Home महिला ‘पोथी नबासी हुँदैन भन्न थालेका छन्’

‘पोथी नबासी हुँदैन भन्न थालेका छन्’

आज मार्च ८ । यो दिन महिलाहरुका लागि विशेष दिनका रुपमा मानिन्छ । ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा नारी दिवस मनाइरहेका छौं । महिलाको श्रमलाई कामकाजी रुपमा मात्र हेरिनु हुन्न श्रमसंग जोडिनु पर्छ भन्ने मान्यता अनुसार ८ मार्चलाई श्रमिक महिला दिवसका रुपमा मनाउने गरिन्छ भने विगतमा केही केहीले होटलमा जाने र खर्चिलो पाराले (स्वन्त्रतापूर्वक) स्वेच्छाले खाने, रमाउने गरेका कारण यो दिनलाई नारी दिवस भनिएको हो भन्ने तर्कहरु पनि आउने गर्छन् । तर समग्रमा यो दिवसको महत्व महिला हक, अधिकार (मताधिकार, समान कामको समान ज्याला) जस्ता विषयसंग जोडिएको छ । झापा क्षेत्र नंं–२ बाट निर्वाचित सांसद तथा महिला नेतृ पवित्रा निरौला खरेलसंग श्रमिक महिला दिवससहित अन्य विविध विषयसंग सम्बन्धित रहेर जनआन्दोलन डटकमका लागि कार्यकारी सम्पादक भीमा शिवाकोटीले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।


के गर्दै हुनुहुन्छ आजकाल ?
अहिले जिल्लातिर आइ र छु, त्यसले गर्दा अलिकति बढी व्यक्तिगत काममा नै व्यस्त छु, तत्कालै काम सकेर काठमाडौं फर्कदैछु ।
तपाईको बाल्यकाल कसरी बित्यो ? बताइदिनुस्न् !
मेरो बाल्यकाल अत्यन्तै कष्टपूर्ण ढङ्गबाट बित्यो । विशेष गरी नेपाली समाजको त्यो बेलाको गरिबीको समस्या ! मेरो बाल्यकाल पनि त्यही समस्या झेलेर बित्यो । मेरा बुबा आमाले खानैका लागि अत्यन्तै ठूलो संघर्ष गर्नु पर्यो । अर्काको घरमा काम गर्ने, गाई वस्तु हेरिदिने यस्तै यस्तै दुःखपूर्ण अवस्थाबाट बुबा आमाको जिवन गुज्रियो । र, तिनै अप्ठ्यारा भित्र मेरो पनि बाल्यकाल वित्यो । जुन बेला म जन्मे त्यो बेलाको समाज एउटा रुढिवादी समाज थियो । विभिन्न अप्ठ्याराहरु संग जुध््ने समाज थियो । त्यो बेला खासै छोरीहरुले पढ्नु पर्छ भन्ने समाज थिएन । छोरीहरुले पढ्न हुँदैन, पढाउनु हुँदैन, छोरीले पढेर के हुन्छ ? भन्ने समाज थियो । तर, पछि म ठूली (१०/११ वर्षको) भएपछि म आफैंले स्कूल जान्छु आमा भने । मैले त्यसो भनिरहँदा आमाले तेरो अझै स्कूल जाने बेला भएको छैन, घरको धेरै कामहरु सिकेरमात्र जानु पर्छ भन्नु भएको थियो । वास्तवमै मेरो बाल्यकाल धेरै कष्टपूर्ण ढङ्गले नै वित्यो ।
शिक्षा लिन कटिलो परिवेश थियो भनिरहँदा आफूले शिक्षालाई कहाँ लगेर टुङ््ग्याउनु भयो ?
मैले २०४० सालमा एसएलसी पास गरे । त्यसपछि कलेज भर्ना भएँ र मैले कलेज पढ्दै गर्दा आइ. कम सिध्याउने सिध्याउने बेला भएको थियो । मेरो एक्जाम आइरहेको थियो, त्यहि बेला तत्कालिन पञ्चायति सरकारले मलाई गिरफ्तार गर्यो त्यसपछि म २ वर्ष जेल बसे र मेरो पढाई पनि त्यहिबाट टुङ्गियो ।
राजनीतिक जीवन चाहिं कसरी सुरु भयो ?
विशेषत म चाँहि समाजका विभिन्न अप्ठ्याराहरु झेल्दै अघि बढेको व्यक्ति हुँ । त्यो बेला समाजमा छोरा र छोरीबीच अत्यन्तै धेरै विभेद गरिन्थ्यो । असमानता मलाई पटक्कै मन नपर्ने समानता हुनुपर्छ भन्ने मेरो विचार थियो । म मा बच्चैदेखि अलि विद्रोही स्वभाव मेरो थियो । समानता हुनुपर्छ भन्ने सोच राख्थें । म माथि धेरै असमानता भएको छ भन्ने लाग्थ्यो । किन भने मेरो परिवारमा मेरा ३ जना आमा हुनुहुन्थो, म जेठी आमाकी छोरी । विशेष गरी छोरीहरुलाई हेर्ने दृष्टिकोण त्यो बेला कस्तो थियो भन्ने कुरा माथि नै भनिसके । मेरो बाबा र मेरो समाजले मलाई सन्तानका रुपमा कहिल्यै हेरेन । विशेष गरी पाल्नको लागि र मरेपछि कृया गर्न छोरै चाहिन्छ भन्ने मान्यता थियो । जसको कारण छोरो जन्माउनका लागि मेरो बाबाले अरु आमाहरु थप्नु परो । त्यो बेला त्यस्तै खालको असमानता थियो । भाइलाई गर्ने व्यवहार र मलाई गर्ने व्यवहार भिन्न थियो । त्यहि असमानताका कारण यो असमानतालाई तोड्नु पर्छ भन्ने विद्रोही सोंचले म राजनीतिमा होमिएँ । र, विद्यार्थी राजनीतिबाट अघि बढें ।
विवाह चाहि कसरी भयो ?
घर परिवारमा विहे गर्ने उमेर भयो भन्ने खालको कुरा भइरहँदा मैले अहिले विवाह गर्ने बेला भको छैन भन्दै थिएँ, अहिले मैले केही काम गर्न सकेको छैन, अझै धेरै काम गर्न बाँकी छ भन्दै भन्दै धेरै समय अगाडी बढे र राजनीति गर्ने दौरानमै जेलमा परियो । २ वर्ष जेल बसिसकेपछि म बाहिर निस्कें, बाहिर निस्केपछि पनि प्रहरी प्रशासनको नजरमा परिरहे । त्यसपछि म भूमिगत भएँ । भूमिगत भै सकेपछि २५÷२६ वर्षको उमेर भयो । अब चाहीं विहे गर्नुपर्छ भन्ने किसिमको घरपरिवारबाट पनि दवाव भइरहेकै थियो । र त्यति बेलै पार्टीले पनि विवाह गर्नुपर्छ भन्ने खालको प्रस्ताव ल्यायो, पार्टीबाट पनि प्रस्ताव आएपछि मैले स्विकार गरें र २०४७ सालमा कमरेड नरेश खरेलसंग विवाह भयो ।
विवाह कसरी गर्नु भयो ?
विशुद्ध जनवादी ढंगले गरियो ।
विवाह पछि राजनीतिक जीवनमा कति परिवर्तन आयो ?
विवाह पछिको जीवनमा केही सजिलो पनि भयो, केही अप्ठेरो पनि भयो । सहज–असहज दुवै कुराहरु भए । सहजता यस मानेमा भयो हरेक राजनीतिक कुराहरु दुईजना बसेर छलफल गर्ने, अनि एउटा निष्कर्ष निकाल्ने गर्न थाल्यौं । त्यसले अघि बढ्न निकै सजिलो भयो । हरेक कुरामा सल्लाह, सुझाव लिने दिने दुवै जनाको बराबर नै हुन्थ्यो, यस मानेमा अत्यन्तै सहज भयो भने असहज यस मानेमा भयो कि विवाह भएपछि दुईजना भइयो, दुईजना भएपछि हिजो जस्तो भूमिगत नै भएर हिड्ने कुरा रहेन । पार्टी भर्खर खुल्ला भएको थियो । हामी बाहिरी दुनियाँमा आइसकेका थियौं । वहाँ चाहिं लामो समयसम्म जेल पर्नु भएकोले गर्दा पैत्रिक सम्पत्तिमा पनि आफ्नो सहभागिता कम रहेको हुँदा आर्थिक कारणले गर्दा परिवार चलाउन निकै गाह्रो भो । त्यसले गर्दा राजनीति गर्न पनि एक्लै हुँदा भन्दा अलि असजिलो चाँहि भयो नै ।
त्यो बेलाको विपन्नताको कुरा गरिरहँदा अहिलेको अवस्था चाहिं कस्तो छ ?
अहिलेको र हिजोको अवस्थामा आकाश पातालको फरक छ । त्यो बेलामा विहान खाए बेलुका के खाउँ हुन्थ्यो, बेलुका खाए विहान के खाउँको अवस्था थियो । दिउँसोको खाजा त कुरै छोडिदिउँ । त्यतिबेलाको अवस्थाले लागेको त्यो बानी अहिले पनि हटेको छैन, दिउँसो खाजा त अहिले पनि खान्न । विहान खाना खाएर संसद् भवन गयो, दिउँसो निस्केर खाजा खान अहिले पनि मन लाग्दैन ।
महिला भएकै कारण जेलभित्र र भूमिगत जीवनमा विभेद कत्तिको हुन्थ्यो ?
अत्यन्तै धेरै विभेद, महिलाहरु कमजोर हुन्छन्, पुरुष जत्तिकै सक्षम हुँदैनन्, केहि गर्न सक्दैनन् भन्ने सामाजिक मान्यता त थियो नै, जेल भित्रै पनि त्यो सोचका मान्छेहरु थिए । यहि हाम्रो समाजका उपज हुन सबै र राजनीतिक जीवनमा महिलालाई हेर्ने दृष्टिकोणमा धेरै विभेद भोगियो, विभेद देखियो ।
ति विभेदहरु अहिले चाँहि अन्त्य भए त ?
छैन ! –महिलालाई अहिले पनि जिम्मेवारी दिएर पूरा गर्न सक्छन् भन्ने विश्वास गरेको अवस्था छैन । धेरै विभेद अहिले पनि छ । तर हिजो र आज तुलना गर्दा धेरै परिवर्तन भने भएको छ ।
श्रमिक महिला दिवसको महत्व के छ ?
धेरै महत्व छ, यसबाट अत्यन्तै धेरै उपलब्धीहरु हामीले प्राप्त गरेका छौं । जुन बेलामा क्लारा जेड्किनले आवाज उठाउनु भो । त्यो बेलामा महिलाहरुलाई मान्छेको रुपमा गनिदैनथ्यो, महिलालाई मतदान गर्ने अधिकार थिएन । ज्यालामा असमानता थियो । महिलाले बोलेको कुरा संसारमा कहिं पनि बिक्दैनथ्यो । महिलाले बोल्नै हुँदैन भन्ने किसिमको समाज थियो । हाम्रै समाजमा पनि महिलाले बोल्यो भने पोथी बासेको सुहाउँदैन भनिन्थ्यो । भने अहिले आएर धेरै परिवर्तन छ, तपाई हरेक सभा समारोहमा जानुहोस् महिलाको उपस्थिति छैन भने त्यहाँ महिला किन छैनन भने आवाज उठ्छ । हरेक कार्यक्रममा महिला सहभागिता अहिले छ । हिजो पोथी बासेको सुहाउँदैन भन्ने समाज आज पोथी नबासी हुँदैन भन्न थालेको छ । यदि त्यो बेलामा क्लारा, जेडकिनले महिलालाई गरिने विभेदका बारेमा त्यसरी बोल्नु भएको थिएन भने हाम्रो अवस्थामा यो परिवर्तन आउन अझै धेरै कुर्नु पथ्र्यौं होला । जब कि त्यो भन्दा अगाडी कुनै पनि अन्तराष्ट्रिय फोरमबाट महिलाले त्यसरी बोलेका थिएनन् । पहिलो आवाज हो क्लाराको, त्यो आवाजले आज विश्वलाई नै थर्काएको छ । र नै विश्वमा अहिले महिलाहरुले समय सापेक्ष ढङ्गले आफ्ना हक अधिकारलाई स्थापित गर्दै सशक्तिकरण र महिला अधिकारका लागि आवाज बुलन्द गर्ने एउटा महत्वपूर्ण दिनका रुपमा ८ मार्च अथवा अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई लिइन्छ । अहिलेको नेपाली महिलाहरुको राजनैतिक, समाजिक र आर्थिक उपलब्धिमा यसको महत्वपूर्ण भूमिका छ ।
यो दिवसलाई कसैले नारी दिवस त कसैले श्रमिक महिला दिवस भन्छन् नी खासमा के हो ?
वास्तवमा यो अन्तराष्ट्रिय श्रमिक महिला दिवस नै हो, यसको जन्म यसरी नै भएको हो । पहिला पञ्चायती व्यवस्थामा पञ्चायती शासकहरुले त्यसलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस भन्न रुचाएनन र त्यो बेलामा घरानियाँ महिलाहरुले ठूल्ठूला फाइभस्टार होटलहरुमा नारी दिवसका रुपमा भोज–भतेर, नाच–गान गरेर ऐस–आरामका साथ मनाउने दिवसको रुपमा हेरिन्थ्यो र त्यसलाई नारी दिवस भनियो । तर, यो दिवस भनेको एउटा संघर्ष र बलिदानीको प्रतिक हो, परिवर्तनको प्रतिक हो, यो महिला समानता र अधिकारको लागि लडिएको लडार्इँ हो, विभेदका विरुद्ध निस्किएको एउटा सशक्त आवाज हो, म अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई यसरी नै बुझ्छु ।
अन्त्यमा ?
यो अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्यताका रुपमा मनाउन मन थियो, त्यही तयारी पनि गर्दैथ्यौं तर दुःखको कुरा अहिले विश्वमै समस्याका रुपमा देखिएको कोरोना भाइरसकै कारण धेरै मानिसहरु एकै ठाउँमा जमघट हुन अप्ठ्यारो परेको छ । सरकारले भिडभाडमा नजान, सार्वजनिक कार्यक्रम नगर्न सूचना नै जारी गरिसकेको अवस्था छ । जसका कारणले गर्दा हामीले यो वर्ष ठूलो रुपमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन सकेनौं । तर, आ–आफ्नै ठाउँबाट सम्पूर्ण दिदी–बहिनीहरुलाई यो दिनलाई स्मरण गर्न म हार्दिक अनुरोध गर्दछु । साथै यही सञ्चार माध्यमबाट ‘समानताको पुस्ता’ अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ सम्पूर्ण नेपाली दिदीबहिनी लगायत विश्वभरिकै महिलाहरुमा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला ‘पोथी नबासी हुँदैन भन्न थालेका छन्’

Most Popular

गोरु काटेर खाएको आरोपमा अर्जुनधाराबाट ३ जना पक्राऊ

झापा । झापाको अर्जुनधारा–५ स्थित बैसाबारी बस्ने तिन जना गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा २० बर्षीय ईमन...

फुलमती खोलाले ५ विगाहा बढी खेतियोग्य जमिन कटान

शनिश्चरे । केहिदिनदेखि निरन्तर भएको अविरल वर्षाका कारण फुलमती खोलामा आएको बाढीले अर्जुनधारा–५ स्थित पानीकलमा ५ विगाहा जमिनमा लगाएको धानखेति कटान गरेको...

सुखानीमा रुख काटिएकोप्रति अर्जुनधारा कांग्रेसको आपत्ति

अर्जुनधारा ९ असोज। झापाको अर्जुनधारा नगरपालिका–९,१० र ११ स्थित सुखानी सहिद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको...

मावल आएकी कृतिकाको छतबाट खसेर मृत्यु

झापा । ५ दिन अघि काठमाडौंबाट झापाको विर्तामोड–५ स्थित मावली घर आएकी १३ वर्षीया कृतिका भण्डारीको छतबाट लडेर मृत्यु भएको छ ।विहिबार...

Recent Comments