Home महिला अभावले बनायो उद्यमी

अभावले बनायो उद्यमी

इन्दु पूर्वेली
अर्जुनधारा । छाना, माना र नाना मानवीय आवश्यकताका आधारभूत तत्व हुन् । नेपालमा थुप्रै जनशक्ति यही अभावको परिपूर्तिका लागि भौंतारिइरहेको छ । त्यसपछिका आवश्यकता शिक्षा, स्वास्थ्य र मनोरञ्जन । छाना, माना र नानाकै आवश्यकता परिपूर्ति नभए मानिसले के गर्ला ? यसको जवाफ फरक–फरक आउन सक्छ । तर झापा अर्जुनधारा–६ निवासी विना दासलाई त्यही ‘माना’ अर्थात ‘खाना’को आवश्यकताले उद्यमी बनाएको छ ।


२०७४ साल फागुनमा १८ सय रुपैयाँमा एकमन मकै र २० किलो कोदो किनेर ब्यापार शुरु गरेकी उनी २ बर्षको अन्तरालमा ८ लाख बढी लगानी पु¥याएर दुईजनालाई रोजगारी दिनसक्ने भएकी छन् ।
आफू जान्ने हुँदादेखि आफैं खर्च जुटाएर अध्ययनलाई अघि बढाएकी उनको संघर्षको कथा हासो र रोदन बराबरीजस्तो लाग्छ । हामीसँगको संवादमा बेलाबेलै आँशु पुछ्दै र भक्कानिदै तथा कतिपय पारिवारिक कुराहरु ‘अफ द रेकर्ड’ भनेकी उनी बेलाबेला आफ्नो संघर्ष सम्झिएर उमंगीत पनि भइन् ।
इलामको महमाईमा ऋतुराज दाहाल र अनिता दाहालका २ छोरा र ३ छोरीमध्येकी जेठी छोरी उनले २०५८ सालमा एस.एल.सी पास गरिन् । एस.एल.सी.पछिको शिक्षा घरैमा बसेर सम्भव नदेखेपछि आफूभन्दा तीनबर्ष कान्छो भाइलाई साथमा लिएर गैंडेको बाटो हुँदै सुरुङ्गा आइपुगिन् उनी । बुढामावलीको आश्रय लिएर कनकाई क्याम्पस सुरुङ्गामा अध्ययन त थालिन् तर कापी, कलम र फिस जुटाउन केही न केही गर्नैपर्ने भयो ।
उनी अनमोल जरिबुटी उद्योगद्वारा उत्पादित अग्र्यानिक बस्तुको मार्केटिङमा लागिन् । ‘मान्छेलाई कन्भिन्स गरेर बेच्न सारै गाह्रो थियो’–उनले सम्झिइन्–‘अग्र्यानिक बस्तुप्रति मान्छेको मोह नै थिएन । एउटा एकसयको टुथपेष्ट बेच्न तीनदिन लाग्थ्यो । बल्लबल्ल एकसयमा बेच्यो, त्यसको २५ रुपैयाँ कमिशन आउँथ्यो ।’ त्यसबेलाको आम्दानी र खर्च हेरेर उनी अहिले पनि अचम्मित हुन्छिन् रे । भनिन्–‘कहिलेकाहिं कपि पल्टाउँछु ।’


अवसरको खोजीमा रहेकी विनाले सोही मार्केटिङकै सिलसिलामा नेशनल लाइफ इन्स्योरेन्सको अभीकर्ताको रुपमा कार्य गर्न थालिन् । जीवन जिउनका लागि संघर्षको कुरा त छँदै थियो, अध्ययनलाई निरन्तरता दिनका लागि आर्थिक उपार्जन अपरिहार्य शर्त थियो उनका लागि । दिनदिनै अवसरको खोजीमा रहेकी उनी मार्केटिङकै सिलसिलामा हनुमान भण्डारमा पुगिन् । हनुमान भण्डारका उपभोग्य वस्तुको मार्केटिङमा पुग्दा उनी मासिक लगभग सात हजार कमाउँथिन् ।
उनको जीवनले त्यहिंबाट कोल्टे फे¥यो । मार्केटिङकै सिलसिलामा झापा शिवगञ्ज निवासी समिरकुमार दाससँग उनको चिनाजानी बढ्यो । दास विवाहित थिए । तर उनीहरुबीचको मायाप्रिती अन्ततः सम्झौतामा विवाहमा परिणत भयो । ‘उहाँ विवाहित भन्ने थाहा थियो, तर मायाप्रेममा परेपछि गलत निर्णय हो भन्ने थाहा हुँदाहुँदै सम्झौतामा विवाह भयो–उनले भनिन् । २०६३ सालमा विवाह बन्धनमा बाँधिए उनीहरु । दुवै परिवारलाई समान रुपमा हेरचाह गर्दै थिए समिर । त्यहि क्रममा एक सन्तान जन्मियो–नयन दास (२०६९) उनीहरुको । वच्चाको जन्मसँगै खुशी बनेका दम्पत्ती एक्कासी उसमा अटिजमको समस्या देखिएपछि समस्यामा परे । अटिजम अर्थात आत्मरतिमा रमाउने वच्चालाई २४ सै घण्टा समय दिनुपर्ने बाध्यता भयो–विनालाई ।
नयनको जन्मसँगै विनाले मार्केटिङ छाडिन् र वच्चा हुर्काउन थालिन् । परिवार जेनतेन चलेकै थियो । उनीहरु दुवै मिलेर समिरकी जेठी श्रीमती र तीन सन्तानका लागि भारतको सिलीगुढीमा घर बनाए । अर्जुनधारा नगरपालिका–६ मा अलिकति भिटा जोडेर उनीहरुका लागि पनि घर बनाए । तर बनाएको घरमा ओत लाग्दानलाग्दै विनाबाट समिरलाई खोसिदियो– दैवले ।
‘लिभर फ्याटी भएछ, अलिक पारिवारिक टर्चर पनि थियो, नियमित औषधि खानुभएन’–उनले भनिन्–‘अन्ततः उहाँलाई त्यही विरामले लग्यो । एकपछि अर्को समस्या थपिदै गयो । २०७३ साल चैतमा श्रीमानको मृत्यु भएपछि उनले जेनतेन काजकिरिया त गरिन् । तर एकबर्ष वित्दानवित्तै के खाने ? भन्ने समस्याले सतायो ।
आँखाभरी आँशु झार्दै, पुछ्दै गरिरहेकी थिइन् उनी । विगत र वर्तमानसम्मको संघर्षको कथा पर्दाजस्तै एकपछि अर्को फेरिइरहेका थिए । त्यो सँगै बेलाबेला रुन्चे हाँसो हाँस्ने प्रयत्न पनि गरिन् । तर अनुहारमा असरल्ल समस्या देखिइरहेका थिए भने समस्यासँग जुध्ने साहस पनि उत्तिकै देखिएको थियो ।
‘दैनिक छाक टार्न समस्या भएपछि १८ सय रुपैयाँबाट यो काम थालेको’ उनले फापर, कोदो, मकै, सिस्नोको धुलो, टिमुर, तोरीको तेल आदिको स्टक देखाउँदै भनिन्–‘अहिले झापाका धेरैजसो सपिङ कम्प्लेक्समा मेरै उत्पादन विक्री भइरहेको छ ।’ उनले झापाको बजारमा मागको २५ प्रतिशत मात्रै उत्पादन दिन सकेको बताइन् । इलामको दानाबारी, रोङ गाउँपालिका, मोरङको मधुमल्ला, पाँचथर, भोजपुर, झापाकै गरामनी, हल्दिबारी, सालमारा लगायतका स्थानबाट कच्चा पदार्थ ल्याएर उनी फापर र कोदाको पिठो, तोरीको तेल, सिस्नोको ढुटो, बेसार, तिलको छोप, टिमुर लगायतका सामग्री तयार पार्छिन् । ‘पहिला पहिला रिटेलिङमै बेचें, अहिले सपिङ कम्प्लेक्स तथा डिपार्टमेन्टल स्टोरहरुबाट अर्डर आउँछ’–उनले भनिन्–‘यी सबै चिज विषादिमुक्त छन्, अग्र्यानिक छन्।’ जनशक्ति, लगानी र समयको अभावका कारण अहिले अर्डर बमोजिमको सामान पु¥याउनै मुस्किल भएको उनले बताइन् ।


अहिले विभिन्न वैंकहरुले महिला उद्यमीहरुका लागि सहुलियत ब्याजदरमा ऋण लगानी गरेपनि मुख्य गरी समयको अभावका कारण माग अनुरुपको उत्पादन गर्न नसकेको उनले बताइन् । भनिन्–‘अटिजम भएको वच्चा छ, उसका लागि २४ सै घण्टा समय दिनुपर्छ ।’ १ मन मकै र २० किलो कोदो किनेर उत्पादन शुरु गर्दा उनी रातभर काम गर्थिन् । उनले विगत सम्झदै भनिन्–‘रातभर काम गर्थे । जव छोरो सुत्छ, अनि मात्रै मेरो काम शुरु हुन्थ्यो । कहिले त पिठो कुटेर प्याकेजिङ गर्दागर्दै रात जान्थ्यो ।’
एस.के.डी.फुड्स÷झापा सप्लायर्स नामको कम्पनी दर्ता गरेर लेवलिङसहित उनी उत्पादित सामग्री बजारमा विक्री गर्छिन् । त्यतिमात्रै होइन, पछिल्लो समय उनी सामाजिक अभियान्ताकै रुपमा पनि परिचित छन् । आफ्नो छोरालाई अटिजम भएपछि उनले अटिजम केयर सेन्टर काठमाडौंमा सहजकर्ताको तालिम लिइन् । काठमाडौंमै छोरालाई पढाउने र आफू पनि केही गर्ने लक्ष्यसहित काठमाडौं पुगेकी उनी छोरालाई पढाउने वातावरण नभएपछि तालिम लिएर झापा फर्किइन् । सहजीकरण तालिम लिएपछि आफ्नो वच्चा हेर्न त सजिलो भयो ।
अहिले झापाभरमा अटिजम भएका बच्चाका अभिभावकहरु अहिले संगठित भएका छन् र १७ जना बालबालिकालाई एकै ठाउँमा राखेर अध्यापन गराइरहेका छन् । कुमार चुडालको अध्यक्षतामा गठित अटिजम केयर सेन्टर झापाकी उनी सचिव हुन् । सामुहिक प्रयत्नबाट शुक्रबार र शनिबार बाहेक प्रतिदिन ३ घण्टा अध्यापन गराउने गरिएको छ । त्यसमा उनीसँगै सहजीकरण तालिम लिएर आएका दुईजनाले स्वयम्सेवा गरिरहेका छन् ।
निजी पहल र प्रयत्नबाट मात्रै अटिजम भएका बच्चाहरुको हेरचाह र उनीहरुको चाहना अनुरुपको अध्यापन सम्भव नभएपछि अहिले १ नं प्रदेश सरकारको १ करोड रुपैयाँ सहयोग र विर्तामोड नगरपालिकाको २० लाख रुपैयाँ सहयोगमा महेन्द्र रत्न अटिजम श्रोतकक्षा सञ्चालनका लागि भवन निर्माण कार्य यसै बर्ष प्रारम्भ हुने दासले बताइन् । ‘भवन निर्माणका लागि प्लानिङ सकिएको छ, यसै आर्थिक बर्षभित्रमा निर्माण शुरु गर्ने लक्षसहित अघि बढेका छौं’–उनले भनिन्–‘यो भवन निर्माण सकिएपछि अटिजम भएका वच्चाका लागि देशभरकै एकमात्र स्कुल हुनेछ ।’ महेन्द्र रत्न मा.वि. परिसरमै दुईसय जना बालबालिकाको आवासीय ब्यवस्थासहितको भवन निर्माणको योजना बनाइएको उनले बताइन् । हाल महेन्द्र मा.वि.सँगको समन्वयमा स्रोतकक्षा सञ्चालन भइरहेको दासले जानकारी दिइन् । महिला उद्यमीसंघसहित विभिन्न सामाजिक संघसंस्थामा समेत उनी क्रियाशील छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला अभावले बनायो उद्यमी

Most Popular

चन्द्रगढी विमान स्थलको उत्तरतर्फ मूलगेट र टर्मिनल भवन बन्नुपर्ने माग

झापा १० कार्तिक । चन्द्रगढी विमान स्थलको स्तरबृद्धि पछिल्लो डिपिआर अनुसार अबिलम्ब थालिनु पर्ने माग राख्दै स्थानीयले संघर्ष थालेका छन् ।पछिल्लो डिपिआर...

एनएमसीको १२ प्रतिशत लाभांस वितरणको प्रस्ताव

झापा १० मंसीर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले २८ औं बार्षिक साधारणसभामा पेश गर्ने बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ ।संस्थाको विर्तामोडस्थित...

पत्रकार काफ्ले र गौतमद्वारा ‘नारी सञ्चार प्रोत्साहन’ अक्षयकोषमा सहयोग

झापा ८ मंसीर । झापाका महिला संचारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको अक्षयकोषमा दुई पत्रकारले सहयोग रकम...

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।यो चोकमा उभिएर...

Recent Comments