कोरोना भाइरस संक्रमणबाट संयुक्त राज्य अमेरिकामा एकैदिन २,१०८ जनाले ज्यान गुमाएका छन् ।
लगभग तीन महिना अघिदेखि संक्रमण देखिएको यो भाइरसबाट एकदिन यति ठूलो मानवीय हताहती भएको यो पहिलो घटना हो ।
मानिसहरुको शव राख्न चिस्यान प्रविधि (रेफ्रिजेरेटर) जडान गरिएका ट्रेलरहरुलाई न्युयोर्कका सडकमा राखिएको छ । पछिल्लो २४ घन्टाभित्र भेटिएका समेत गरी अमेरिकामा संक्रमित हुनेहरुको संख्या पाँच लाख नाघेको जोन्स हाप्किन्स विश्वविद्यालयले जनाएको छ ।
भाइरसका कारण दिनदिनै ज्यान गुमाइरहेका भएपनि ह्वाइट हाउसका अधिकारीहरुले नियन्त्रणमा आइरहेको तर्क गरेका छन् । डा. डेब्रोह ब्रिक्सले महामारी नियन्त्रणमा राम्रो संकेत देखिएको र अझै हताहतीको उच्च विन्दुमा अमेरिका नपुगेको बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अमेरिकामा कोरोनाका कारण कम्तिमा एक लाख मानिसहरुको ज्यान जाने उल्लेख गरेका थिए ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार १७७ पुगेको छ भने संक्रमित मध्ये १८ हजार ७ सय ६१ जनाले ज्यान गुमाउँदा २७ हजार ३ सय १४ जना निको भएको तथ्याङ्क छ ।
अमेरिकामा कोरोनाबाट एकै दिन २१ सय बढीको ज्यान गयो
