Home समाचार समाचार क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय

क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय

विर्तामोड ७ चैत । नेपाली कांग्रेस झापाको आज (शुक्रबार) बसेको बैठकले १४ औं राष्ट्रिय महाधिवेशनका लागि यही चैत मसान्तभित्र क्रियाशील सदस्यता नविकरण गरिसक्ने र बैशाख २ गतेदेखि १५ गतेभित्रमा नयाँ क्रियाशिल सदस्यता वितरण गरिसक्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको अध्यक्षता र केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको बैठकले सदस्यता सम्बन्धी सम्पूर्ण काम २०७७ बैशाख १५ गतेभित्र सक्ने निर्णय गरेको हो ।
पार्टीलाई तिनुपर्ने लेवी र सदस्यता शुल्क यथाशीघ्र बुझाई आफ्नो सदस्यता नविकरण गर्न सबै क्रियाशील सदस्यहरुलाई आह्वान गर्दै बैठकले पार्टीका आधिकारिक उम्मेद्वारका विरुद्ध स्थानीय, प्रदेश र संसदीय चुनावमा बागी उम्मेद्वार बनेका र पार्टी छोडेर अन्यत्र गएकाहरुको नवीकरण नगर्ने निर्णय गरेको छ ।
चौधौं महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्न सहयोग पुर्याउने उद्देश्यले कांग्रेस झापा जिल्ला समितिले महाधिवेशनको कार्यतालिकालाई तदारुकताका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जस अन्तरगत चैत १० गते गाउँ÷नगर, प्रदेश, क्षेत्र र वडा सभापतिहरुसहितको वैठक बसी नविकरणको कार्य प्रारम्भ गर्ने र बैशाख २ गते पुनः अर्को बैठक बसी नयाँ क्रियाशिल सदस्यताको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल तामाङ संघ जिल्ला कार्य समितिलाई चैत १५ गतेभित्र भातृ संस्था विभागका प्रमुख देउकुमार थेवेको संयोजकत्वमा पूर्णता दिने पनि बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बैठकले केन्द्रीय समिति सदस्यमा मनोनित हुनुभएका सुधिरकुमार शिवाकोटी, गोपालकुमार बस्नेत, भारतेन्दुकुमार मल्लिकलाई बधाई ज्ञापन गरेको छ भने केन्द्रीय प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा र राज्य ब्यवस्था विभाग प्रमुखमा केशवकुमार बुढाथोकी मनोनित हुनुभएकोमा बधाई ज्ञापन गरेको छ ।
त्यसैगरी जेष्ठ राजनीतिज्ञ सभामा मनोनित हुनुभएका पूर्णानन्द शर्मा, डिल्लीप्रसाद सिटौला, परमेश न्यौपाने, केदार ढकाललाई बधाई ज्ञापन गरेको बैठकले फोरम लोकतान्त्रिक कांग्रेसमा समायोजन भएपछि केन्द्रीय समितिद्वारा जिल्ला उपसभापतिमा मनोनित देवी राजवंशी र मनोनित जिल्ला सदस्यहरुलाई पनि बधाई ज्ञापन गरेको छ ।
यसैबीच विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आम जनसमुदायमा सचेतना अभियान चलाउन पार्टीका सबै युनिटहरुलाई परिचालन गर्ने निर्णय गर्दै बैठकले सावधानी अपनाउन आम जनसमुदायमा अपिल गरेको छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवस आज सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न एक सभाका बीच कोइरालाप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको हो ।
नेपाली कांग्रेस झापाको बैठकका बीच कोइरालाको स्मृतिमा १ मिनेट मौनधारण गरिएको थियो भने पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा लिम्बूको १० औं दिनको पुण्य तिथिमा उहाँप्रति पनि श्रद्धाञ्जली ब्यक्त गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय

Most Popular

Recent Comments