Home समाचार चिया खेती बचाउन रणनीति आवश्यक

चिया खेती बचाउन रणनीति आवश्यक

झापा २१ माघ । चिया खेतीको विकास, प्रवद्र्धन र उत्पादित चियाको बजारीकरणका लागि सरकारले कुनै नीति नियम नबनाउँदा चिया खेतीको भविष्य संकटमा परेको चिया क्षेत्र बचाउ अभियानका अभियान्ताहरुले बताएका छन् ।
चिया उद्योगी, साना चिया किसान र चिया मजदुरहरुको सहभागितामा बनेको चिया बचाऊ अभियानका अभियान्ताहरुले चिया खेतीको अल्पकालीन समाधानका लागि रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा गठित उच्चस्तरीय कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।


यसैगरी चिया क्षेत्रको समस्या पहिचान गरी दीर्घकालीन र दीगो ब्यवस्थापनका लागि चिया क्षेत्रका सरोकारवाला, प्रशासनका विज्ञ र विज्ञ सम्मिलित उच्चस्तरीय चिया कार्यदल गठन गर्न अभियान्ताहरुले माग गरेका छन् ।
चिया खेती, यसको प्रवद्र्धन, बजारीकरणको दीर्घकालीन नीति निर्माण गरेर उद्यमी किसान र मजदुरका समस्या समाधान गर्नसक्ने शक्तिसम्पन्न कार्यदल गठन गर्ने कार्यमा सहयोग गर्न अभियान्ताहरुले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिसँग आग्रह गरेका हुन् ।
विर्तामोडको टाइमलेस पार्टी प्यालेसमा यसअघि कृषिमन्त्रीलाई बुझाएको ज्ञापनपत्र प्रदान गर्दै अभियान्ताहरुले पूर्वउप्रधानमन्त्री समेत रहनुभएका निधिसँग यस्तो आग्रह गरेका हुन् ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले प्रदेश नं–१ मा चिया खेतीको अवस्था र समस्याबारे नेता निधिलाई जानकारी गराउँदै सरकारले उद्योगीलाई सहुलियत नदिने, बजारीकरणका लागि रणनीति तय नगर्ने र मजदुरहरुले सेवासुविधा बृद्धिका लागि आन्दोलन गरिरहनुपर्ने अवस्था रहेसम्म चिया खेतीको भविष्य जोखिममा पर्ने धारणा राख्नुभयो । नेता निधिले चिया उद्यमी, किसान र मजदुरको त्रीकोणीय समझदारीले नै चिया क्षेत्रको समस्या समाधान हुने बताउँदै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सरकारले विगतमा उद्योगीलाई दिदै आएको सेवा सुविधा कटौती गरेको बताउँदै अभियानका संयोजक आदित्य पराजुलीले यही अवस्था रहे उद्योगी र किसानले चिया फाड्नुपर्ने अवस्था आएको बताउनुभयो ।
आफ्नै परिक्षण ल्याव र ट्रेडमार्क नहुँदा नेपालको चिया भारतीय ब्राण्डका नाममा विक्री भइरहेको बताउँदै पराजुलीले चियाको गुणस्तर मापनका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षण ल्यावको ब्यवस्था गर्न माग गर्नुभयो । उहाँका अनुसार चियाको प्रमुख बजार भारत हो भने अर्थोडक्ससहितका गुणस्तरीय चिया अष्ट्रेलिया, अमेरिका, रसियासहित युरोपियन मुलुकहरुमा निर्यात गर्न हुँदै आएको छ ।
चिया उद्योगी पराजुलीले मुलुकमा आयात बढिरहेको अवस्थामा निर्यातजन्य कृषि उपज चिया उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेर सहुलियत प्रदान गर्न सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा चिया श्रमीक संघका अध्यक्ष दीपक तामाङले २६ दिनसम्म सडकमा सुतेर आन्दोलन गर्दा पनि सरकारले मजदुरका आवाज नसुनेको बताउँदै चियाको बजार राम्रो भएपनि सरकारी रणनीति नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । नेपालमा हुँदै आएको चियाखेतीमध्ये प्रदेश नं–१ मा ९९ प्रतिशत खेती हुँदै आएको बताउँदै तामाङले नेपालमा उत्पादित चियामध्ये ९० प्रतिशत बढी भारतसहित अन्य मुलुकहरुमा निर्यात हुँदै आएको जानकारी दिनुभयो ।
सूर्योदय टि. प्रोड्युसर एसोसिएसनका बुद्ध तामाङले चिया तथा कफि विकास बोर्डलाई चिया र कफि बेग्लाबेग्लै बोर्डको रुपमा विकसित गर्ने कार्यक्रममा मध्यस्थता गरिदिन नेता निधिसँग आग्रह गर्दै तामाङले चियाको नीति, नियम निर्माण, प्रवद्र्धन र बजारीकरणका लागि प्रदेश सरकार मातहत ल्याइनुपर्नेमा जोड दिनुभयो । संघीय संरचनामा सरकार गए पनि हाल स्थानीय तहले चिया क्षेत्रको कर असुली गरिरहेको छ भने यसको नियमन कुन तहमा रहने भन्ने एकीन नभएको चिया क्षेत्रका जानकारहरु बताउँछन् ।
यसैबीच साना चिया किसान संघका अध्यक्ष पूर्णवहादुर कार्कीले सरकार परिवर्तन हुनेवित्तिकै रणनीति परिवर्तन हुने अवस्था रहेसम्म चिया क्षेत्रको समस्या समाधान नहुने बताउँदै जुन सरकार आएपनि दृष्टिकोण परिवर्तन गर्न नसक्ने गरी दीर्घकालीन रणनीति तय गर्न आवश्यक रहेको बताउनुभयो ।
पूर्वी नेपालमा चिया प्रशोधनका लागि लगभग ३५ वटा उद्योग स्थापित छन् भने ६० हजारमा मजदुर यस क्षेत्रमा आश्रित छन् । उद्योगी, किसान र मजदुर गरी प्रदेश नं–१ का लगभग ३ लाख मानिस यसमा आश्रित रहेको पराजुलीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार चिया खेती बचाउन रणनीति आवश्यक

Most Popular

Recent Comments