Home समाचार प्रश्नले जोगियो ज्यान

प्रश्नले जोगियो ज्यान

झापा ११ पुस । मोडलिङ पेशा भर्खरै सुरुवात गरेकी काठमाडौंको सीतापाइला घर भएकी २१ वर्षीया एक युवतीलाई आउजाउ गर्ने हवाई टिकटसहित ५० हजारमा काम गर्नुपर्ने अफर आयो । म्युजिक भिडियो र फोटो सेसन मात्रै गराएकी ती युवतीको उक्त प्रस्तावले मन तान्यो । माडलिङ गर्ने भन्दै तान्त्रिक पूजा गरेर बलि चढाउन लगिएकी युवतीले आफूलाई सोधिएका प्रश्न शंकास्पद लागेसंगै प्रहरी समक्ष उजुरी गरेपछि उनको ज्यान जोगिएको हो ।
मोडलिङका लागि ६ फुटको हाइट चाहिएको भन्दै उनलाई प्रस्ताव गरेकी प्रेममाया तामाङ हाइट नापेर लगिन । अनुहार र हाइट नापेर लगेकी तामाङले ति युवतीलाई मोडलिङसंग सम्बन्धित भन्दा फरक प्रश्न सोध्न थालेपछि भने युवती झस्किन थालिन ।
तामाङले युवतीलाई मासु र रक्सी खान्छौ कि नाइँ, अप्रेशन गरेको छ कि छैन, मेन्सुरेसन भएको छ कि छैन जस्ता प्रश्न सोधेकी थिइन । तामाङका प्रश्नै प्रश्नले झस्किएकी युवतीलाई अर्को प्रस्ताव आयो ‘सुटिङका लागि भारतको सीमानामा जानुपर्छ ।’ अघिदेखिका शंकास्पद प्रश्न र ‘सुटिङका लागि भारतको सीमानामा जानुपर्ने अन्तिमको प्रस्तावले उनी बाँच्न सफल भइन् । आफूलाई शंका लागेपछि युवतीले प्रहरीलाई मौखिक जानकारी दिइन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानबाट आर्थिक लाभमा परेर ६ जनाले नेपाली युवतीलाई बलि चढाउन खोजेको देखिएको छ । प्रेममाया र कृष्ण तामाङलाई युवती मिलाइदिए वापत ५ लाख रुपैयाँ दिने आश्वसन दिइएको अनुसन्धानबाट खुलेको सुवेदीले बताए । त्यसबाहेक घटनाको मुख्य योजनाकार दिलीप पोद्दारलगायत अन्यलाई दिने रकम भने खुलेको छैन।
प्रहरी अपरेशन
युवतीको बयानले प्रहरीको शंका बढ्यो । भारततिर जानुपर्ने, पूजा पाठ र महिनावारीबारे पनि सोधेको भनेपछि सुरुमा प्रहरीलाई ट्रान्स पार्टीका लागि लिन खोजिएको हुनसक्ने शंका लागेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले बताए । विना प्रमाण शंकाकै भरमा पक्राऊ गर्नु भन्दा प्रमाणसहित पक्राउ गर्नु राम्रो हुने देखेपछि काठमाडौं प्रहरीले युवतिको साथमा गएर गोप्य अपरेशन चलाउने निर्णय गर्यो ।
नुवाकोटका कृष्ण तामाङले युवतीलाई आइतवार विराटनगर आउन भन्दै हवाई टिकट र २६ हजार रुपैयाँ दिए । तर प्रहरीसँग समन्वय भइरहेकाले बहाना बनाएर उनी त्यो दिन उडिनन् ।
सोमबार १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दाङकी दिलकुमारी बुढासँगै विराटनगर गइन् । प्रहरीले टोली पनि त्यही विमानबाट विराटनगर पुग्यो। विराटनगर विमानस्थलमा युवतीलाई लिन नवलपरासीका कृष्ण तामाङ र सप्तरीका उमेश शाह पुगिसकेका थिए ।
विमानस्थलबाट ती युवतीलाई जलजला चोकको कालिमन्दिर धर्मशाला लगियो, जहाँ कोठा नं. २०५ र २०६ बुक गरिएको थियो ।
त्यहाँ लगेर कृष्ण र उमेशको समूहले पुनः उचाइ, महिनावारी भए÷नभएको जानकारी, लिनुका साथै घाउचोटको जाँच गर्न थल्यो । युवतीको बयान बमोजिम विराटनगरमा पनि उस्तै प्रश्न सोधिएपछि अपरेशनमा खटिएका अधिकृतहरु पनि झस्किए । त्यसपछि कृष्ण र शाहसहितको समूह बाहिरियो ।
बाहिर गएका बेला उनीहरुले अपरिचित व्यक्तिसँग तान्त्रिक पूजाका लागि सीमापारी लैजाने भनेको अनुसन्धानमा संलग्न अधिकृतले सुने । कुराकानी गर्दै गर्दा सप्तरीका उमेश माझी, सुनसरीका रञ्जितकुमार चौधरी र मोरङका दिलिप पोद्दार पनि सँगै थिए ।
उनीहरुले पूजा सामग्री पनि खरिद गरे । युवतीलाई कपडा किनाउने बहानामा विराटनगरपारी जोगवनी पुर्याए । त्यहाँबाट एक घरमा राखेर तान्त्रिक पूजा गराउन लाग्दा उनलाई नेपाली अनुसन्धान अधिकृतको टोलीले पक्राउ गर्यो । पीडित र अभियुक्तलाई लिएर टोली काठमाडौं फर्कियो र काठमाडौंमा रहेकी प्रेममायालाई पनि सितापाइलाबाट पक्राउ गर्यो ।
पक्राउ पर्नेमा नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४० वर्षीय उमेश शाह र ३५ वर्षीय उमेश माझी, दाङका २४ वर्षीय दिलकुमारी बुढामगर, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङका २३ वर्षीय प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षीय रञ्जितकुमार चौधरी रहेका छन् । मोडलिङ गर्ने भन्दै तान्त्रिक पूजा गरेर बलि चलाउन खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राऊ गरेको हो ।
वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पीडित युवतीको उजूरीकै आधारमा मानव बेचबिखन कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । पीडित युवतीले पुस ४ गते प्रहरीलाई जानकारी गराएसँगै प्रहरी पीडितको पिछा गर्दै विराटनगर पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रश्नले जोगियो ज्यान

Most Popular

Recent Comments