Home समाचार उत्खननको पर्खाइमा चन्द्रगढ

उत्खननको पर्खाइमा चन्द्रगढ

मौर्यकालीन भग्नावशेष भएको अनुमान

रेजिना गौतम
चन्द्रगढ । विर्तामोड भद्रपुर सडकखण्ड अन्तरगत देउनिया खोला पूर्वतर्फबाट लगभग डेढ किलोमिटरको उत्तरमा रहेको चन्द्रगढ ऐतिहासिक धरोहर भएको जानकारहरु बताउँछन् । झण्डै २३/२४०० वर्ष पुरानो ऐतिहासिक धरोहरका रुपमा रहेको चन्द्रगढको वास्तविक तथ्य पत्ता लगाउनका लागि त्यहाँको उत्खनन् गर्नु जरुरी छ ।

वन समूहले संरक्षण गरी राखेको चन्द्रगढमा भेटिएका पुरातात्विक महत्वका माटोका भाँडा र तामाको दियो लगायत ।

भग्नावशेषका रुपमा रहेकोे मौर्यकालीन इतिहास बोकेको उक्त संरचनालाई स्थानीय वन समितिले संरक्षणको प्रयास शुरु गरेको छ । संरक्षण, संवद्र्धन र विकासका दृष्टिले संघ, प्रदेश र स्थानीय कुनै पनि सरकारको नजरमा पर्न नसक्दा देशभर पर्यटन वर्षको तामझाम चलिरहे पनि ऐतिहासिक महत्वको धरोहर ‘चन्द्रगढ’ भने उत्खनन र विकासको पर्खाइमा छ । यो क्षेत्र भद्रपुर नगरपालिका वार्ड नं–१० अन्तर्गत संघीय निर्वाचन क्षेत्र नं–१ मा पर्छ । पूरातात्विक सम्पदाभित्र पर्ने भन्दै चन्द्रगढको स्वामित्व स्थानीय तहको हुनुपर्ने दावी जनप्रतिनिधिको छ ।
आरके देखि राम कार्कीसम्म गुहार
वर्तमानमा चन्द्रगढी सामुदायिक बन समूहले संरक्षण गर्दै आएको छ । वनसमूहको संरक्षकत्वमा रहेको चन्द्रगढको ८.४३ क्षेत्रफल अलग्गै छुट्याएर वन समूहले वरीपरी तारले घेराबारा गरेको वन समूहका अध्यक्ष हिरा पोखरेलले बताए ।
पौराणिक कालमा विराटराजाको दरवार रहेको भनिएको किच्चकबधको उत्खनन्का लागि २०५४ सालमा आएको पुरातत्व विभागको टोलीले त्यहाँ भेटिएका माटाको मट्याङग्रा, दियो, तामाको दियो आदिका आधारमा मौर्यकालीन संरचना भएको जानकारी गराएको चन्द्रगढी सामुदायिक बन समूहका अध्यक्ष पोखरेलले जानकारी दिए ।
उक्त टोलीले त्यहाँ भेटिएका पुरातात्विक सामग्री संकलन गरेर लगेको बताइएको छ । त्यसअघि चन्द्रसेन, चन्द्र शम्शेरसंग जोडेर चन्द्रगढ अर्थात चन्द्रगढीको नाम रहेको ब्याख्या गरिदै आएको थियो । पुरातत्व विभागको भनाई उल्लेख गर्दै अध्यक्ष पोखरेलले भने–‘०५६ सालमा लगभग २३/२४ सय वर्ष पुरानो मौर्यकालीन सामग्री भएको जानकारी आयो ।’
ऐतिहासिक धरोहरको विकास र संरक्षण जरुरी भएपनि वनसमितिको मात्रै लगानी र पहलमा हुन नसक्ने र सरकारले नसुनेको पनि पोखरेलले बताए । उनले भने–‘संघ र प्रदेशले त हेरेनन्, स्थानीय सरकारबाट पनि उपेक्षित नै छ ।’
चन्द्रगढको संरक्षण, उत्खनन र विकासका लागि तत्कालीन पूर्वमन्त्री राधाकृष्ण (आरके) मैनालीदेखि, देवी ओझा हुँदै वर्तमानका सांसद राम कार्कीसम्म पुगेपनि केही नभएको वनसमिति अध्यक्ष पोखरेलले बताए । उनले भने–‘प्रयास धेरै गरियो, धेरै प्रचारवाजी गर्ने पक्षमा पनि म छैन, समग्रमा चन्द्रगढले गार्जेन नपाएको अवस्था छ ।’ अझै पनि आश्वासन आउने क्रम जारी रहेको जानकारी दिंदै पोखरेले भने–‘समकालीन मित्र योगेश भट्टराई जी पर्यटन मन्त्री हुनुहुन्छ, पर्यटन वर्षका हिसाबले आश्वासन प्राप्त भएको छ, केही हुन्छ कि भन्ने आशामा छौं ।’
आर्थिक वर्ष २०७५/७६ मा चन्द्रगढको संरक्षणका लागि डेढलाख बजेट विनियोजन गरेको भद्रपुर नगरपालिकाले चालु आवमा त्यसलाई कटौति गरेको छ, तर नगरले बनाएको नगर गीतमा भने चन्द्रगढलाई समेटेको पोखरेलले जानकारी दिए ।
घेरावारा गरेको क्षेत्रमा बाल उद्यान, साइन्स सिटी निर्माण, आसपासका वस्तीमा होमस्टे, तालतलैया निर्माण र ढुङ्गा सयरको व्यवस्था गर्ने, गहिरो पुरानो पोखरीमा जैविक विविधतालाई कायम राख्न मत्स्य पालन लगायतका भौतिक संरचना निर्माणको गुरुयोजना वन समितिले बनाएको छ । साथै पुरातात्विक अन्वेषण र संरक्षण गर्ने, गढी संग्रहालय स्थापना, प्राचीन कला अर्थात प्यागोडा शैलीमा कलात्मकता प्रदान गर्ने, भ्यूटावर निर्माण, युद्ध स्मारक बनाउने ता धर्मिक सहिष्णुताका साथै पर्यटक प्रवद्र्धनलाई जोड दिने योजना अघि सारेको छ । तर, त्यसका लागि आवश्यक बजेटको स्रोत नजुट्दा गुरुयोजनाको नमूना सार्वजनिक गरेको छ ।
राजनीतिक स्वार्थ
त्यसो त वर्तमानमा चन्द्रगढको संरक्षण नहुनुमा राजनीतिक स्वार्थपनि लुकेको हुनसक्ने स्थानीयको बुझाई छ । स्थानीय तह अन्तरगत भद्रपुर नगरपालिकाको वडा नं. ९ र १० मा पर्ने चन्द्रगढ संसदीय निर्वाचन क्षेत्रमा भने १ नम्बर क्षेत्रमा पर्छ । त्यहाँको भोटर्स संख्या पनि ७/८ हजार मात्र छ । एक स्थानीयले भने–‘तुलनात्मक रुपमा थोरै जनसंख्या रहेका वडापनि हुन्, सबैका आ–आफ्नै स्वार्थ होलान्, एउटा स्थानीयतहमा पर्छ, निर्वाचन क्षेत्र अर्कै छ, भोली को आउँछ भन्ने पनि होला ।’

ऐतिहासिक चन्द्रगढ देखाउँदै चन्द्रगढी सामुदायिक वन समूहकी सचिव


नगरले चासो दिएन
उक्त स्थानमा आँपका विरुवा रोपेको चन्द्रगढी सामुदायिक बन समूहकी सचिव सकुन्तला पोखरेलले जानकारी दिइन् । संरक्षणमा नगरपालिकाले चासो नदेखाउनुको कारणबारे आफू खासै जानकार नभएपनि कमै हेरेको अनुभूति भने भएको बताउँदै उनले भनिन्–‘अन्य ठाउँमा नगर÷गाउँको बजेट समेत वन समूहका लागि छुट्टिएको छ तर, हाम्रोमा यो क्षेत्रको विकास र संरक्षणका लागि पनि छैन ।’ वन समूहले पर्यटन वर्षलाई लक्षित गर्दै वनभोज खानेलाई निःशुल्क प्रवेशको समेत व्यवस्था गरेको जानकारी दिइन् ।
मौर्यकालीन सम्पदाको : उत्खनन जरुरी
चन्द्रगढलाई चन्द्रसेन, चन्द्र शम्शेर र कसैले चन्द्रगढीसंग जोडेर व्याख्या गर्ने गरेको भएपनि इतिहास त्यो भन्दा पुरानो रहेको इतिहासबारे जानकार चिन्तामणी दाहालले बताए । उनले भने– चन्द्रगढको संरक्षण, उत्खनन र विकास अत्यन्त जरुरी छ, २३/२४ सय वर्ष भन्दा पुरानो धरोहरको संरक्षणमा राज्यको नजर पर्नुपर्छ ।’ पुरातत्व विभागको नजरमा परिसकेको बताउँदै दाहालले भने–‘पुरातत्व विभागको नजरमा परिसकेको छ, अब विभागले स्वामित्वमा लिएर उत्खनन गर्न र त्यसको ऐतिहासिकता पत्ता लगाउन जरुरी छ ।’ त्यहाँ भेटिएका माटाका मट्याङ्ग्रा, त्यसको प्रारुप, आदिका आधारमा मौर्यकालीन भएको अनुमान गर्न सकिने भएपनि कति शताब्दी अघिको हो भन्ने प्रमाणित भइनसकेको दाहालले बताए । २०५४ सालमा सो क्षेत्रमा भेटिएको विशेष प्रकारको माटोको किलालाई आधार मानेर विभागले बौद्धकालीन सम्पदाभन्दा पछाडिको भएको अनुमान गरेको दाहालले बताए ।


डिमार्केशन बाहिर वन समूह

चन्द्रगढ संरक्षण संवद्र्धन, विकास र उत्खननका बारेमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सामुदायिक वनले क्षेत्राधिकार बाहिर गएर चन्द्रगढको संरक्षण गरेको बताए । सामुदायिक वन क्षेत्र अन्तरगत चन्द्रगढ नपर्ने भएपनि वन समूहले विभिन्न संरचना बनाएको बताउँदै श्रेष्ठले भने–‘वनको डिमार्केसन अनुसार त्यो वन क्षेत्रमा नपर्ने हो ।’ रुख विरुवा नभएको ठाउँ भएका कारण चन्द्रगढ वन क्षेत्रमा नपर्ने बताउँदै श्रेष्ठले भने–बालउद्यान लगायत विभिन्न भौतिक संरचना बनाउने योजना रहेछ वन समूहले पर्या–पर्यटनको काम गर्ने हो भने वन क्षेत्रभित्र गर्नुपर्छ, त्यहाँ होइन ।’
चन्द्रगढको अभिभावकत्व नगरपालिकाले नै लिने बताए । सो क्षेत्रको संरक्षण र विकासका लागि आफ्नै पहलमा ठूलै दातृ संस्थासंग कुरा भइरहेको श्रेष्ठले जानकारी दिए । उत्खननका सन्दर्भमा भने पुरातत्व विभागले महत्व नदिएको बताउँदै उनले भने–‘केही सामग्री लिएर गएको हो, पुरातत्व विभागले पनि महत्वपूर्ण ठानेको भए पहिले नै उत्खनन् गरिसक्थयो ।’ तर, पूरातत्व विभागले लगेका सामग्री संकलनका क्रममा हातले छोएका कारण खास प्रमाण पत्ता लाग्न नसकेको जानकारहरुको बुझाई छ ।
विहे गरेकी छोरी पारपाचुके नभइ फेरी अर्कोतिर विहे गर्दिन्छु भन्नु जस्तै हो
यता जिल्ला बन डिभिजन कार्यालय झापाका प्रमुख विष्णु भण्डारीले चन्द्रगढसहितको ४ सय ३० हेक्टर बन क्षेत्र चन्द्रगढी सामुदायिक बन समूहलाई हस्तान्तरण गरिएको जानकारी दिए । ‘वन आसपासमा रहेको ऐलानी, पर्ती जमिन सरकारी नै हुने स्पष्ट पार्दै’–उनले भने–‘कानून बमोजिम नै वन समूहलाई हस्तान्तरण गरिएको हो ।’ पुरातत्व विभाग अन्तर्गत स्थानीय तहले दावी गरे पनि अब स्थानीय तहको स्वामित्वमा ल्याउन नेपाल सरकारको कानून नै संशोधन हुनुपर्छ । ‘प्रक्रिया पुर्याएर वनलाई हस्तान्तरण गरेको स्वामित्व फिर्ता ल्याउँछु भन्नु विवाह गरेकी छोरी पारपाचुके नभइ फिर्ता ल्याएर अर्कासंग विहे गरिदिन्छु भन्नु जस्तै हो’ भण्डारीले प्रतिप्रश्न गर्दै भने– यो कति संभव छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार उत्खननको पर्खाइमा चन्द्रगढ

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments