Home समाचार ब्युटिपार्लर व्यवसायमा शिकारु हावी

ब्युटिपार्लर व्यवसायमा शिकारु हावी

श्रृङ्गार संवेदनशीलतामा चिन्ता

रेजिना गौतम
झापा/
बेहुली भन्ने वित्तिकै राम्ररी सिंगारिएकी महिला भन्ने बुझिन्छ । छोरी मान्छेले ओठमा लिपिस्टिक, आँखामा गाजल लगाएर हिंड्दा नक्कली भनेर संज्ञा दिने हाम्रो समाजमा त्यो बेला पनि बेहुली हुँदा सिंगारिनु पर्छ भन्ने मान्यता थियो । जुन बेला ओठमा लिपिष्टिक, आँखामा गाजल र अलि राम्रा लुगा महिलाले लगाएको समाजले पचाउँदैनथ्यो । उक्त मान्यता अहिले अझ बढेर गएको छ ।
त्यतिबेलाको भनाइमा नक्कल पार्ने कार्यप्रति आकर्षण बढ्दै गएसंगै व्यवसायिक रुप लिंदा व्युटि पार्लरमा परिणत भएको छ । विगत दशवर्ष यता व्यवसायिक रुपमा राम्रो बजार बनाउन सफल भएको व्युटिपार्लर पेशाप्रतिको आकर्षण बढ्दै जाँदा आकर्षणले विकृति पनि निम्त्याएको पेशामा संलग्नहरुको बुझाई छ ।


भारतको कलकत्तामा ब्युटिसियन सम्बन्धी कोर्ष गरेर २० वर्ष अघि झापाको विर्तामोडमा ब्युटिपार्लरलाई व्यवसायिक रुपमा सञ्चालन गरेकी नानु अधिकारी अहिले आफ्नै घरमा पार्लरसम्बन्धी काम गर्दै आएकी छन् । पेशाबाट रिटायर्ड भएपनि व्यवसाय सञ्चालन गर्दाका चिनजानका मान्छे र आफन्त घरैमा आउन थालेपछि बसि–बियालोका रुपमा मात्र पेशामा रहेको उनले बताइन् ।
रिटायर्ड जीवनमा वास्तविकता बोलेपनि अरुको विरोध गरेजस्तो हुने उल्लेख गर्दै सत्य कुरा भन्न पनि डराउनुपर्ने अवस्था रहेको उनले बताइन् । उनले भनिन्–‘फेसनको रुपमा खोलिएका छन्, इन्टरनल नलेज छैन, त्यत्तिकै चलाइरहेका छन्, कुनै पार्लर सम्बन्धी कुनै समस्या आए, सल्लाह सुझाव दिनसक्ने क्षमता छैन, के भन्नु राजनीति जस्तै भएको छ पार्लर ।’
सामान्य केही दिन पार्लर वा सरकारी लगानीमा सञ्चालन भएका तालिम लिएपछि पार्लर खोली हाल्ने प्रबृत्ति बढेकाले व्यवसायमा गुणस्तर खस्किएको भन्दै अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् । सौन्दर्य कलाकर्मी संघमा आवद्ध अधिकारी भन्छिन्–‘आकर्षक डेकोरेसनले क्षमतामा निखार ल्याउँदैन, दक्षता नै छैन भने सेवामा गुणस्तर कायम कसरी रहन्छ, यसले व्यवसायीलाई नै अप्ठ्यारोमा पार्छ ।’ उनका जानकारहरुका अनुसार विर्तामोड क्षेत्रमा सञ्चालित पार्लरमध्ये एकभागमा मात्र दक्ष सौन्दर्य व्यवसायी छन् ।
बाहिरी स्टान्टर्ड म्यानेज गरेपनि भित्री आवरण त्यस्तो छैन, राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी केन्द्रीय सदस्य धनु कन्दङ्वाले भनिन्–‘दक्षता, क्षमता र योग्यता भएका कमैमात्र छन्, हाईफाईका भरमामात्र चलेका छन् ।’ साँचो बोल्दा अरुको इष्र्या गरेजस्तो उनले थपिन्–सत्य बोल्न डराउनु पर्छ, समस्यै समस्या छ, तर कसलाई भन्नु, के भन्नु ?’
सुन्दर हुने रहर सबैमा हुने र सोही कारण पार्लरमा आकर्षण बढेको व्यवसायमा संलग्नको अनुभव छ । क्षणिक समय सिकेर राम्ररी नजानी जबरजस्ती पार्लर चलाउन खोज्नेको भीड बढेसंगै चुनौति पनि देखिएको कन्दङवाको भनाई छ । सरकारी लगानीमा केही दिन तालिम सिकेकै भरमा पार्लर खोल्ने र प्रशिक्षक बन्ने कार्यले पेशाप्रतिको गुणस्तरमा ह्रास आएको लामो समयदेखि व्यवसायमा संलग्नको बुझाई छ ।

महिलाले घरको काम भ्याएर स्वलगानीमा आत्मनिर्भर र रोजगार बनाउने माध्यम हो केन्द्रीय सदस्य कन्दङ्वाले भनिन्–‘सरकारले तालिमका नाममा खर्च गरेपनि गुणस्तर ल्याउन नसक्दा समस्या भएको छ ।’ अनुहार र कपालको सिंगार गरिने मान्छेको सौन्दर्यसंग जोडिएको कुरालाई हल्का रुपमा लिन नहुने कन्दङ्वाको धारणा छ ।
सुन्दरताले मान्छेमा आत्मविश्वास बढाउने र ऊर्जा पैदा गर्ने भएका कारण पनि महिलाको आकर्षण ब्युटिपार्लरप्रति बढ्दो छ ।
लामो समयसम्म विन्जु ब्युटिपार्लर सञ्चालन गरेर रिटायर्ड लाइफ विताइरहेकी रञ्जु प्याकुरेल ब्युटिसियन हुनका लागि लेवल–टु गर्नुपर्ने बताउछिन् । विर्तामोडमा त्यो लेवलका व्युटिसियन कमैमात्र भएको उनले बताइन् । उनले भनिन्–‘ब्युटिसियन हुन लेवल–टु हुुनुपर्छ, हाल विर्तामोडमा अधिकतम एसिष्टेन्ट ब्युटिसियन (लेवल–१) मात्र छन् ।
विर्तामोडमा मात्रै लगभग २ सय व्यवसायी रहेको स्वरोजगारमुलक व्यवसायमा देशभरमा ४० हजार व्यवसायिक रुपमा सञ्चालनमा छन् भने प्रत्येक पार्लरले कम्तिमा २ देखि ५ जनासम्मलाई रोजगारी समेत सिर्जना गरेका छन् ।
सुन्दर हुँदाका फाइदा र सौन्दर्य आवश्यकताबारे समाजमा जानकार हुँदै गएसंगै ब्युटिपार्लरप्रतिको आकर्षण बढ्दो छ, तर घरैपिच्छे जस्तो खुलेको पार्लरमा क्षमता पहिचान कठिन भएपछि सम्पन्न घरानाका महिलाहरु सौन्दर्य निखारकै लागि समेत सिलिगुढीसम्म पुग्ने गरेको तथ्य खुलेको छ । तसर्थ व्यवसायिक शुद्धता र गुणस्तरका लागि सामुहिक निकास खोज्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार ब्युटिपार्लर व्यवसायमा शिकारु हावी

Most Popular

Recent Comments