंगै दैनिक ज्याला मजदुरी गरिखाने वर्गको दैनिक कष्टकर बन्दै जाँदा हरियो तरकारीको आकासिंदो मूल्यले उपभोक्ताको भान्साको अझ महंगीको मारमा परेको छ ।
राहत थापेर खाने मजदुरका लागि तरकारीको मूल्य आहत थपिएको व्यापक गुनासो आउन थालेपनि उपभोक्ता हित संरक्षण मञ्चले हरियो तरकारीको होलसेल र खुद्रा बजार भाऊबारे अनुगमन गरेको संरक्षण मञ्चका अध्यक्ष ओम सेढाईले बताउनु भयो ।

अनुगमन समितिले बजार अनुगमनका क्रममा प्राप्त
गरेको मूल्य सूची

विर्तामोड नगरपालिका अन्तरगत वडा नं.–१, ४, ५ र ६ नम्बरमा रहेका होलसेल तथा खुद्रा पसलको अनुगमन गर्दा होलसेल पसलबाट खुद्रामा पुग्दा हरियो तरकारीको मूल्यमा १ सयदेखि ३ सय प्रतिशतसम्म मूल्य बृद्धि भएको पाइएको उहाँले बताउनु भयो ।
अनुगमनका क्रममा होलसेलमा समान नविकेर विग्रने अवस्थामा पुगेको तर, उपभोक्ताले महंगो मूल्यमा पनि सामान नपाएको अवस्था पाइएको बताउँदै सेढाईले भन्नुभयो–‘खुद्रामा महंगो छ, होलसेलमा स्टकमा छ, विग्रेर जाने अवस्थासम्म पुगेको पनि पाइयो ।’
होलसेलदेखि रिटेल हुँदै उपभोक्तासम्म पुग्दा तरकारीको मूल्य बृद्धिले सिमा नाघेको पाइएको अनुगमनमा सहभागी कञ्चनजंघा एफएमका कार्यक्रम प्रस्तोता तथा उपभोक्ता हित संरक्षण मञ्चका भिमा शिवाकोटीले बताउनु भयो । अनुगमनका क्रममा मूल्यमा काँही एकरुपता नपाइएको शिवाकोटीले जानकारी दिनुभयो ।
बजारमा खुद्रा विक्रेताले चरम मूल्य बृद्धि गरेको अनुगमनका क्रममा पाइएको अनुगमनमा सहभागीले जनाएका छन् । हरियो तरकारीको बजार मूल्य अनुगमनमा मञ्चका नगरसचिव राजु गौतम, याम विमली लगायतको सहभागीता रहेको थियो । अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च विर्तामोड, कञ्चनजंघा एफएम र सूर्योदय टेलिभिजनका प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ । तरकारीको मूल्य आकासिएको सम्बन्धमा आइतबार जनआन्दोलन डटकमले उपभोक्ताको भनाई समेटेर समाचार प्रकाशन गरेको थियो ।

महामारीको समयमा वस्तुको अभाव हो वा कृत्रिम मूल्य बृद्धि हो भन्ने कुराका वास्ताविकता बुझ्ने तथा गुणस्तर, मूल्य र परिणाममा कोही पनि ठगिनु हुन्न भन्ने कुरालाई ध्यानमा राखेर गरिएको अनुगमनको प्रतिवेदन तयार पारेर नियन्त्रणका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने अध्यक्ष सेढाईले बताउनु भयो ।
अनुगमनमात्र गरेर केही नहुने कुरामा आफू जानकार रहेको बताउँदै उहाँले भन्नुभयो–‘प्रतिवेदन बुझाएर कार्यान्वयनका लागि पहल गर्छौं, अनि कार्यान्वयन भयो या भएन भन्ने कुराको पनि अनुगमन गर्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार तरकारीको मूल्य अनुगमन: १ सय देखि ३०० प्रतिशतसम्म मूल्य बृद्धि

Most Popular

Recent Comments