Home समाचार समाचार समयक्रान्तिको सन्देश

समयक्रान्तिको सन्देश

गत सोमबार (२०७६/११/१२ गते) संवाद समूह झापाले प्रदेश–१ का प्रमुख सोमनाथ प्यासी अधिकारीसंग पत्रकार भेटघाट कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गर्यो । दिनको साढे १२ बजेको

रेजिना गौतम

सूचना अनुसार त्यसैको पेरीफेरिमा कोही अलिकति छिटो त कोही अलिकति ढिलो, गरी लगभग पौने १ सम्ममा साथीहरु उपस्थित भयौं ।
निर्धारित समयमा मुख्य आकर्षक (प्रदेश प्रमुख) आइ नपुगेपछि आयोजकका तर्फबाट (एकराज गिरी) उहाँकोे लोकेसन र आइपुग्न लाग्ने समयबारे बुझ्दै सञ्चारकर्मी साथीहरुको उपस्थितिबारे जानकारी गराउनु भयो । आधाघण्टा भित्रमा आइपुग्ने जवाफ प्राप्त भएको गिरीले पुनः सूचना गर्नुभयो । अझै आधा घण्टासम्म पर्खनुपर्ने भएपछि आफ्नै कर्म क्षेत्रका विगत र वर्तमान सम्झियौं । त्यही बीचमा चिया र खाजा समेत खायौं । अतिथि पर्खाइमा घढीमा घण्टाको सुइरो २ मा पुगेछ । समय अभावका कारण डेढ घण्टा पर्खिएर त्यत्तिकै फर्किएँ । पछि सुने त्यसपछि पनि लगभग १५ मिनेट पर्खनु पर्यो रे ।
झण्डै महिनादिन अघि हुनुपर्छ सिम्रिक सहकारीको नवौं बार्षिकोत्सवको निमन्त्रणा आयो । प्रमुख अतिथिको व्यस्तताका कारण ठिक समयमा कार्यक्रम शुरु हुने सूचना थियो । समय विहान ९ः३० बजे । निर्धारित समयमा मन्त्री उपस्थित नहुने भन्ने हल्ला चल्यो सभा नौतिर । ११ बजे समय सारिएको रहेछ । ११ बजेसम्ममा साढे नौबजे आउन नसकेका आमन्त्रितहरुको पनि उपस्थिति भइसकेको थियो । फेरिपनि समयमा मन्त्रीको उपस्थिति नदेखिएको र कार्यक्रम पनि शुरु हुने छाँट नबुझे पछि एकाध फर्किए पनि अधिकतम त्यही बसे । उनी थिए भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम राना । आयोजकले १२ बजेपछि प्रमुख अतिथिविनै कार्यक्रम शुरु ग¥यो । कार्यक्रम शुरु भएको १ घण्टा पछि मन्त्री राना कार्यक्रमस्थल आदर्श ब्याङ्क्वेटमा प्रवेश गरे आफ्ना केही कार्यकर्ता र सुरक्षा संयन्त्रसहित ।
केही समय अघि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला विर्तामोडमा आउने भएपछि प्रेस युनियन झापाले पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरुलाई आमन्त्रण ग¥यो । समय ११ बजेका लागि तय गरिएको थियो । राजनीतिक भाषणको समाचार लेख्ने बानी परेका हामी पत्रकार ठिक तोकिएकै समयमा उपस्थित भयौं । ११ बजे स्थानीय होटल हेवनमा उपस्थित पत्रकारले महामन्त्रीलाई १२ः४५ बजेसम्म कुर्नुप¥यो । महामन्त्री कोइरालाले कुर्न लगाएका होइनन्, तर तत्कालीन अवस्थामा कांग्रेसभित्रको चुलिएको विवादका बारेमा के बोल्लान्, अनि प्रमुख प्रतिपक्षी दलका नेताले सरकारका बारेमा के टिप्पणी गर्लान् ? त्यसैले पनि पत्रकारले कोइरालालाई रुंगेका हुन् । काठमाडौंबाट झापाका लागि १० बजे लेण्ड हुनेगरी हवाई रुट तय गरेका कोइराला कम भिजिविलिटीका कारण समयमा प्लेन उड्न नसकेपछि समयमा आइनपुगेका हुन् । उनको कुराइमा पत्रकार मात्रै थिएनन्, पार्टीका नेता र कार्यकर्ता समेत थिए ।
लगभग डेढ वर्षअघि सप्तकोशी बैंकको शाखा उद्घाटनको समय ११ बजे तोकिएको थियो । प्रायः समयमै उपस्थित भए । तर, प्रमुख अतिथि रहेका १ नम्बर प्रदेशका कानून मन्त्री हिक्मत कार्की आइपुग्न २ घण्टा ढिलो भएपछि कति फर्किए भने कति अन्यत्रको काम सकेर पुनः उपस्थित भए । कति त्यही ढिलाइको आलोचना गर्दै बसे ।


एकजनाका कारण सयौं ब्यक्तिको समय वर्वादीका यी उदाहरण मात्र हुन् । समयमा कुनै पनि कार्यक्रम गर्न निकै ठूलो चुनौति छ । जसका लागि समय क्रान्ति नै गर्नुपर्छ । तर, समय क्रान्ति निकै कठिन कुरा हो । छिटो काम गर्नेलाई काममा ढिलाई भएको मन पर्दैन भने हतारो नगर्नेलाई ढिलो भएर पनि केही फरक पर्दैन । यी दुवै पर्दैनको बीचबाट गुज्रनेलाई खासै समस्या नहोला । तर, मान्छेलाई अनुशासित बनाउने हो भने समय क्रान्तिको महत्व निकै ठूलो छ । विदेशी चालचलन, संस्कृति, खाने बस्नेदेखि लवजसम्मले प्रभावित नेपालीलाई त्यही विदेशीले परिपालना गरेको सही समयको प्रयोगले भने छुन सकेको छैन । छुन खोजेकालाई पनि कहीं न कहीं बाधा अड्चन र अप्ठ्यारोहरु आउँछन् नै, आएकै देखिन्छन् । यसमा उदाहरण पेश गरिरहनु पर्छ जस्तो लाग्दैन ।
नेपालमा समय क्रान्ति त्यति सहज छैन । विभिन्न कालखण्डमा परिवर्तनका लागि भएका क्रान्ति (आन्दोलन) हरु सफल भए । तर, समयको क्रान्ति गर्ने पक्षमा शायद कमैमात्र होलान् । राजनीतिमा युवाहरुलाई सहभागी गराउन सहज छ । त्यहाँ सम्भव–असम्भव सबै प्रकारका आश्वासनले काम गर्छ । वर्गीय आन्दोलन, जातीयमुक्तिको आन्दोलनमा जनतालाई उचाल्न सकिएपनि बेरोजगारीको समस्या झेलिरहेको यो बेलामा के समयको क्रान्तिले सफलता पाउला त ? प्रश्न आफैंमा ठोक्किन्छ ।
जातीय, वर्गीय, व्यवस्था परिवर्तनका लागि एक ठाउँमा उभिएका जनता समय क्रान्तिका लागि पनि एकै ठाउँमा उभिन सक्लान् ? हुन त कुनै पनि क्रान्तिको थालनी गर्नेले त्यसको असफलता देख्दैन र देख्नु पनि हुँदैन । योबारे धेरै बहस गर्नुभन्दा पनि विषय बस्तुमाथि प्रवेश गर्नु नै उचित ठान्छु ।
बीरगञ्जका पत्रकार स्व. गोपालचन्द्र गौतम समय क्रान्तिका एक अभियान्ता थिए । गरिवी, भ्रष्टाचार, कु–संस्कारको विरुद्धमा आगो ओकल्ने गौतमले २०४६ सालमै विश्राम लिए । अघोषित रुपमा उनले शुरु गरेका कार्यलाई उनका सहकर्मी÷सहधर्मीहरुले उत्तराधिकारीका रुपमा धान्दै आएका छन् भन्दा अत्युक्ति नहोला । २०७६ साल फागुन २ गते गोपालचन्द्र गौतमलाई थोरै बुझ्ने मौका मिल्यो । सन्दर्भ थियो उनै गौतमका नाममा स्थापित स्वर्ण पदक वितरण ।
जनतामा चेत जगाउनेदेखि व्यवस्था परिवर्तनसम्म कलमको माध्यमबाट शासकलाई झक्झक्याउनुका साथै परम्परागत कुरिती–कुसंस्कारका विरुद्ध पनि पत्रकारिताकै माध्यमबाट त्यत्तिकै कडा आलोचक थिए । समयलाई एकछिन पनि खेल फाल्नुहुन्न भन्ने उनको सिद्धान्त आज उनका उत्तराधिकारीहरुले प्रस्तुत गर्न थालेका छन् । समय क्रान्ति सहज छैन । त्यही असहजताको बिंडो थाम्दैछन् पत्रकार जगदिश शर्मा अर्थात् पत्रकार गोपालचन्द्र प्रतिष्ठानका अध्यक्ष । फागुन २ गते नेपाल पत्रकार महासंघ पर्सा शाखाले गौतमको स्मृतिमा स्थापना गरेको गोतामे पत्रकारिता पुरस्कार वितरणको दिन थियो । हरेक वर्ष एउटै क्यालेन्डरमा गरिने कार्यक्रमको समय विहान ठिक ९ः १० बजे तोकिएको रहेछ । अघिल्लै दिन बिरगञ्ज पुगेर बसेका हामीलाई समयमा पुग्न कुनै कठिनाई थिएन । ठिक समयभन्दा १० मिनेट अगावै पुग्यौ कार्यक्रम स्थलमा ।

आयोजक अघि नै पुगिसकेका थिए । १२ जनाको संख्यामा रहेका हामी पुग्दा सहभागीको संख्या एकैचोटी निकै ठूलो देखियो । सरासर महासंघको सभाहलमा प्रवेश ग¥यौं । घडीमा नौ बजेको थियो । आयोजकमध्येका एक सदस्यले सूचना गरे अबको ठिक १० मिनेटमा हामी कार्यक्रम शुरु गर्छौं । र एकघण्टामा सक्छौं । आयोजकले सबैलाई सभाहलमा आएर बस्न सूचना गरे । त्यति चाँडै कार्यक्रम शुरु हुनेमा म विश्वस्त हुन सकिरहेकै थिइन । कारण मुख्यमन्त्रीका कार्यकर्ताको भीड देखिन्नथ्यो, हाम्रो प्रदेशमा जस्तो मन्त्रीका अघिपछि कुद्ने लम्बेतान सुरक्षा निकाय शुन्य थियो जसले गर्दा आयोजकको भनाइ झुठ लागिरहेको थियो । त्यसो त हाम्रा गाउँ, घर, शहरमा हुने कार्यक्रम सम्झिएँ । आसन ग्रहण गराउँदा गराउँदै सबै मञ्चमा शुभकामना मन्तव्य सुन्ने नगन्य मान्छे र खाली कुर्सी भएपनि बोल्न नछोड्ने चलन छ । त्यसो त आमन्त्रितको नाम लिन वा आसनग्रहणदेखि नामै लिएर स्वागत सम्मान गर्न सकिएन भने चित्त दुखाई उस्तै हुन्छ । सबैलाई मिलाउन आयोजकलाई हैरानै हुन्छ । कार्यक्रमको उपस्थिति र एकघण्टामै कार्यक्रम समापन गर्ने आयोजकको पूर्वसूचना अपत्यारिलो लाग्यो ।
निर्धारित समयभन्दा १ मिनेट अगाडि लवेदा कुर्तामा लुसुक्क प्रदेश–२ का मुख्य मन्त्री लालबाबु राउत भित्र सभाहलमा उपस्थित भए । दुई/चार सुरक्षाकर्मी बाहेक अरु कोही छैन । सरल शैलीमा मुख्य मन्त्री भित्रिनेवित्तिकै सञ्चालकले कार्यक्रमलाई अघि बढाए । शुरुमा स्व. गौतमको व्यक्तित्व र प्रमुख अतिथि राउतको मिल्दो–जुल्टो (छोरीलाई कन्यादान गर्न नहुने र छोरीलाई दान होइन शिक्षा दिनुपर्छ भनेर अभियानमा लागेका मुख्यमन्त्री)– को स्वभावबारे थोरै जोडर सञ्चालकले कार्यक्रमलाई अघि बढाए । गोपालचन्द्र गौतम प्रतिष्ठानका अध्यक्ष जगदिश शर्मालाई अध्यक्षता र राउतलाई प्रमुख अतिथिको आसनग्रहण गराएसंगै गौतमका सहकर्मी मानव अधिकारकर्मी दुईजनालाई पनि आसनग्रहणमा जोडे ।


प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले गौतमले पत्रकारिता, समाज परिवर्तन, कुसंस्कार र कुरितीका बारेमा लिएको चट्टानी अडान र गौतमको कलमको शक्ति र लर्खराउने शासक, त्यसले समाजलाई दिएको सन्देशका बारेमा संक्षिप्त जानकारी गराए । ससर्ती पुरस्कृत व्यक्तित्व जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक केशव आचार्यसहित गौतमका सहकर्मी र मुख्य मन्त्रीले मन्तव्य राखे । राउतले पत्रकार गौतमलाई नजिकबाट नबुझे पनि पत्रकारितामा उनी अब्बल रहेको बताउँदै भने–‘शासन विरुद्धको क्रान्तिकारिता ओकल्ने व्यक्ति ।’ गौतमका एक सहकर्मी मानव अधिकारवादी बद्री खतिवडाले गौतमको आर्दशलाई वर्तमानका शासकहरुले लत्याएर भ्रष्टाचारमा लिप्त भएको टिप्पणी गरे–‘परिवर्तनका लागि आन्दोलन गर्दा पञ्चायतमा ५÷६ पटक जेल खाइयो, परिवर्तन पनि हुँदै आयो, तर परिवर्तनबाट के प्राप्त भयो, भ्रष्टाचारमात्र बढेर गयो ।’ स्व. गौतमसंगको सहकार्यलाई स्मरण गर्दागर्दै भावुक भएका उनले आयोजकले गरेको समयको क्रान्तिमाथि हमला गरेझैं बुझिन्थ्यो सञ्चालकको हाउभाउबाट । तर, कार्यक्रमको अध्यक्षता गरेका शर्माले एकै शब्दमा सबैलाई धन्यवाद दिंदै समय सकिएको र आफू समयक्रान्तिमा रहेका कारण केही बोल्न नसक्ने जनाउँदै समापनको जानकारी गराए । उनले भने–‘समय सकियो, अब म केही बोल्न सक्दिन् ।’
कार्यक्रममा देखिएका केही कमजोरी औल्याउने क्रममा उपाध्यक्ष झाले अध्यक्षको समय क्रान्तिका कारण कमजोरी महशुस भएको जवाफ पाएसंगै प्रतिष्ठानका अध्यक्ष समय क्रान्तिका अभियान्ता रहेको पुष्टि हुन्छ । एउटा अमुक व्यक्तिका नाममा धेरैको समयको वर्वादीलाई नियन्त्रण गर्न अब गौतम प्रतिष्ठानले मात्र होइन आफुलाई अनुशासनमा हिडाउन खोज्ने जो कोहीले पनि समयको क्रान्ति गर्नुपर्ने अवस्था देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार समयक्रान्तिको सन्देश

Most Popular

Recent Comments