Home समाचार रासायनिक मलमा लकडाउनको असर खेप्दै किसान

रासायनिक मलमा लकडाउनको असर खेप्दै किसान

आठसय ५० को मललाई १२ सय

रेजिना गौतम
बुद्धशान्ति २६ चैत । ‘बल्ल बल्ल ल्याइयो । मान्छेको भिडभाड छ, पाइदैन, एकै छिनमा सक्किहाल्छ ।’ बुद्धशान्ति–३ चर्चाबारीका कृषक प्रेमप्रसाद रिजालले वर्खेधानमा मल हाल्नका लागि भोग्नुपरेको पीडा हो यो ।

मुलुक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम कम गर्न गत चैत ११ गतेदेखि लकडाउनको अवस्थामा छ । शहर बजारतिर लकडाउनले दैनिकी धान्ने समस्या भइरहँदा गाउँघरमा किसानलाई बर्षदिन धान्ने अन्न बाली उत्पादनका लागि लगाइने रासायनिक मल नपाएको चिन्ता छ । खुल्ला र सहजै मल पाइएला भनेर आशा गर्दागर्दै लकडाउन लम्बियो । एकसाताका लागि गरिएको लकडाउन कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेसंगै पुनः दुइ साता लम्बियो । लकडाउनको खुल्ने भन्दा थपिदै गएपछि किसानलाइ मलको चिन्ताले पिरोल्यो ।
रिजालले भने–‘लकडाउन हाम्रै लागि हो , तर किसानका समस्यालाई पनि त हेर्न प¥यो नी । किसानले अहिले उत्पादन नगरे पछि के खानु ? ’ किसानका समस्या राज्य र जननिर्वाचित तीनै तहका सरकारले नहेरेको गुनासो गर्दै उनले थपे–‘किसानलाई राज्यले हेरेकै छैन, जननिर्वाचित अधिकारीलाई भन्दा सुन्दैनन्, एकले अर्काको थाप्लामा हाल्छन्, अध्यक्षलाई भन्यो वडाध्यक्षलाई भन्नुपर्छ भन्छन्, वडाध्यक्षलाई भन्यो प्रमुखलाई, उपप्रमुखलाई भन्यो म त उपप्रमुख मात्रै भन्छन्–अनि कसले सुन्छ हाम्रा समस्या ?’ किसानको समस्या सम्बोधनका लागि साझा खोल्न दिनुपर्ने उनको भनाइ छ ।
वर्षौदेखि समयमा मल, बिऊ अभाव खेपिरहेका किसानहरु खेतिमा गरेको मेहनतको श्रम नउठ्ने बताउँछन् । तै पनि भएको खेति बाँझो राखेर फेरि के गर्ने भन्ने समस्या पनि छ । रिजालले भने–‘रोपाहार, तीनपटकसम्मको जोताइ, मल, बिऊ, पटाहा हिसाब गर्दा केही हुँदैन, कर ढाड भाँच्चिने गरी तिर्नुपर्छ, कर तिरे अनुसार खै हामीले सुविधा पाएको ?’
बुद्धशान्तिकै राम तिम्सिनाले पनि लकडाउनका कारण मल महंगो परेको बताए । कृषि सामग्री संस्थानमा प्रति केजी १७ रुपैया पर्ने मललाई आफूले २७ रुपैयाँमा ल्याएको बताउँदै उनले भने–‘मल नपाएर विजोक, लकडाउनले गर्दा ल्याउन समस्या भएको भन्छन्, कहाँबाट ल्यायौं, किन महंगो भन्न नै थालेनौं, सोध्दा नदेला भन्ने डर लाग्यो, दोकानेले जति भन्यो त्यत्ति हालेर ल्यायौं ।’

खेतमा रासायनिक मल हाल्ने बानी परेकोले मल नहाल्दा उत्पादन नै नहुने उनको भनाइ छ । रासायनिक मल हाल्ने बानी परेको छ’ तिम्सिनाले थपे–‘नहाल्दा फल्दै फल्दैन । ’ १३ कठ्ठा जमिनमा वर्षे धान लगाएका उनले किसानका मर्का विर्तामोडस्थित कृषि सामग्री संस्थान र राष्ट्रिय तहका हौं भन्ने संचारमाध्यमसम्म पु¥याएपनि केही नभएको उनको गुनासो छ । उनले भने–‘किसानका लागि कोरोनाभन्दा फसल राम्रो बनाउने ठूलो समस्या हो, भोली के हुन्छ के थाहा ? दैनिक खाद्यान्नदेखि घर व्यवहार धान्ने माध्यम नै यही हो ।’
धानभन्दा मकै बाली लगाउँदा किसानलाई बढी फाइदा हुने भएपनि जंगली हात्तीका कारण मकैबाली नलगाएकोे उनले बताए । ‘मकैले अलि फाइदा हुन्थ्यो’ उनले भने–‘तर गणेश जी आउनु हुन्छ, थन्क्याउन नै पाइदैन ।’
तिम्सिना र रिजालको जस्तै समस्या भोगीरहेका छन् भिष्मराज अधिकारी पनि । धानबाटै घर व्यवहार चलाउनु पर्ने बाध्यताका बाबजुद किसानलाई समयले पनि साथ नदिएको अनुभव गर्न थालेका छन् उनी । ‘अहिले दुःख गर्यो बेच्न लाँदा मूल्य पाइदैन, यसैले घर व्यवहार चलाउनुपर्ने बाध्यता छ । मूल्य पाइदैन’ किसानले उत्पादन गरेको अन्नको मूल्य नै नहुने बताउँदै अधिकारी भन्छन्–‘मूल्यै हुँदैन, वर्खाको समय हुन्छ, धान मिलमा पु¥याएपछि तौलिन नभ्याइ शितले भिजेको र’छ भने पनि फर्काउनु पर्छ, कहिले समयले साथ दिंदैन, कहिले मौसमले ।’
त्यसो त मलको मूल्यमा मनपरी भएकोप्रति पनि उनको आपत्ति छ । एउटै गाउँमा एउटै सामानमा मूल्यमा फरक रहेको बताउँदै उनले भने–‘दाममा किन हुन्छ मनपरी, एकरुपता हुनुपर्ने होइन ? खै राज्यले हेरेका ?’
जंगली हात्तीले बालीनालीमा बढी क्षति पु¥याउन थालेपछि किसानहरु कम क्षति हुने प्रकृतिको बाली लगाउँछन् । त्यही अनुसार बुद्धशान्ति–३ चर्चाबारीका किसानले मकैभन्दा धानबालीलाई नै रोजेका हुन् । तर समयमा मल विऊ नपाएका कारण वर्षेनी निराश हुने किसानहरुले यो वर्ष पनि त्यही नियती भोग्नु पर्यो । शान्तिनगरस्थित एक पसलमा आइतबार जाँदा मल छैन भन्ने जवाफ पाएका चर्चाबारी क्षेत्रका किसानले सोमबार जाँदा भने मल पाए । तर, यसअघि ५० केजीको प्रतिबोरा आठ सय रुपैयाँ पर्ने बोरालाई १२ सय रुपैयाँसम्म तिर्नुपरेपछि किसानको यस्तो गुनासो आएको हो ।
त्यतिमात्र होइन, लकडाउनका नाममा कालो बजारी गर्नेहरुको मारमा उनीहरु परेका छन् । यो बेला सुरक्षा निकाय र जनप्रतिनिधिहरु कोरोना संक्रमण जोखिम न्यूनिकरण व्यवस्थापन तथा राहत वितरणमा जुटिरहेका बेला केही व्यापारी–व्यवसायीले लागि भने देशलाई अप्ठ्यारो परेको बेला कमाउने मौकाका रुपमा उपयोग गरेको किसानको आरोप छ । यसलाई नियन्त्रण गर्न जरुरी छ ।
किसानलाई मल विक्री गर्दै आएको शान्तिनगरस्थित दुर्गा कृषि भण्डारका सञ्चालक धनमाया अधिकारीले ग्राहक कहिले आफ्नो नहुने बताउँदै भनिन्–‘नपाउञ्जेल कसरी पाउँ भन्ने भयो, घरैमा आएर विन्ती नै गरे, स्वार्थ पूरा भएपछि जे भन्दा पनि भयो ।’
आफूहरुको एकसालको मात्र ब्यापार नभएको बताउँदै उनले थपिन्–‘एक माघले मात्र जाडो जाँदैन, अर्को सालपनि माघ आउँछ, हामीले यो सालमात्र ब्यापार गरेको होइन ।
मलको मूल्य आफूहरुलाई नै महंगो परेकोले महंगोमा विक्री गर्नुपरेको उनको भनाई थियो । कृषि सामग्री संस्थानबाट फागुनमै लगेको मल १०५० मा विक्री गरेको तर, साल्ट ट्रेडिङबाट लगेको मल भने प्रतिबोरा १२ सयमा विक्री गरेको बताइन् –‘हामीलाई नै महंगो पर्यो, नाकाबन्दी लागेर महंगो गरेको होइन, उनले थपिन् बोरामा एकसय चाहिं राखेका छौं, एकसय बोरा मल ढुवानी गर्दा चारहजारदेखि ४५ सयसम्म तिरेकी छु, लोड अनलोड प्रतिबोरा १२ रुपैयाँ पर्छ ।’ ढुवानी र लोड अनलोडबाहेक प्रतिबोरा आफूलाई आठसय ५० परेको अधिकारीले बताइन् ।
यता अर्जुनधारा नगरपालिका–९ स्थित कालिका बहुद्देश्यीय सहकारी संस्थाले बुधबार ढुवानी गरेको मलले किसानको माग धान्नै नसक्ने देखिएपछि वितरण नगरी राखेको छ ।
‘यस्तो बेला छ, किसानहरु आएर दोकानमा छोपेपछि वितरण गर्न सकेनौं’–संस्थाका अध्यक्ष कर्णवहादुर तामाङले भने–‘विहीबार विहान वडाध्यक्षसहितको बैठक बसेर प्रहरीको सहयोग लिएर बाँड्छौं ।’ मानिसको चाप र लकडाउनको पूर्ण पालना अर्थात दुरी कायम राखेर उपभोक्ताहरु बस्न नमानेपछि मल वितरणमा कठिनाइ भएको हो । न्यून मात्रामा मल आएको तर ५ सय बढी उपभोक्ताहरु देखिएपछि आपूर्ति र मागको अनुपात नमिल्दा पनि वितरणमा समस्या भएको बताइएको छ । ‘भोली जति जति पुग्छ, सबैलाई भाग गरेरै बाँड्छौं’–तामाङले भने ।

कारवाही गर्ने प्रतिववद्धता

विर्तामोड । दुर्गा कृषि भण्डारले एकलट कृषि सामग्री संस्थान र अर्को पटक साल्ट ट्रेडिङबाट ल्याएर मल विक्री गरेको दावी गरिरहँदा साल्ट ट्रेडिङले भने उक्त संस्था आफ्नो डिलर नभएको जनाएको छ । कार्यालय प्रमुख देवराज भट्टराईले भने–‘दुर्गा कृषि भण्डार हाम्रो डिलर होइन, हामी त्यसरी दोकानलाई मल दिनै पाउँदैनौं । नेपाल सरकारको नीति नियम अनुसार कृषि सहकारीहरुलाई मात्र दिन पाइन्छ, त्यही अनुसार मल गएको छ ।

सोमबार दुर्गा कृषि भण्डारबाट किसानले ल्याएको साल्ट ट्रेडिङको लोगो अंकित मलको बोरा


यो सिजनको मल सोमबारदेखि नै वितरण गर्न थालिएको भट्टराईले बताए । कृषि सामग्री संस्थानबाट बुद्धशान्तिमा मल विक्रीका लागि प्रतिष्ठा कृषि सहकारी संस्था, नायक कृषि सहकारी संस्था, पून्यभूमि कृषि सहकारी संस्था, जयपुर कृषि सहकारी संस्था र कामधेनु कृषि सहकारी संस्थाले मात्र मल विक्रीको डिलर अनुमति लिएका छन् । प्रतिष्ठा कृषि सहकारीका संचालक देवी दुलालका अनुसार बुधबारेका किसानले आठसय ५० देखि नौसय रुपैयाँमा मल पाउछन् । ढुवानीको साधन अनुसार ठूलो ढुवानीको साधन भए आठसय ५० र सानो भए नौसय पर्ने उनको भनाइ छ ।
साल्ट ट्रेडिङबाट मलको डिलर लिनेले भने लोड अनलोड तथा ढुवानी भाडा बाहेक ५० केजी मलको प्रतिबोरा सातसय ३४ रुपैयाँमा प्राप्त गर्ने भट्टराईले जानकारी दिए ।
दुर्गा कृषि भण्डारका सञ्चालक धनमाया अधिकारीले कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ विर्तामोडबाट ल्याएर किसानलाई दिएको बताएपनि यी दुवै संस्थाले डिलर लिनेबाट बद्मासी भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । दुर्गा भण्डारले सोमबार प्रतिबोरा १२ सयको दरले साल्ट ट्रेडिङको लोगो अंकित मल विक्री गरेको थियो ।
आफ्नो डिलरले बद्मासी गरेको भए खोजी गरेर कारवाही गरेरै छाड्ने साल्ट ट्रेडिङका विर्तामोड प्रमुख भट्टराईले प्रतिवद्धता जनाए । ‘कामको चापले गर्दा अलि समय लाग्छ, यो हटेपछि भेरीफाई गरेर कारवाही गरेरै छाड्छु’–भट्टराईले भने ।
कार्यालयले स्पष्टिकरण सोधेर मात्र पुग्दैन, किसानलाई राहतको अनुभूति गराउनका लागि उनीहरुले तिरेको लागत मूल्यभन्दा बढी मूल्य फिर्ता गराउन सकेमात्र न्याय पाएको अनुभूति हुने किसानको तर्क छ । त्यसैले सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

‘सहकारी भन्दा अरुलाई दिंदैनौं’

विर्तामोड । कृषि सामग्री संस्थान विर्तामोडका प्रमुख चन्द्र चौंलागाईले पनि दुर्गा कृषि भण्डारले मल नलगेको बताएका छन् । कृषि सहकारीलाई मात्र संस्थानले मल दिने बताउँदै चौलागाईले भने–‘हामीले कृषि सहकारीहरुलाई मात्र दिन्छौं, अन्यलाई दिनै मिल्दैन, मलाई नै एक बोरा मल चाहियो भने डिलरबाटै मगाउनु पर्छ ।’ संस्थानको मल किसानको हातमा पुग्दा आठसय ५० भन्दा माथि नपर्ने बताउँदै चौंलागाँईले अगाडि भने–‘गाउँपालिकाले भाडा अनुमोदन गरेको हुनुपर्छ । डिलरले संस्थानबाट लोड अनलोडसहित ढुवानी बाहेक ५० केजीको प्रतिबोरा सातसय ५० रुपैयामा प्राप्त गर्छन् ।’ उनले थपे–बढी मूल्य लिएको भए कारवाही हुन्छ ।’
लकडाउनको मौका छोपेर मलमा कालोबजारी गरेको भए त्यस्तालाई कारवाहीका लागि स्थानीय प्रशासन पनि लाग्नु पर्ने उनको भनाइ छ ।
चौंलागाईँका अनुसार बुद्धशान्तिमा न्यू कञ्चन कृषि सहकारी, शान्तिनगर कृषि सहकारी, हितैषी कृषि सहकारी, होक्से कृषि सहकारी र पाँचविगे देवीवस्ती बहुउद्देश्यीय सहकारी संस्थाले कृषि सामग्री संस्थानको मल विक्रीका लागि सूचीकृत भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार रासायनिक मलमा लकडाउनको असर खेप्दै किसान

Most Popular

Recent Comments