Home मनोरञ्जन बिर्तामोडमा ‘तिलस्मी’ को चर्चा

बिर्तामोडमा ‘तिलस्मी’ को चर्चा

बिर्तामोड ६ कात्तिक । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका बीच गीतकार तथा साहित्यकार डिआरको उपन्यास ‘तिलस्मी’ को चर्चा परिचर्चा गरिएको छ ।
साहित्यिक पत्रकार संघ नेपालको आयोजनामा बिर्तामोडस्थित होटल हिकोला हेरिटेजमा भएको कार्यक्रममा पहिलो संस्करण प्रकाशन भएको ५ महिनापछि नै दोस्रो संस्करण प्रकाशन भएको उपन्यास ‘तिलस्मी’ को चर्चा परिचर्चा गरिएको हो ।
साहित्यिक पत्रकार संघ नेपालका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले उपन्यास ‘तिलस्मी’ को चर्चा तथा समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष घिमिरेले गीतकार तथा साहित्यकार डिआरले उपन्यास ‘तिलस्मी’ लेखेर पाठकलाई सामाजिक, राजनीतिक र नैतिक सन्देश दिएको बताउनु भयो । उहाँले पूर्वी समाजको कथावस्तु समेटिएकाले उपन्यास ‘तिलस्मी’ ले समाजको वास्तविक चित्रण गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार पुण्यप्रसाद खरेल,प्रगतिशिल लेखक संघ झापाका अध्यक्ष राजेन्द्रप्रसाद संग्रौला लगायतले उपन्यास ‘तिलस्मी’ सामाजिक र यथार्थपरक उपन्यास भएको बताए ।
कार्यक्रममा गीतकार तथा साहित्यकार डिआरले उपन्यास ‘तिलस्मी’को कथावस्तु, पात्र र चरित्रका कारण बजारमा आइरहेका अन्य उपन्यासहरु भन्दा फरक भएकाले पाठकले रुचाएको बताउनु भयो ।
उपन्यास ‘तिलस्मी’ युवा केन्द्रीत उपन्यास भएको र यसमा एउटा युवाले आफ्नो सफलताका लागि हात पार्ने मेहनतको कथा समेटिएको उनले बताए ।
उपन्यास ‘तिलस्मी’ मा सम्भ्रान्त र अति विपन्न वर्ग बीचको कथा समेटिएको बताउँदै उनले राजनैतिक र सामाजिक प्रयासबाट मेटाउन नसकिएको सम्भ्रान्त र अति विपन्न वर्ग बीचको पर्खाल एउटा बालकको सकारात्मक हठले तोड्न सफल हुने बताए । लेखक राईले आफुले धेरै मेहनत गरेर लेखेको उपन्यास ‘तिलस्मी’ ले वर्गीय खाडल, जातीय विभेद र त्यस विरुद्धको विद्रोहको भावना अभिब्यक्त गरिएको र उपन्यास ‘तिलस्मी’ ले नयाँ पुस्ताको लागि सकारात्मक सोचको विकास हुने बताए । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ ।
गीतकारको छवी बनाएका डीआरको यो आख्यान पहिलो कृति भए पनि उनले हालसम्म ५ वटा गीति संग्रह सार्वजनिक गरेका छन् भने चारवटा पुस्तक प्रकासित गरेका छन् । इलाम घर भएका डी.आर.को वास्तविक नाम दिनेशकुमार राई हो । उनी आफनो डी.आर. भन्ने उपनामबाट परिचित छन् । कार्यक्रममा साहित्य चौतारी झापाका संरक्षक संस्थापक देवीभक्त श्रेष्ठ , साहित्यकारहरु जयप्रसाद आचार्य, कृष्णप्रकाश सुमार्गी, लीला अनमोल, भगवति ढुङ्गेल, दुष्यन्त भट्टराई , तुलसी भट्टराई , मातृकाप्रसाद संग्रौला, नारीकल्याण समाज झापाकी अध्यक्ष प्रेमा भट्टराई , पूर्व प्रहरी जनक खड्का लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन बिर्तामोडमा ‘तिलस्मी’ को चर्चा

Most Popular

Recent Comments