Home समाचार रमाइलो तिहार, फूलको मौसम

रमाइलो तिहार, फूलको मौसम

विर्तामोड । कहिल्यै नओइलाउने फूलको रुपमा चिनिन्छ– मखमली । यही मखमली, दुवो र सयपत्रीको फूल प्रयोग हुने मुख्य सिजन हो–तिहार । मुख्य गरी कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले सप्तरङ्गी टीकासहित मखमलीको माला लगाइदिने चलन छ । दिदीबहिनीले दाजुभाईको दीर्घायुको कामनासहित मनाइने दीपावली पर्व नेपालीहरुको दोस्रो महान पर्व हो ।
पाँचदिनसम्म मनाइने यस पर्वमा फूलको अत्यधिक खपत हुन्छ । कात्तिक कृष्ण त्रयोदशीका दिन सन्देशवाहकको रुपमा कागको, चतुर्दशीका दिन घरको रखवारी गर्ने इमानी प्राणीको रुपमा कुकुर र औंषीका दिन विहान लक्ष्मीको रुपमा गाईको साँझ महालक्ष्मीको पूजा गरिन्छ । यसैगरी कात्तिक शुक्ल प्रतिप्रदाका दिन गोवद्र्धन पर्वत तथा किसानको सहयोगी प्राणीका रुपमा गोरुको पूजा गर्ने चलन छ । नेवार समुदायले यसदिन म्ह पूजा (आफ्नै शरीरको) पूजा गर्ने प्रचलन छ । भने शुक्ल द्वितीयाका दिन दिदी बहिनीले दाजुभाईको पूजा गरी सप्तरङ्गी टीका लगाई दीर्घायुको कामना गर्ने चलन छ ।
यमपञ्चकका नामले चिनिने तिहारको पौराणिक तथा सामाजिक महत्व वेग्लै छ । यमराज र उनकी बहिनी यमूनाको भेटघाटसँग यसको महत्व जोडिन्छ । यमराजले यमुनाको घरमा गएर आतिथ्य ग्रहण गरेको र यही वेलामा घर–घरका मूलद्वारमा दीपदान गर्नाले यमराज खुशी हुने र अल्पायु नहुने जनविश्वास पनि छ ।
उज्यालो पर्वको रुपमा चिनिने यस पर्वमा घर–घरमा झिलीमिली बत्ती बालेर विभिन्न प्रजातिका फूलले घर–घरका झ्याल–ढोका सजाउने प्रचलन पनि छ । मुख्य गरी तिहारमै प्रयोग गर्ने फूलको ब्यापारबाट लगभग आधाबर्षसम्म घरको गर्जो टार्ने समूह छ–भक्तपुरको ताथली र गुण्डुमा । मखमली र सयपत्री फूल उत्पादनकै कारण बर्षौदेखि चर्चित उक्त गाउँका स्थानीयहरु चारदशकदेखि ब्यावसायिक फूल खेती गर्दै आएका छन् ।
बजारमा मखमली वा सयपत्री फूलको माला किन्नुपरे त्यसको दाम ८० रुपैयाँदेखि एकसय २०÷३० रुपैयाँ पर्छ । फूल ब्यापारमा पनि विचौलियाको विगविगी छ । किसानले २० रुपैयामा बेचेको प्रतिमाला बजारमा त्यति महङ्गोमा खरिदविक्री हुँदा प्रश्न उठ्छ– कति तहसम्मका ब्यापारीले श्रम नै नगरी कति मुनाफा कमाउँछन् ??
ताथली र गुण्डुमा फुलेको फूलको मालाले उपत्यकाको माग त धानेको छ नै, विदेशसम्म पनि निर्यात हुने गरेको छ । सम्पूर्ण दिदीबहिनीले दाजु भाइको र दाजुभाइले दिदीबहिनीको दीर्घायुको प्रतिक मानेर लगाइदिने फूल विगत बर्षमा जस्तो यसबर्ष भने नफुलेको ब्यवसायी बताउँछन् । असोजको तेस्रो सातासम्म निरन्तर परेको पानीका कारण विगतमा जस्तो फूलले उत्पादन दिन नसकेको ताथलीका किसान मेनुका नगरकोटी बताउँछिन ।
यता झापामा पनि सामुहिक रुपमा महिला उद्यमी संघले फूल खेती गर्दै आएका छन् । विगत केही बर्षयता गर्दै आएको सामुहिक फूल खेतीलाई झापाली महिला उद्यमीहरुले यसबर्ष पनि निरन्तरता दिएका हुन् । महिला उद्यमी संघमा आबद्ध ६ जना महिलाहरुले विर्तामोड नगरपालिका–४ डेढ विगाहमा फूल खेती गरेका छन् । तीनलाख लगानीमा गरिएको फूल खेतीबाट लगभग ६ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको ब्यवसायी सुष्मा पौडेलले बताइन् । उनले भनिन्–‘सामुहिक रुपमा खेती गर्दा हुने रहेछ भन्ने उत्प्रेरणा जागेको छ, हामीले फूल खेती थालेपछि झापाका अरु क्षेत्रमा पनि ब्यावसायिक फूल खेती हुन थालेको छ ।’ उनले विर्तामोड र कनकाई नगरपालिकाका किसानहरुले आफूहरुबाटै २ लाख मूल्य बराबरको फूलका विरुवा किनेर लगेको जानकारी दिइन् ।
झापामा मानव स्वास्थ्यका लागि घातक मानिने फर्मालीन नामक विषादी हालेर भारतको कलकत्तालगायतका स्थानदेखि फूल आयात हुँदै आएको छ । उक्त फर्मालीनको प्रयोगले फूल लामो समयसम्म नओइलाउने भए पनि मानव स्वास्थ्यका लागि घातक मानिन्छ । उक्त माला यहाँको तुलनामा सस्तो पाइदा त्यसले गर्ने असरबारे थाहा नै नपाएका उपभोक्ताहरु ठगिने गरेका छन् । ग्रामीण तहमा आफ्नो घरायसी प्रयोजनका लागि थोर–थोरै फूल उत्पादन भए पनि शहरी क्षेत्रमा भने फूलको माला किनवेच हुने गरेको छ । तिहार मात्रै नभएर हरेक सभा–समारोहमा समेत फूलको सट्टा खादा प्रयोग हुँदा ब्यावसायिक प्रयोजनका लागि लगाइएको फूल खेती संकटमा परेको किसानहरु बताउँछन् । झापामै उत्पादन गरेको फूलको माला प्रतिगोटा हाल ५५ रुपैयाँमा विक्री भइरहेको सुष्माले जानकारी दिइन् । उनका अनुसार तिहारमा मात्रै भन्दा पनि विभिन्न सामाजिक तथा सहकारी संघसंस्था, विवाह, इन्गेजमेन्ट, पुराण आदि कार्यमा प्रयोगका लागि माला विक्री हुने गरेको छ ।
तर पछिल्लो समय घर–घरमा फूलको मालाभन्दा प्लाष्टिकबाट बनेका साजसज्जाका सामग्रीको प्रयोग बढेको छ । वातावरणीय सन्तुलन तथा मानव स्वास्थ्यका दृष्टिले फूलको प्रयोग उपयुक्त मानिने जानकारहरु बताउँछन् । प्लाष्टिकजन्य वस्तु तथा विद्युतीय सामग्रीको प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक र जोखिमयुक्त पनि छन् । तिहारको सामाजिक तथा वैज्ञानिक महत्व वेग्लै छ । मुख्य गरी कृषि प्रधान देश नेपालमा अन्न भित्र्याउने समय नजिकिन्छ–तिहारसँगै । सम्पत्तिको अधिठास्त्री मानिने लक्ष्मीको पूजा गरेर घर–घरमा अन्न आओस् भन्ने कामना पनि गरिन्छ । त्यसो त सूचना वाहकका रुपमा काग, घरको राम्रो रखवारी गर्ने पशुका रुपमा कुकुर, मातृत्व प्रदान गर्ने तथा शरीरमा तेत्तीसकोटी देवताको बास हुने माताका रुपमा गाई, धनधान्यकी देवी महालक्ष्मी, किसानको सहयोगी प्राणी गोरुको पूजा पनि मानवका सहयोगीका रुपमा नै गरिन्छ । दाजुभाइ–दिदीबहिनीबीचको आपसी प्रेम र सद्भाव दर्साउन दाजु–भाइको पूजा यस चाडका मुख्य विशेषता हुन् । वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि वातावरणीय सन्तुलनमा पशुपंक्षीको भूमिका महत्वपूर्ण हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार रमाइलो तिहार, फूलको मौसम

Most Popular

Recent Comments