Home महिला ‘प्रजातन्त्रमा नेताले मस्ती गरे, जनताले के पाए ?’

‘प्रजातन्त्रमा नेताले मस्ती गरे, जनताले के पाए ?’

अग्रज महिला नेतृ हर्षकुमारीको प्रश्न–

इन्दु पूर्वेली /रेजिना गौतम
‘ए मलाई सम्झिएकै छौ, हामीले लडेर प्रजातन्त्र ल्याएको’–झापाको सदरमुकाम चन्द्रगढी बजारबाट उत्तरपट्टि चारआली रोडमा टेम्पो र ट्याक्सी स्टेण्ड छ, ट्याक्सी स्टेण्डकै पश्चिमपट्टी वरिपरी ठूल–ठूला घर छन्, तिनै घरको बीचमा दुईवटा सटर भएको टिनले छाएको सानो झुप्रो छ । त्यही झुप्रोका अगाडि प्राय कुर्सीमा बसिरहन्छिन्– प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा हर्षकुमारी थपलिया ।
उनै हर्षकुमारी थपलियाले हामी पुग्नेवित्तिकै परिचित जस्तो शाहसिक आवाजमा ‘जयनेपाल’ को सम्बोधन सुहाउँदो हात उठाएर बुलन्द आवाज निकालिन् र भनिन्–‘हामीले लडेर प्रजातन्त्र ल्याएको ।’ ८४ बर्षीया थपलियाको उमेरकै कारण हुनुपर्छ,–बेलाबेलामै बोलेको विर्सने र दोहो¥याइरहने (अल्जाइमरजस्तै) समस्या रहेछ।’ उनले पुनः थपिन्–‘जय नेपाल भनेको पहिला नेपालको जय, मातृभूमिको जय भनेको, मातृभूमिको जय भए मात्रै नेपालीको जय हुन्छ ।’ उनले पुनः मुठ्ठि बाँधिन् र भनिन–‘यस्तो मुठ्ठीले कहाँ नेपालको जय हुन्छ, माओवादीको सम्बोधन रे ।, त्यही समय एकजना ब्यक्ति लालसलाम भन्दै आइपुगे । उनी जुरुक्कै उठिन र जाइ लागिन्–‘यस्तो मुठ्ठी बाँधेर नेपालको जय हुन्छ ?’ विगतको इतिहास चाहिं ताजै जस्तो । तर वर्तमानका कुरा छिनछिनमा विर्सिरहने समस्या रहेछ उनमा । कुराकानीका क्रममा बिचबिचमा उनले सोधिरहिन्–‘तिमीहरु कहाँबाट आएका रे, परिचय चाहियो नि ।’ हामीले पनि दोहोर्याइरह्यौं–‘जनआन्दोलन साप्ताहिक पत्रिका र जनआन्दोलन.कम डिजिटल पत्रिकाबाट । उनले थपिन्–‘ए हामीले पनि उहिल्यै आन्दोलनका क्रममा साप्ताहिक सन्देश खोलेको ।’


वि.सं १९९३ सालमा तेह्रथुम जिल्लाको ह्वाकुमा जन्मिएकी उनी लगभग ७ बर्षकै उमेरदेखि अरुका अधिकारका बारे बोल्थिन् रे । ‘त्यतिवेला छोरी पढाउने चलन थिएन, मेरा बुबा रणबहादुर डाँगीले मलाइ घरमै शिक्षक राखेर पढाउनुभएको, मलाई पढाएकै कारण उहाँ पक्राऊ पर्नुभयो, लगभग २ महिना बुवालाई जेलमा राखियो । त्यसवेला कपाली तमसुक लेख्न सिकाउँथे र अक्षर चिनाउँथे।
‘म कसैसँग डराउदिनथे’ उनले भनिन् । २००७ सालअघि नेपालको राणाविरोधी आन्दोलनमा अलिअलि राजनीति सिक्दै गरेकी हर्षकुमारी २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गर्दा भने परिपक्व भइसकेकी थिइन् । लगभग २३ बर्षमा लागेकी उनी त्यससमय निरंकुशताविरुद्ध डोकाबाट माइकिङ गर्दै धेरै पटक धेरै स्थानमा हिँडिन् ।
त्यसक्रममा तत्कालीन प्रशासनबाट धेरै पटक समातिनुप¥यो । ‘एकदुई दिन जेलमा राख्दै छाड्दै गथ्र्यो’– उनले सम्झिइन्–‘म कसैसँग डराउदिनथे, त्यसवेला बद्रीवहादुर राणा धनकुटाको बडाहाकिम थियो । बोली चाहिं सारै मिठो, ठूलो टाउको भएको छुच्चो मान्छे, साँच्चि त्यो मर्यो कि छ । ऊ बारम्बार सोधिरहन्थ्यो– ए हर्षकुमारी तिमीले एक्लै लडेर प्रजातन्त्र ल्याउँछ्यौं ? एक्लै लडेर के गछ्र्यौ छाडिदेऊ यो आन्दोलन भनिरहन्थ्यो ।’ तर म मा जोश, जाँगर थियो, जनताले बास पाउनुपर्छ, जनताले दुईछाक खान पाउनुपर्छ भन्ने लाग्थ्यो म पनि ल्याउँछु भन्थे, मुखमुखै बोल्थें।’
उनले आन्दोलनको क्रममा आफू पक्राऊ परेको प्रसंग सम्झदै भनिन् – म ताप्लेजुंगको दोखुमा भाषण गर्दै थिएँ, अर्कोपटक धनकुटामा थिएँ । यहाँ आएर पनि ऊ त्यहिं अगाडि जेल थियो, उनले आफ्ना घर अगाडि सङ्केत गर्दै भनिन्– त्यसवेला मिना प्रसाई, विणा प्रसाईं, बाटे, सार्के भन्ने लिम्बुनी साथीहरु थिए । २००७ साल पुस ७ गते धनकुटाको टुँडीखेलबाट पक्राउ परेकी उनलाई त्यसपटक सबैभन्दा लामो समय जेलमा राख्यो रे प्रशासनले । ‘अरुबेला दुईचारदिन राखेर छोड्थ्यो, त्यसपटक भने एकमहिना १८ दिन जेलमा राख्यो । त्यहाँ पनि विद्रोह बोलिरह्यौं’ उनले सम्झिइन्–‘यो सार्कीले डोली बोक्दा लगाउनेजस्तो लुगा लाउनेलाई कहाँ पुलिस मान्छौं हामी, हामीलाई हात हाल त ढुंगाले कुट्छौं भन्थ्यौ’ं, पुलिसले कहिल्यै यातना नदिएको उनले सुनाइन् । ‘शारीरिक यातना नदिए पनि मानसिक रुपमा भने माफी माग्न भन्दै दुःख दिइरहन्थे ’– उनले भनिन् ।
‘म आइन्दा राजाविरोधी कुनै काम गर्दिनँ, म पञ्चायती व्यवस्था स्वीकार्छु’ भन्ने आशयको पत्र थमाइन्थ्यो म पढ्थें तर हस्ताक्षर गर्न मानिनँ ’ मलाई कसैको डर लाग्दैनथ्यो उनले थपिन्–, कुनै हालतमा माफ माग्दिनँ, बरु गोली ठोक भनें ।’
राणाविरोधी आन्दोलनकै क्रममा सँगसँगै आन्दोलन गरी हिड्ने चुहानडाँडा निवासी लिलाबहादुर थपलियासँग उनको प्रेमविवाह भयो । प्रेम भएपनि बुबाआमाले स्वीकार गर्नुभयो, ह्वाकुका डाँगी र चुहानडाँडाका थपलिया दुवै परिवार नाम चलेका, थुमधामसाथ विवाह गरिदिनुभयो’–उनले सुनाइन् । क्षेत्री र कुमाईबीचको अन्तरजातीय विवाह मानिन्थ्यो त्यससमय । तर उनीहरुको मायाप्रेमका पछाडि दुवै परिवार तगारो बनेनन् ।


प्रजातन्त्रमाथि २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट कू भएपछि प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालालाई नजरबन्दमा राखियो । कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय भेलामा सहभागी भएका सिके प्रसाई र हर्षकुमारीका पति लिलाबहादुर थपलिया लगायत थुप्रै प्रजातान्त्रिक योद्धाहरु काठमाडौंको टुँडिखेलबाट पक्राऊ परे । ‘त्यस समय सिके बाबुलाई तरुण दलको केन्द्रीय अध्यक्ष बनाउने कुरा थियो । तर, प्रजातन्त्रमाथि कू भएपछि उहाँहरु कार्यक्रम स्थलबाटै पक्राऊ पर्नुभयो’–कांग्रेस नेता सुधिरकुमार शिवाकोटीले भन्नुभयो–‘त्यस समय पक्राऊ परेकाहरुलाई डेढ/दुई महिना जेलमा राखेर छाड्यो ।’ जेलमुक्त भएपछि पुनः प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका उनीहरु निर्वासित हुन बाध्य भए ।
त्यसबेलाका सांसद र प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुलाई पक्राऊ गर्ने हल्ला फैलियो देशैभरी । तत्कालीन सांसद फत्तेवहादुर बुढाथोकी अन्य प्रजातान्त्रिक योद्धाहरु दलकृष्ण श्रेष्ठ, बुद्धिमान राजवंशी, तुर्सा हेमरम, रणकेशर बुढाथोकीलगायतका नेताहरुसँगै उनी पनि निर्वासित भइन् । प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुको सर्वश्वहरण गरियो ।
उनीहरुको परिवार पनि सर्वश्वहरणमा प¥्यो । चन्द्रगढीको १० विगाह जग्गा सर्वश्वहरणमा परेपछि उनीहरु सुकुम्बासीजस्तै भए। २०२५ सालमा आममाफी भएर नेपाल फर्किए । २०२० सालतिर नक्सलवाडीमा निर्वासित जीवन विताउँदाको क्षण सम्झिएर उनी एकछिन् उमंगित र शाहसी देखिइन् । भनिन्– म कहिले बंगाली भेषमा त कहिले अन्य भेषमा घोडा चढेर नेपाल पस्थें, राजाविरोधी पर्चा फ्याक्थें, अनि बेलुका फेरि त्यही फर्कन्थे । हर्षकुमारीसँगै अरु प्रजातान्त्रिक योद्धा पनि नेपालको निरंकुश राजतन्त्र विरुद्ध निर्वासनबाटै जेहाद छेडिरहेका थिए । उनी सशक्त योद्धा थिइन् त्यसबेला, निडर र शाहसी । ‘हामी टेढे, डेढफुटे मुर्दाबाद’ भनेर नारा लगाउँथ्यौं’–उनले सुनाइन् । त्यसवेलाका प्रजातान्त्रिक योद्धाहरु राजा महेन्द्रलाई टेढे र डेढफुटे भन्दारहेछन् ।
त्यही परिवेश सम्झदासम्झदै उनी भक्कानिइन् र भनिन्– ‘एकमाना चामल पकाएर ६ जनाले बाँडेर खान्थ्यौं । म अलिक मोटी, सबैले हात्ती हात्ती भन्थे, हर्षकुमारी मोटी छ, यसलाई अलिक खान चाहिन्छ भनेर एकएक गाँस काटेर दिन्थे । त्यससमय यो सन्तान पनि थ्यो मेरो साथमा’ उनले सँगै रहेको जेठो छोरो विरेन्द्रलाई देखाइन् । उनका चार छोरा र एक छोरीमध्ये छोराबुहारी विरेन्द्र–सरस्वती, दिपेन–मनिषा र छोरी आदर्श मैनाली छन् । दुई छोराहरु हरिन्द्र र नरेन्द्रको निधन भइसकेको छ भने श्रीमान लीलाबहादुरलाई गुमाएको पनि दुईदशक नाघिसकेको छ ।
नेपालको राजनीतिमा वी.पीलाई उनी पिता मान्दिरहिछन् । ‘ए सान्दाई । सान्दाईलाई त म बाबु नै मान्छु’– कुराकानीका क्रममा उनले पटकपटक वी.पी. आफूसँगै निर्वासनमा बसेका प्रजातान्त्रिक योद्धाहरु, पूर्णानन्द शर्मा, सूवर्ण समशेर, जवाहरलाल नेहरु, र इन्दिरा गान्धी, को नाम लिइन् । नेहरुले राजा महेन्द्रलाई भनेका थिए रे–‘नारी भनेका आमा हुन्, आमालाई पक्राऊ गरे पनि यातना नदिनु, हिरासतमा राखेका राजनीतिक बन्दीलाई राम्रो खान दिनु ।’
निर्वासनमा रहँदा जवाहरलाल नेहरु र वी.पीसँगको राजनीतिक सहमतिमा रासन कार्ड बनाइएको उनले सम्झिइन् । ‘पछि टेढेले के भनेर फकायो कुन्नी रासन कार्ड खोसियो’–उनले भनिन् । त्यससमय उनका आँखा टल्पलाइसकेका थिए । उनी केही क्षण भक्कानिइन् र तत्कालै आफू संहालिइन् र भनिन् –‘अनि त एकमाना चामल पकाएर पाँच–छ जनाले खानुपर्ने अवस्था आयो । भोकभोकै बस्नुपर्ने अवस्था आएपछि सि.के. प्रसाईं पढेका मान्छे, जागिर खोज्नुभयो, एउटा क्याम्पसमा पढाउने अवसर पाएपछि खानको त्यति दुःख भएन ।
कुराकानीकै क्रममा उनले नेपाली कांग्रेसले विराटनगरमा प्लेन अपहरणको प्रसंग उठाइन् । भनिन्– निर्वासनमा रहेका अधिकांश कार्यकर्ता भोकभोकै थिए, पार्टीसँग पैसा थिएन, नेहरु र गान्धिसँगको कुराकानीमा प्राप्त राशन कार्ड राजा महेन्द्र र इन्दिरा गान्धीबीच नेपालको बाटोमा लगानी गर्ने सहमतिपछि खोसियो । निर्वासित जीवन विताइरहेका र सेल्टरमा बसेका कार्यकर्ता भोकभोकै भएपछि विराटनगरमा प्लेन अपहरण भयो । त्यही प्लेन अपहरणबाट प्राप्त पैसाले एउटा ट्रक किनेर सेल्टरसेल्टरमा खाद्यान्न पुर्याइयो ।’
जीवनभरी प्रजातन्त्र र समाजवादका लागि आन्दोलित हर्षकुमारीको आर्थिक अवस्था भने अति सामान्य छ, लगभग २००७ सालमा बनिएको घरको तलामुनी झण्डैझण्डै डेढफुट जति पानी जमेको थियो। भुइतल्ला पक्की र माथिल्लो तल्ला सेन्टरबेरा गरिएको सामान्य घर रहेछ । निर्वासित जीवन विताउनेक्रममा सर्वश्वहरणमा परेका उनीहरुको १० विगाह जग्गाको सरकारी मूल्यांकनबाट २०४७ सालमा ५ लाख रुपैया पैसा सरकारबाट प्राप्त भयो ।
‘त्यही पैसा लगानी गरेर घरको तलामुनी बनायौं’–छोरा विरेन्द्रले घरको आर्थिक अवस्थाबारे बताउँदै भने–‘नक्सलबाडीमा केही जग्गा थियो। आममाफी भएर आमाबुबा फर्किएपछि त्यही नक्सलवाडीको जग्गा र आमाको गरगहना बेचेर साविक हल्दिबारी–३ मा एकविगाह जग्गा खरिद गरेका थियौं । त्यही जग्गामा पनि माओवादीको सशस्त्र द्वन्द्वका क्रममा ४ घर परिवार सुकुम्बासी ४–४ धुर जग्गामा बसेका छन् । हाम्रो आम्दानीको स्रोत त्यही हो ।’
आजन्म प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेकी हर्षकुमारी अहिले पनि चन्द्रगढीनजिकै बसेर ‘प्रजातन्त्र जिन्दाबाद, हामीले लडेर प्रजातन्त्र ल्याएको’ भनेर दोहो¥याइरहन्छिन् । ‘जनताले सुख पाउन्, सुकुम्बासीले बास पाऊन् भनेर प्रजातन्त्र ल्याएको । अहिले सबै नेता मतलबी भए, साँच्चै शोसित पीडित जनतालाई हेरेनन् । म त जनताको अधिकारका लागि अहिले पनि बन्दुक चलाउन सक्छुु ’ु गफका क्रममा बेलाबेला शाहसी महिला त बेलाबेला इतिहास सम्झदै संवेदनशिल बनेकी हर्षकुमारीले अन्त्यमा भनिन्–‘जीवनभर प्रजातन्त्रकै लागि लडे, सम्पत्ति कमाउन सकिन । मैले केही पाइन भनेर चिन्ता लागेको छैन, हामीले लडेर प्रजातन्त्र ल्याऔं त्यही प्रजातन्त्रको पर्खाल चढेर केही नेता मन्त्री प्रधानमन्त्री बन्ने बाटो खुल्यो । तिनै नेताले मन्त्री, प्रधानमन्त्री बनेर मोजमस्ती गरे, तर जनताले केही पाएनन् मलाई यसैमा दुःख लाग्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला ‘प्रजातन्त्रमा नेताले मस्ती गरे, जनताले के पाए ?’

Most Popular

बाँसमा भविष्य खोज्दै बुद्धशान्तिका युवा

झापा । भारत सरकारले ‘बेम्बो वाटर बोटल’लाई प्लास्टिकको विकल्पका रुपमा प्रयोग गर्न सकिने गरेको घोषणाले झापाका तीन युवाको मन छोयो ।खेतबारीमा बार वार्ने,...

सहाराद्वारा परिवार राहत वितरण

लक्ष्मीपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले २ जना ७५ बर्ष माथिका जेष्ठ सदस्यलाई परिवार राहत...

कनकाई नदीमा झोलुङ्गे पुल निर्माणको शिलान्यास

शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्न...

अपाङ्ग आश्रमलाई खाद्यान्न र कपडा हस्तान्तरण

झापा । मेचीमहाकाली बुहारी संयुक्त आवाजले अर्जुनधारामा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको छ ।घरेलु हिंसाका...

Recent Comments