Home महिला तेस्रो पुस्ताको भविष्य खोई ?

तेस्रो पुस्ताको भविष्य खोई ?

इन्दु पूर्वेली
पद, प्रतिष्ठा र पैसाका पछि नलागी निश्वार्थ प्रजातन्त्रका लागि लड्ने मानिसहरु थोरै मात्रै भेटिन्छन्–यो दुनियामा । संगठनभित्र आबद्ध नै नभई स्वतन्त्रतापूर्वक आजीवन प्रजातान्त्रिक आन्दोलनमा सक्रिय छन्–बुद्धशान्ति–३ निवासी, दिब्या प्रसाई । उमेरले ७७ को नेटो काट्दै गर्दा पनि उनी विभिन्न कार्यक्रमहरुमा अझै सहभागिता जनाउँदै आएकी छन् । लगभग १५ बर्ष हुँदादेखि अहिलेसम्म यो क्रम निरन्तर छ । बुवा कृष्णलाल र आमा मेनुका बास्तोलाकी सुपुत्रीका रुपमा जन्मिएकी दिब्यालाई पारिवारिक पृष्ठभूमिले नै राजनीतितिर हुत्यायो । ‘बुवा राजनीतिमा हिडेको त हामी थाहा पाउँदैनथ्यौं, तर प्रजातन्त्रका लागि संघर्ष गर्ने कांग्रेस वा कम्युनिष्ट जो आए पनि उहाँ आर्थिक सहयोग गर्नुहुन्थ्यो’– उनले भनिन्–‘प्रजातन्त्रप्रति बुवाको त्यही प्रभाव र प्रेरणाले हामी राजनीतितर्फ उत्प्रेरित र सक्रिय भयौं ।’
इलामको लक्ष्मीपुरमा रहेको बास्तोला परिवार प्रजातन्त्र प्राप्तिप्रतिको मोह र प्रजातन्त्रका लागि तत्कालीन अवस्थामा आन्दोलनमा सक्रिय नेपाली कांग्रेसको सैद्धान्तिक आधारको प्रभावले दिब्यासहित उनका दाजु–भाई, दिदी–बहिनी सम्पूर्ण परिवार नै जन्मसिद्ध कांग्रेसी भए । ‘त्यसबेला कांग्रेस भएर खुलेर हिंड्न सहज थिएन, कांग्रेस भन्नेवित्तिकै तत्कालीन पञ्चहरुले सारै दुःख दिन्थे’–उनले सम्झिइन्–‘अझ हामी त जन्मसिद्ध कांग्रेस, छोराछोरीले जागिर खाने अवस्था पनि थिएन, कांग्रेसको घर भनेपछि मानिसहरु कोही घरभित्र पस्दैनथे ।’ इलामको लक्ष्मीपुरमा जन्मिएका दिब्या र उनका भाइ चक्र बास्तोला सानै छँदा अध्ययनका लागि कालिम्पोङ (खर्साङ ) गए । ‘हामी जुम्ल्याहा जस्तै थियौं’–आफ्ना भाई स्व. चक्र बास्तोलालाई सम्झदै उनले भनिन्–‘मलाई कसैले केही भने ऊ झम्टिहाल्थ्यो, उसलाइ कसैले केही भने म झम्टीहाल्थें ।’ उमेरले लगभग डेढ बर्ष अन्तर रहेका उनीहरुको शिक्षा ग्रहण सँगसँगै चल्यो । पूर्वमन्त्री चक्र बास्तोलाको नाम लिदै गर्दा दिब्याका आँखा आशु टिलपिल थिए भने उनी तत्कालै संहालिएकी थिइन् ।


नेपाली राजनीतिका शिखर ब्यक्तित्व महामानव वी.पी. कोइरालाका विश्वासपात्रमध्येका एक थिए–चक्र बास्तोला । वी.पी.ले आफ्नो एक पुस्तकमै ‘चक्र कांग्रेसका लागि अपरिहार्य ब्यक्ति हुन्’ भनेर लेख्नु पनि भएको छ । २०१७ सालमा प्रजातन्त्रको अपहरण गरेर तत्कालीन राजा महेन्द्रले एकदलीय पञ्चायती ब्यवस्थाको घोषणा गरेपश्चात प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ब्यक्तित्वहरुलाई विभिन्न वहानामा दुःख दिन थालियो । तत्कालीन पञ्च सरकारले प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुको सर्वस्वहरण गरेर निर्वासनसम्मको सजाय दिदाखेरी भारतका विभिन्न स्थानमा सेल्टर बनाएर बसेका प्रजातन्त्रका हस्तीहरु भोकभोकै थिए । आर्थिक ब्यवस्थापनको विकल्प नभएरै हुनुपर्छ शायद २०३० सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा प्लेन अपहरण गरियो । प्लेन अपहरणको मुख्य उद्देश्य प्रजातान्त्रिक आन्दोलनका लागि आर्थिक स्रोत जुटाउनु थियो । त्यसबेला चक्र बास्तोला,बसन्त भट्टराई, नरेन्द्र ढुङ्गेल लगायतले प्लेन अपहरण गरे भने चक्र बास्तोलाले प्लेन अपहरणबाट प्राप्त रकम भारतका विभिन्न स्थानमा पु¥याए र सेल्टर सेल्टरमा बसेका कार्यकर्ताहरुलाई खानाको बन्दोवस्ती मिलाए । त्यसैबेला जग्गा किन्नका लागि आफ्ना बुवाले दिएको पैसा समेत चक्र बास्तोलाले दार्जिलिङ निवासी एल.पी. शर्मा खरेलकामा राख्न दिएका थिए रे । नेपाल राष्ट्र बैंकको बिराटनगरबाट काठमाडौँमा ल्याएको पैसा लुट्ने उद्देश्यले नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान त्यसवेला कांग्रेस कार्यकर्ताहरुले अपहरण गरेका थिए । सोही रकम राखिएको हुनसक्ने आशंकामा भारत प्रहरीले शर्मालाई पक्राऊ गरेर अररिया जेलसम्म पु¥याए पनि पुष्टी नभएपछि छाडिदिएको स्मरण उनले सुनाइन् ।
दिब्या र चक्रको राजनीति सँगसँगै चलेपनि खर्साङको अध्यापनपछि उच्च शिक्षाका लागि चक्र बास्तोला वनारसतर्फ लागे भने १४ बर्षकै उमेरमा दिब्या वैवाहिक बन्धनमा बाँधिइन्–झापा बुधबारे निवासी विरेन्द्र प्रसाईसँग । प्रसाई परिवार पनि जन्मसिद्ध कांग्रेस थियो भने सि.के (छत्रकेशरी) प्रसाई (भरतबाबु), खनुपरुदे (रामबाबु) लगायत कांग्रेसको राजनीतिमा अग्रस्थानमै थिए ।उनीहरु वी.पी.का नजिक पनि थिए । त्यसो त वी.पी. झापा आउँदा प्राय सि.के प्रसाइकैमा बस्थे त्यसवेला ।
त्यसो त पूर्वमन्त्री समेत रहेका चक्र बास्तोलाको वी.पी.सँगको सान्निध्यता वनारस बसाईसँगै बढ्यो भने पारिवारिक साइनो समेत जोडियो । उनले शैलजा आचार्यकी बहिनी मधु आचार्यसँग विवाह गरे, उनको निधनपछि चक्रको विवाह कुसुम सँग भयो । जन्मसिद्ध कांग्रेस, वी.पी.सँगको सान्निध्यता र प्रसाई परिवारको राजनीतिक प्रभावका कारण दिब्या र उनका परिवारमा कांग्रेसप्रति अमिट छाप छ–जो जन्मजन्मान्तर रहिरहनेछ । ‘त्यतिवेलाको राजनीति कहाँ अहिलेजस्तो थियो र !’–उनले सम्झिइन्–‘लुकीछिपी हिड्नुपथ्र्यो, सवारी साधनहरु थिएनन् हिडेरै शनिश्चरे, विर्तामोड, भद्रपुर पुग्नुपथ्र्यो ।’
सामान्य उचाइ, गहुँगोरो वर्ण र फूर्तिलो शरीर दिब्याको बाहिरी परिचय हो । प्रजातान्त्रिक आन्दोलनप्रतिको उनको चेत भित्री परिचय । उनले विगत सम्झदै भनिन्–‘म अलिक बोल्ड थिएँ, कसैसँग डराउँदिनथे ।’ कहिल्यै पनि पद नखोजी प्रजातन्त्रका लागि संघर्ष गरेको बताउने उनले थपिन्–‘पद खोजेको भए डोमिनेशन हुन्थ्यो होला, तर कहिल्यै ओहोदा खोजिन । मेरो बोल्ड स्वभावकै कारण म पदमा बसेर सबैलाई आफूसँगै हिडाउन सक्दिनजस्तो लाग्थ्यो ।’ त्यसो त उनलाई उच्च शिक्षा लिएका ब्यक्तिले मात्रै राज्य सञ्चालन गर्न सक्छन् भन्ने लागेरै पनि पदीय दायित्वमा नबसी राजनीति गरेको उनले बताइन् ।
त्यसबेला उनीसँगै झापामा धर्मकला प्रसाई, यज्ञकुमारी सिटौला, उमा पोखरेल, निर्जला बन लगायतका महिला नेतृहरु प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । उनीहरुभन्दा अघिल्लो चरणमै पर्छन् शायद–हर्षकुमारी थपलिया, रानी हेमरम । उनीहरु प्रजातान्त्रिक आन्दोलनको अग्रमोर्चामा थिए । ‘ए यज्ञकुमारी तिमी कार्यक्रम गर, म एकट्रक मान्छे पठाइदिन्छु भन्थें’–उनले भनिन्–‘कार्यक्रमहरुमा म मान्छे भेला गरेर ठाउँठाउँमा पठाउँथें।’
प्रजतान्त्रिक आन्दोलनमा लागेकाहरुलाई तत्कालीन पञ्च सरकारले विभिन्न वहानामा दुःख दिन्थ्यो रे । उनले यस्तै एक घटना सम्झिइन् । ठ्याक्कै तिथि, मितिचाहिं नबताएकी उनले भनिन्–‘ म काठमाडौं गएकी थिएँ, शपना पटक्कै राम्रो देखिन, घर आइहालौं लाग्यो, दाजुले तेरो घर खानतलासी हुँदैछ भन्नुभयो । म तत्काल झापा जान्छु भनेपछि उहाँले मलाई झापा पठाउनुभयो । त्यतिवेला माइमा पुल बनेको थिएन, म लगभग तीनदिनमा घर आइपुगे ।’ अपसोच उनी घर आइपुग्दा घर खानतलासी भइसकेको रहेछ ।
‘त्यसबेला सरिता सानै थिई । म घर आइपुग्दा सरिता पनि बोलिन, उहाँ (श्रीमान) पनि बोल्नुभएन ।’ २÷३ दिन यसै वित्यो । तीनदिनपछि सरिताले भनी–‘प्रहरीले घरमा घेरा हाल्यो, खानतलासी ग¥यो ।’ त्यतिमात्रै होइन, तत्कालीन पञ्च सरकारले जंगलमा लगेर १० हजार कि.वि. काठ काटेको आरोपपत्रमा जवरर्जस्ती दिब्याका श्रीमान विरेन्द्र प्रसाईलाई सहीछाप गराएछ । ‘नगरौं ज्यान जाने डर, गरौं विभिन्न मुद्दा मामला लगाएर फसाउने डर, बरु ज्यान नै ठूलो भन्ने सोचेर उहाँले सहीछाप गरिदिनुभएछ’–दिब्याले भनिन्–‘त्यो मुद्दा १० बर्षसम्म खेप्नुप¥यो ।’ उनले उक्त मुद्दाको प्रमाण मेटाउन गरेको प्रयत्न अझै रोचक छ । त्यसवेला बनको मुद्दा चारआली प्रहरीले हेथ्र्यो । चारआलीमा दिब्याले चिनेकै एकजना प्रहरी प्रमुखको जिम्मेवारी संहाल्न आए । ‘म उनलाई धेरै माया गर्थें’–उनले भनिन् । उनी ती प्रहरीलाई भेट्न गइन् । ‘ओहो चेली कहाँबाट आउनुभयो’ भनेर सोधे’ मैले पनि भनिदिएँ– ‘म माइती राजालाई नै सम्झिएर आएकी । त्यतिवेला होटलहरु सिमित थिए । यहाँ के कुरा गर्नु जाउँ ऊ त्यहाँ भनेर नजिकैको होटल देखाएँ । उनी पनि सरक्क आए । मैले होटलमा अघि नै रक्सीको ब्यवस्था गर्न लगाएकी थिएँ, उनमा अलेली नसा लाग्दै गएपछि मैले कागज निकाल्न लगाएँ र त्यो मुद्दाको कागज वत्तीमा जलाईदिएँ, त्यसवेला विजुली विस्तार भएकै थिएन । वलिरहेको बत्तीमा जवर्जस्ती सहीछाप गराएको कागज ढडाएपछि यस्तै हो माइतीराजा अब सकियो है भनेर म त्यहाँबाट हिंडे ।’
उक्त फर्जी कागज ढडाएपछि मुद्धा सकिने सम्झेकी थिइन् रे दिब्याले तर त्यसो भएन । आफ्ना श्रीमानलाई गलत कागजमा सहीछाप गराएपछि उठेको रिस थाम्न नसकेर उनले सम्बन्धित क्षेत्रको तत्कालीन डि.एफ.ओ.लाई नै थप्पड हानेको संस्मरण सुनाइन् । त्यही कारणले १० बर्षसम्म लम्बिएको मुद्धामा उनले न्यायधीसलाई सिधै भनिन् रे–‘यो मुद्धा मलाई जिताउनुभएन भने तपाइलाइ सातवटा गाई मारेकोजत्तिकै पाप लाग्नेछ ।’ त्यतिवेला मुद्दाको पेशी के हो भन्ने नै थाहा नपाएकी दिब्या मुद्धा फैसला हुने आशमा दिनभर अदालत परिसरमा बसिन् रे ।
‘दुइबजेसम्म बस्दा पनि सुनुवाई नभएपछि सोझै न्यायधिसकहाँ गएँ र भने –‘राम्रो अध्ययन गरेर मलाई न्याय दिनुस्’–उनले थपिन्–‘न्यायधीस नै रक्सी खाएर बसेको रहेछ, अध्ययन गरेर न्याय दिनुस् भन्या होइनौ, अध्ययन गर्दैछु भन्यो । म चुपचाप बाहिरिएँ, बल्ल चारवजेपछि पेशी शुरु भयो र साँझ पर्दा मात्रै फैसला भयो, मुद्दा हामीले जित्यौं ।’ अहिले चरा मारेजस्तो मानिस मार्नेलाई राजनीतिक आडमा सरकारले नै संरक्षण गरेकोप्रति आश्चार्य मान्छिन् उनी । भनिन्–‘भँगेरा मरेजस्तो पनि छैन, न्याय पाउने कुरा त परको भयो । यस्तो प्रजातन्त्र हामीले खोजेको थिएन।’
उनका श्रीमान विरेन्द्र र ससुरा चन्द्रप्रसाद प्रसाई सक्रिय राजनीति गरेर हिड्दैनथे । तर राजनीतिक चेत र प्रजातन्त्र प्राप्तिका लागि सदासर्वदा सहयोगी भूमिका खेल्ने उनीहरुले कहिल्यै ‘किन राजनीतिमा हिडेको भनेर प्रश्न पनि गरेनन् र नहिड्न दवाव पनि गरेनन्’ रे दिब्यालाई । पदीय दायित्वमा नबसी सक्रियतापूर्वक राजनीति गरेकी दिब्याले सत्याग्रह आन्दोलनमा एक्लै अनसन बसेको सुनाइन् ।


‘सँगसँगै राजनीति गर्नेमध्ये धेरैको नाम विर्सिसकें’–उनले भनिन् –भक्तवहादुर खड्का, कृष्ण मिश्र, डा. शंकर उप्रेती, यज्ञकुमारी सिटौला, डिल्ली सिटौला आदिको नाम मात्रै सम्झना छ।’ नेपाली कांग्रेसले बहुदलीय प्रजातन्त्रको माग राख्दै २०४२ सालमा गरेको सत्याग्रह आन्दोलन के हो भन्ने थाहा थिएन रे उनलाई । ‘हामी शनिश्चरेमा भेला भएर सत्याग्रहमा बस्ने सल्लाह ग¥यौं, प्रशासनले धरपकड गर्ने डरले ऊ पनि नबस्ने, ऊ पनि नबस्ने भन्न थाले । मैले भने–‘मलाई डर नै लाग्दैनथ्यो, हक्की स्वभाव थियो, म बस्छु, बरु सत्याग्रह कसरी गर्नुपर्छ मलाई बताइदिनुस् ।’–उनले त्यसवेलाको पूर्वतयारी सम्झदै भनिन्–‘मैले त्यति भनेपछि डा. शंकर, कृष्ण लगायत सबै बस्ने भए । हामी चन्द्रगढीतर्फ लाग्यौं, त्यसबेला पुहातुवाडी हुँदै हिडेरै चन्द्रगढी जानुपथ्र्यो । म अदालत परिसर अगाडि पुगेर सत्याग्रहमा बसें तर कसलाई कहाँबाट प्रहरीले पक्रियो थाहा भएन, भरे म एक्लै भएँ, दिनभर बसेर फर्किएँ ।’
त्यसवेला प्रहरीले सि.के.की बुहारी भनेर पनि उनलाई उच्च निगारानीमा राख्थ्यो रे । नजिकै प्रहरी चौकी, प्रहरीको पानी खाने कल आफ्नै घरको । प्रहरी आयो कि डराउनुपर्ने वातावरण । ‘प्रहरीको आँखा छलेर आन्दोलनमा निस्कनुपथ्र्यो’–उनले २०४६ सालको आन्दोलन सम्झिइन्–‘ससुराले झण्डा सिलाउन लगाइदिनुभयो, मलाई सासुआमाका पुराना लुगा लगाएर जान भन्नुभयो’–म प्रहरीले नचिन्ने गरी पुराना लुगा लगाएर सरितालाई लिएर रातको १२ बजे घरबाट निस्किएँ ।’ शनिश्चरेमा पुग्दा एकजना शिक्षकले एउटा ओढ्ने थपिदिए । १२ बजे घरबाट निस्किएर शनिश्चरे हुँदै विर्तामोडस्थित चक्र बास्तोलाको घरमा पुगिन् उनी ।
‘भोलीपल्ट चक्रका छोरीहरु गरिमा र सुनिता तथा सरिता र म खाना खान टेवलमा बसेका मात्रै के थियौं, प्रहरी आएर पक्रिएर विर्ताबजार पु¥यायो । कान्छो छोरो दिनेश, मनोज र पुष्प सिटौला भाइ पनि पक्राऊ परेका थिए । हामीलाई विर्ताबजार थानामा राखेको थाहा पाएपछि कुसुम (चक्रकी श्रीमती)ले वेड पठाइदिइछिन्–एकजना थापा भाइले वेड लगिदिए ।’–उनले भनिन्–‘जहाँ हामीलाई राखियो, त्यहाँ नाइलनको डोरी रहेछ । मलाई यिनीहरुको भर हुँदैन जस्तो लाग्यो । मैले त्यही नाइलनको डोरीले वेस्मारी साङलो कसें । भरे प्रहरी आएर ढोका खोल्न भन्यो । मलाई ढोका खोल्न निकैबेर लाग्यो । प्रहरीले किन यत्रोबेर लगाएको भनी प्रश्न ग¥यो, मैले भनिदिएँ–तिमीहरुकै कारणले हो । तिमीहरुकै डरले मैले यो डोरी साङ्लोमा कसेकी थिएँ ।’
‘टाँढे घर र बाँसको भ¥याङ थियो त्यहाँ । सरिता १२÷१३ बर्षकी मात्रै थिई । सरितालाई बेड बोक्न भनियो, मैले भनिदिए–‘म यस्तो ठाउँबाट उत्रन सक्दिन, सरिता पनि यत्रो भारी बोकेर ओर्लन सक्दिन, दुवैजनालाई ओराल भनें । प्रहरीले ओराल्यो र उसको गाडीमा चढायो। हामी चारजना थियौं, काँढ हानेजस्तै गाडी चलायो । मैले उठेर भने–‘ए भाई किन यस्तो गाडी चलाएको ? तर ऊ हाम्रो आवाज सुन्नवाला थिएन । ’
चन्द्रगढी जेलमा पुगेका उनीहरुलाई रातको एकबजे थुनुवा पुर्जी दिएछ प्रहरीले । ‘सरिता खुट्टा ठोक्दै रोई । किन रोएकी भन्दा मात्रै उसले मलाई देखाई, थुनुवा पूर्जी प्रहरीले उसको हातमा थमाएको रहेछ।’ मनमा माया त थियो तर त्यहाँ आफ्नो केही नचल्ने देखेपछि मैले सरितालाई भने–‘तेरो बाबुको घर हो र यो । यहाँ जे भन्छ त्यही गर्नुपर्छ नरो चुप लागेर बस भने ।’ प्रहरीदेखि एकदमै रिस उठ्यो भने–‘यो सरकारले के गरेको ? हामी महिला केटाकेटी, ओठ निचोर्दा दुध आउने केटाकेटीलाई एकबजे राती किन जेल हाल्नुहुन्छ ?’ उनीहरु चुपचाप भए । खाना ल्याउ भने, खाना ल्याइदियो । कहिलेकाँही साथीभाइले खाना ल्याइदिन्थे । जेलको त खासै खान सकिने हुँदैनथ्यो । ’ आमाका पछिपछि राजनीति गरेर हिंड्ने सरिता प्रसाई अहिले कांग्रेस केन्द्रीय सदस्य छन् । दिब्याका छोराबुहारी अग्नेश–कविता, दिनेश–निर्मला, छोरीहरु सरिता, बविता र नातिनातिना अतुल, सस्मिता, मुनाल र मिनाल रहेका छन् ।
आस्थाका आधारमा जेलमा परेकाहरुलाई निकै यातना दिने तत्कालीन शासक प्रशासकले महिलालाइ भने खासै दुःख नदिएको र आफूहरुमाथी पनि कुटपिट नभएको उनले बताइन् । ‘हामीले के गल्ती ग¥यौं र ! हामी प्रजातन्त्र माग्न आएका लु हतकडी लगाएर लैजानुस् भने’–उनले भनिन्–‘हामी जन्मसिद्ध कांग्रेस भएकाले नछाडिएको रे भन्ने सुन्थ्यौं, पछि कम्युनिष्टहरुलाई पनि जेलमा ल्यायो ।’ त्यसवेला दिब्या र सरिता प्रसाइले लगभग एकमहिना जेलजीवन विताएका थिए ।
आजन्म प्रजातन्त्र र लोकतन्त्रका लागि जीवन समर्पण गरेकी दिब्या अहिले भोगेको प्रजातन्त्रप्रति सन्तुष्ट छैनन् । भनिन्–‘हाम्रो जेनेरेशनले प्रजातन्त्र पायो मात्रै, अहिलेको पुस्ता भोग्दैछ, यही अवस्था रहे तेस्रो पुस्ता के गर्छ ?’ अधिकांशजसो राजनेताहरुले राजनीतिलाई कमाएर खाने भाँडो बनाएका कारण सबैको अधिकार रक्षा हुन नसकेको, न्युन वर्गका मानिसहरुले प्रजातन्त्रको अनुभुति गर्न नसकेको र जनताको जीवनस्तरमा परिवर्तन नआएको उनको बुझाइ छ । ‘साँच्ची राजनीतिलाई यसरी कमाएर खाने भाँडो बनाइरहे तेस्रो पुस्ताको भविष्य के होला ? सरकारले सोच्नुपर्दैन ?’ उनले प्रश्न गरिन्–‘प्रतिपक्षमा रहेका नेताहरुले पनि आफूमाथि लागेका आरोपका विषयमा क्लियरेन्स दिनुपर्ने र गुटउपगुट त्यागेर एकजुट हुन आह्वान गर्छु ।’ वी.पी.को सिद्धान्त र विचार बोकेर हिंडेको प्रजातन्त्रवादी मान्छेले देश र जनताको समृद्धिका लागि समयानुकुल योजना अघि सारेर तेस्रो पुस्ताका बारे सोच्न पनि उनले कांग्रेस नेतृत्वलाई आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला तेस्रो पुस्ताको भविष्य खोई ?

Most Popular

Recent Comments