सञ्चारकर्मीको व्यवसायिक यात्रा
रेजिना गौतम
झापा । संचारमाध्यम, व्यवसाय, विभिन्न सामाजिक संघ–संस्थाको पदीय जिम्मेवारी साथै पारिवारिक र सामाजिक दायित्व निर्वाहमा समयको ब्यवस्थापन निकै चुनौतिपूर्ण छ उनका लागि । आफूभित्रको आत्मविश्वास, इच्छाशक्ति, क्रियाशिलता र निरन्तर मेहनत उनको सफलताका कारक हुन् । परिश्रमी र मेहनती मान्छेको पहिचान एउटै क्षेत्रमा सिमित रहँदैन । जिम्मेवारी र सफलताले एउटै व्यक्तिको पहिचान फरक क्षेत्रमा फरक तरिकाले स्थापित हुनु स्वाभाविकै हो ।

खुल्ला व्यवसायिक प्रतिपर्धात्मक बजारमा छिरेर व्यवसायलाई अब्बल बनाउनु सामुहिक चुनौति त छ नै त्यसमा पनि महिलाले त अझ धेरै चुनौतिको सामना गर्नु महिलाहरुको बाध्यता नै हो । त्यहि प्रतिष्पर्धात्मक चुनौतिभित्र छिरेर आफ्नो व्यवसायलाई अब्बल बनाउन सफल भएकी छन् विर्तामोड–४ निवासी भिमा शिवाकोटी ।
संचार क्षेत्रमा १८ वर्षसम्मको अनुभव बटुलेकी शिवाकोटी विगत पाँच वर्षयता व्यवसायीका रुपमा स्थापित भएकी छन् । छिमेकीसंगको साझेदारीमा स्थापना गरेको कञ्चन पाउरोटीको व्यवसायिक जिम्मेवारी उनकै काँधमा छ ।
प्रतिष्पर्धात्मक बजारमा महिलाका लागि मार्केटिङ व्यवसाय अझ कठिन मानिन्छ । तर, त्यही कठिन व्यवसायभित्र छिरेर गर्वका साथ पाउरोटीको मार्केटिङ व्यवसायमा प्रतिष्पर्धा गर्ने उनी सम्भवतः एक्ली महिला मार्केटर हुन् । महिलाहरुले सजिलै गर्न सक्ने भन्दा पनि पुरुषले गर्ने काम पनि महिलाले गर्न सक्छन् भन्ने सन्देश बोकेर बजारमा छिरेकी उनी एकाविहानै पाउँरोटी, ब्रेड, केक लगायतका आफ्ना उत्पादन लिएर पसल÷पसलमा पुग्छिन् । पाउरोटी व्यवसायमा महिलाले मार्केटिङको काम गर्दाको अनुभव सुनाउँदै उनले भनिन्–‘हाम्रो समाज यहि हो, पितृसत्तात्मक सोच छँदैछ, त्यसमा पनि महिलाका लागि केही कटिलो त हुन्छ नै ।’ उनले पाउरोटी बेचेको देख्नेहरु कति त छक्क पर्छन् भने कतिले हेय भावले हेर्ने गरेको अनुभव उनीसँग छ । सिक्काका दुईपाटा भने झैं ऊर्जा भर्नेहरु पनि छन् ब्यावसायिक सफलताका लागि । त्यसो त कतिपयले सीप सिकाइ पनि माग्छन रे उनीसँग । ‘विश्वास नै नगर्ने, हिसाब सहि भएपनि चार पटकसम्म दोहो¥याउँछन्, पुरुषले भन्दा महिलाले अझ कम विश्वास गर्छन् ’– शिवाकोटी भन्छिन्–‘कतिले एफएममा बोल्ने तपाई नै हो भन्छन्, नर्मल्ली मान्छेहरु छक्क पर्छन्, कत्तिले पत्याउदै पत्याउँदैनन् ।’ त्यसो त धेरैलाई रेडियोमा बोल्नेले पनि पाउरोटी बेच्छन् भन्ने विश्वास नगर्नेहरुले आफूलाई भनेका कुरा स्मरण गर्दै उनले सुनाइन्–‘आमै रेडियोमा बोल्नेले पनि यस्तो काम गर्छन् र ?’
आत्मविश्वास, इच्छा शक्ति र कर्ममा विश्वास गर्नेका लागि ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने तथ्य सार्थक हुने उनको भनाई छ । –‘काममा महिला र पुरुष दुवैले चुनौति त व्यहोर्नै पर्छ, पुरुषले गर्ने काम पनि म गर्छु भनेर बाहिर निस्किने महिलाले पुरुषको भन्दा ७५ प्रतिशत बढी काम गर्छु भन्ने हिम्मत राखेर जानुपर्छ असम्भव केही छैन’– उनले आफ्नो आत्मविश्वास दोहो¥याइन् ।
आफ्नो व्यवसायिक सफलतामा सञ्चार जोडिंदा अझ सहज भएको आफूलाई अनुभूति भएको बताउँने उनी भन्छिन्–‘व्यवसायिक सफलतामा एफएम जोडिंदा अझ सहज भएको छ ।’ उनी कञ्चनजंघा एफ.एममा स्थापना (२०५९)देखि नै आबद्ध छन् । संचार क्षेत्रमा सामुदायिक कार्यक्रम उत्पादनदेखि रेडियो नाट्यकला, प्रहसन, व्यवसायिक रेडियोका लागि व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक संहाल्दै आएकी उनी निरन्तर कार्यरत छन् । रेडियोबाटै आफ्नो पहिचान स्थापित गर्न सफल उनी २०७० सालदेखि व्यवसायमा संलग्न भइन् । संचारका साथै अरु पनि केही गर्न सकिन्छ कि भन्ने सोंच, छोरीहरुलाई राम्रो शिक्षा र खाली बसेका छिमेकीका छोराको रोजगारी जस्ता कुराले आफूलाई व्यवसायतर्फ मोडेको उनको भनाइ छ ।
व्यवसाय सञ्चालनकै माध्यमबाट छोरीलाई डक्टर पढाउन सकेको बताउँदै शिवाकोटीले भनिन्–‘फ्याक्ट्री थिएन भने छोरीलाइ डाक्टर पढाउन सक्ने पनि थिइन होला, पढे पनि त्यति सहज हुने थिएन ।’ दैनिक खानको अभाव नभएपनि महिलाले पनि केही न केही गर्नुपर्छ भन्ने सोंचले आफूलाई उद्यमी बनाएको बताउँने उनले भनिन्–‘विहान बेलुका खानकै लागि त नगर्दा पनि हुन्थ्यो होला, केही न केही गर्नुपर्छ, खाली गफमात्र गरेर हुँदैन, पहिले आफूले गरेर देखाउनु पर्छ तबमात्र समाजका अरुलाई पनि प्रेरणा मिल्छ भन्ने लागेर पनि सुरु गरियो ।’ बच्चैदेखि पार्टी राजनीति सुनेर, देखेर, भोगेकी शिवाकोटीको राजनीतिक दलका अगुवालाई गफ गरेर होइन काम गरेर देखाउन सुझाव छ । ‘अगुवा हौं भन्नेले आफूले गरेर बाटो देखाउनुप¥यो अनिमात्र अरु पनि हिड्न थाल्छन् ।’

उनले ब्यवसाय शुरु गर्दाको प्रसङ्ग उठाउँदै भनिन्–‘दिनेश भाइका कान्छा भाइ पनि त्यत्तिकै हुनुहुन्थ्यो, आफूलाई पनि केही गरौं भन्ने लागिरहेकै थियो, त्यहीबीचमा विहान मर्निङवाक हिड्ने क्रममा हामी (भिमा शिवाकोटी, रोमणी भट्टराई र दिनेश अधिकारी) बीच १५ दिन जति छलफल भयो, त्यतिबेला सञ्चार क्षेत्रबाट पाएको पारिश्रमिकले घर चलाउन पनि अलि कठिन कठिन नै थियो ।’ ‘विकल्प खोज्दै जाँदा यसैमा पुग्यौं ।’ पाउरोटी उद्योग, उत्पादन, लागत र बजारका बारेमा अध्ययन गर्ने निर्णय गरेका उनीहरुले स्थानीय ठाउँमा भने अध्ययन गर्न नपाएको बताउँदै शिवाकोटीले भनिन्– ‘निर्णय अनुसार स्थानीय ठाउँमै अध्ययन गर्ने प्रयास गरेपनि त्यो सम्भव नभएपछि झापाबाहिर, उर्लाबारी, पथरी, इटहरी लगायतका ठाउँमा गएर अध्ययन ग¥यौै, कतिले हुन्छ भने कतिले राम्रै हुन्छ त कतिले हुँदैन पनि भने, अध्ययन गर्नै ६ महिना लाग्यो ।’
६ महिनाको अध्ययनपछि २५ लाखको लगानीमा शिवाकोटी र थिरादेवी अधिकारी (दिनेसकी आमा) दुईजनाका नाममा कञ्चनजंघा पाउरोटी उद्योग दर्ता गरेर काम शुरु गरेका उनीहरु आ–आफ्नो जिम्मेवारीमा अब्बल छन् । संचारमाध्यमको जिम्मेवारी साथै अन्य विविध पक्षबाट बाहिरी संसार बुझेकी शिवाकोटीका काँधमा उद्योग उत्पादन बजारमा पु¥याउने जिम्मेवारी प¥यो भने थीरादेवीले उद्योगभित्रको व्यवस्थापन हेर्न थालिन् ।

साझेदारीमा सुरु गरिएका व्यवसायहरु असफल भएका धेरै उदाहरणहरु छन् । तर हाम्रो उद्योग यो ठाउँकै लागि उदाहरण बनेको छ साझेदारी र जिम्मेवारी अनि त्यसको प्रभावबारे शिवाकोटीले भन्नुभयो–‘हामी त्यसमा रत्तिभर चुकेका छैनौं, टोलमै उदाहरण पनि भएको छ ।’ त्यसो त उद्योग दर्ताका विषयमा पुरुषका नाममा गर्ने कि भन्ने छलफल पनि नभएको होइन, तर, आफूले नै हाम्रै नाममा दर्ता गर्छौ भनेर अड्डी कसेको बताउँदै उनले भनिन्–‘ठिकै गरिएछ, महिलाले स्थापना गरेर सञ्चालन गरेका उद्योगलाई सरकारबाट केही सहुलियत हुँदोरहेछ ।’ प्रतिष्पर्धात्मक बजारमा आफू एक्लो हुँदा हिनताबोध हुँदैन भन्ने जिज्ञासामा शिवाकोटीले भनिन्–‘मज्जा लाग्छ, महिलाले गर्ने काम भन्दा मलाई त पुरुषले गर्ने काम गर्न मन लाग्छ, यो मेरो बच्चैदेखिको स्वभाव पनि हो, म सानो छँदा पनि धान रोप्ने भन्दा आली लगाउने, विऊ काढ्ने जस्ता काम गर्थे ।’
शिवाकोटी र अधिकारीले सञ्चालन गरेको कञ्चन पाउरोटी उद्योग स्थापनाको छोटो अवधीमै लगातार दुईपटक नेपाल सरकारबाट पुरस्कृत भइसकेको छ । उक्त उद्योगले केक, पाउरोटी, वन, ब्रेड, कोकिस, पप, कुकिज लगायतका सिजनअनुसार २० देखि २५ वटा परिकार बनाउँदै आएका छन् । २५ लाख लगानीमा शुरु गरिएको उनीहरुको उद्योगको लगानी छैटौं बर्ष पुग्दा ७५ लाख बढी बृद्धि भएको छ ।