Home समाचार समाचार जग हसाउने एउटा प्रस्तावबारे सभामुखसंग पत्रालाप

जग हसाउने एउटा प्रस्तावबारे सभामुखसंग पत्रालाप

सम्माननीय सभामुख महोदय,
नमस्कार !
अति जरुरी भयो, त्यसैले पहिलो पटक तपाईलाई यो पत्र लेख्दैछु । झर्को नमानी पढी–विचारी दिनुहोला ।
सबभन्दा पहिला तपाईहरुकै संसदीय भाषाको सिको गर्दै ठूलो स्वरमा भन्छु– मेरो नियमापत्ति छ, सभामुख महोदय । सक्कली बेहोरा त पढ्न पाएको छैन तर मैले सार्वजनिक रुपमा सुनेको छु– पत्रकार हुन परिक्षा पास गर्नु पर्ने संसोधन प्रस्ताव राष्ट्रिय सभामा पेश भएको छ । एउटा प्रतिवद्ध पेशाकर्मीका नाताले यो सिद्धान्ततः नै अति प्रतिगामी विषय भएको हुँदा अत्यन्त जरुरी सार्वजनिक महत्वको यो प्रस्तव म तपाईमार्फत संसदका दुवै सदनमा पेश गर्न चाहन्छु र ग्रहण गरिदिनु हुन सविनय अनुरोध पनि गर्दछु ।
सभामुख महोदय, एउटा जमाना थियो– उपल्लो दर्जाका विशेष वर्गले मात्र राजनीति गर्न पाउँथे । ती परम्परागत शक्ति कुलिन बाहेक कसैले पनि नेता हुन पाउँदैन थिए । सन् १९७० को दशकमा आइपुग्दा मात्र प्रजातान्त्रिक चुनाव हुने देशको संख्या एकसय १० वटा पुगेको हो । विश्वलाई नै प्रजातन्त्रको दुहाइ दिने मुलुक संयुक्त राज्य अमेरिकामा समेत महिलाले मताधिकार पाएको एकसय वर्ष पनि पुगेको छैन । यो दशा विश्वका केही देशमा अझै कायम छ ।
म यहाँ पत्रकार हुन परिक्षा पास गर्नुपर्छ भनी मिडिया काउन्सिल विधेयकमाथि राष्ट्रियसभामा संसोधन प्रस्ताव हाल्ने ती सांसद महोदयहरुलाई तपाई मार्फत प्रश्न सोध्न चाहन्छु– नेता हुन परिक्षा पास गर्नुपर्छ भनेर कसैले प्रस्ताव राख्यो भने तपाईको उत्तर के होला ? यसमाथि तपाईको दावी हुनसक्छ– पत्रकारहरुले समाज भाडेँ । ठीक छ मेरो त्यसमा तपाईहरुलाई प्रतिप्रश्न हुनेछ– नेतामाथि त झन देश र जनताको भविष्य भाँडेको र अन्धकारमा धकेलेको आरोप छ । हुन पनि साँच्चै, नेतामाथि देश र जनताको भविश्य र भरोसा अडेको हुन्छ । यति ठूलो जिम्मेवारी बोक्ने नेता ‘भासेभुसे नागरिक’ बन्न पाउँनु हुन्छ त ? यसका लागि विशेष वर्ग, योग्यता र हैसियत चाहिन्छ अनि नेता बन्न परिक्षा पास गर्नुपर्छ ।
मलाई राम्ररी हेक्का छ, यस्तो तर्क मैले गरेँ भने जति बकमफुस्से र वेतुकको ठहरिनेछ, तपाई केही सांसदहरुले अहिले राष्ट्रिय सभामा पेश गरेको पत्रकार हुन परिक्षा पास गर्नुपर्छ भन्ने प्रस्ताव पनि त्यत्तिकै बकमफुस्से र वेतुकको छ । विश्वका विभिन्न देशमा यस विषयमा धेरै पहिले नै गहन वहस चलेको थियो । यस सन्दर्भमा लामो वहसपछि इजाजत दिने अधिकारीसँग नियन्त्रणको अधिकार पनि सुरक्षित रहने हुँदा वाक तथा प्रकाशन स्वतन्त्रताको ग्यारेन्टीका लागि पत्रकारहरुले पत्रकारिता गर्नलाई कसैबाट इजाजत लिनु नपर्ने प्रचलन स्थापित गरिएको तथ्य जगजाहेर छ ।
अर्कोतर्फ पछिल्ला राजनीतिक परिवर्तनहरुले जसरी शासक वर्ग निश्चित बंश र घरानीयाहरु मात्र हुनुपर्ने एकाधिकार खोसेर आम जनताबाट चुनिएका व्यक्तिहरुले शासन सत्ताको वागडोर सम्हाल्न सक्ने ग्यारेन्टी ग¥यो त्यसैगरी अहिले पत्रकारितामा पनि कुलिनहरुले कसैका लागि गरिदिने पत्रकारिताको वर्चश्व तोडेर अविच्छिन्न अभिव्यक्ति स्वतन्त्रता र नागरिक पत्रकारिता युगको उदय भएको छ । राजनीतिक परिवर्तनहरुसँगै पत्रकारितामा पनि ‘एजेण्डा सेटिङ’ गर्ने कुलिनको एकाधिकार तोडिएर आम नागरिकको पहुँच र अधिकार स्थापित भएको छ । यो गर्व गर्न र सबैलाई सुनाउन लायक चीरप्रतिक्षित अग्रगामी उपलब्धि हो ।
सभामुख महोदय, स्वतन्त्रताले आरोप–प्रत्यारोपको भाषा बुझ्दैन । स्वतन्त्रता आरोप–प्रत्यारोपको खिचातानीभन्दा कता हो कता माथि र मूल्यवान छ । त्यसैले स्वतन्त्रताको अभ्यास गर्नेहरुले स्वतन्त्रताको मूल्य बुझ्न सक्नुपर्छ । यसको अर्थ हो– आफू क्रियाशील क्षेत्र वा पेशाप्रतिको जिम्मेवारीवोध र अरु कर्मप्रतिको सम्मान । नेता र पत्रकारहरु भनेका स्वतन्त्रताको सक्रिय अभ्यासकर्ता हुन । आफ्नो स्वतन्त्रताको कुरा गर्नेले अरुको पनि स्वतन्त्रता हुन्छ भन्ने आधारभूत हेक्का राख्नुपर्छ । त्यसैले सबैका स्वतन्त्रताहरुलाई सुनिश्चित गर्ने सर्वोपरी स्वतन्त्रता नै मूल्यवान र शाश्वत स्वतन्त्रता हो । स्वतन्त्रता लिने र दिने कारोवारी विषय होइन, स्वतन्त्रता मानिसको जन्मजात स्वभाव हो । स्वतन्त्रता कुनै पागलपन वा अराजकता होइन । त्यसैले स्वतन्त्रतामाथि प्रश्न उठाउनु यसको मूल्यलाई सवर्था नकार्नु हो, जुन हर्कत र दुस्साहस वंशीय तथा अधम तानाशाहहरुले शिवाय अरु कसैले गर्न सक्तैनन् ।
पुष्टि भएकै कुरा हो– दुष्ट र कायरहरुले मात्र अरुको स्वतन्त्रतामाथि आक्रमण गर्ने गर्छन । पेशागत स्वतन्त्रता, पेशाका मौलिक मान्यता र निजीपनहरुलाई भ्रष्ट र नष्ट गर्ने थलो राजनीति होइन । स्वतन्त्रतालाई बचाउँनु छ भने सबभन्दा पहिला यस्ता पेशा विरोधी लहड, ईष्या र द्वेषबाट राजनीतिलाई, दलहरुलाई र संसदलाई अलग्ग राख्नुपर्छ ।
मलाई मज्जाले थाहा छ–‘किन ?’ बिनाको स्वतन्त्रता र मुक्ति सधैं विभत्स र खतरनाक हुन्छ । हामीले प्राप्त गरेको स्वतन्त्रताबाट थाहै नपाई ‘किन ?’ हराएको छ । यसलाई फेला पार्नु आजको प्रमुख र सामुहिक दायित्व हो । अहिले पत्रकारिताको मात्रै होइन सिंगो नेपाली समाजको सामाजिक मुल्य नै अकल्पनीय स्तरमा गिरेको कालवेला छ । एउटा उदाहरण लिऔं– केही समय पहिले तत्कालीन एउटा सत्तारुढ दलले निकालेको औपचारिक वक्तव्यमा तत्कालीन प्रमुख प्रतिपक्षी दलको नेतालाई ‘पागल’ भनेर सम्वोधन गरिएको थियो । यो घटनाले हाम्रो समाजिक र सार्वजनिक आचरणमा आएको निकृष्टताको प्रतिनिधि तस्वीर दिन्छ ।
सत्तापक्ष र प्रतिपक्षबीच, संसदभित्र र राजनीतिक सभामा हुने गरेका गालीगलौज, आपसी घृणा र द्वेष, अपमान र हिंसाका बारेमा तपाई सभामुख महोदय स्वयम् भालिभाँति जानकार र भुक्तभोगी हुनुहुन्छ । मैले यी कुरा दोहो¥याइ रहनै पर्दैन । यसो भन्दैमा राजनीति छाडा भयो अब प्रजातन्त्रलाई वा रातजीतिक स्वतन्त्रतालाई खुम्च्याउनु, लगाम वा बन्देज लाउनु पर्छ भन्ने तर्क गर्नु जुनसुकै अर्थमा पनि फासिष्ट तथा तानाशाही हुन्छ र कदापि मान्य हुँदैन । प्रश्न यति हो नेताका आचरणहरु सुधार्नुपर्छ ।
यहाँ मैले नेपाली पत्रकारिता पनि मूल्यमा आधारित भएर चलिरहेको छ भन्ने दावी गर्न खोजेको होइन । पत्रकारिता पेशा विश्वासमा अडेको पेशा हो । यसप्रति विश्वास गुम्यो भने सिंगो पत्रकारिता जगतले महंगो मूल्य चुकाउनु पर्छ । पत्रकारितामा विद्यमान विकृतिहरु र पत्रकारितालाई वदनियतपूर्वक उपयोग गर्न चाहने तत्वहरुले यो पेशालाई नराम्ररी संकटमा धकेलिदिएका छन् । अहिले पत्रकारितामा ‘प्रायोजित’ समाचार र ‘फर्जी’ समाचारको विगविगी छ, पेशागत शिष्टता हराएको छ, पेशागत मर्यादामाथि भाडँभैलो मच्चाएका छन् । यस स्थितिमा आफ्नो पसिना र मेहनतले लगाएको धानबालीलाई अमेरिकी फौजी किराले सखाप पारेपछिका ती परिश्रमी किसान झैं निःसहाय र हतास मनोदशामा वास्तविक पत्रकारहरु पिल्सिनु परी रहेकोछ । यो दुर्दशाले हामी सच्चा पत्रकारहरु नै हैरान, कायल र लज्जित छौं । यतिसम्म कि प्रतिवद्ध पत्रकारिता गर्न कटिवद्ध पत्रकारहरुका लागि निरिह र सिमान्तकृत बन्नु पर्ने बाध्यता नै मुटु छेड्ने सजाय बनेको छ ।
सत्यप्रति इमान्दार भएर भन्नुपर्दा पत्रकारिता पेशामाथि बलात्कार र जालसाजी गर्न नेतादेखि तस्करसम्म दिलोज्यानले सक्रिय छन् । तिनै तमाम ‘प्रायोजित’ र ‘फर्जी’ समाचार लेख्ने र दिने पत्रकार तथा सञ्चारमाध्यमहरु नै परम्पारगत शक्तिकेन्द्रहरुबाट पालितपोसित छन्, उनीहरुलाई नै मान्यता प्रदान गरिएको छ, राज्यका अंगद्वारा, राजनीतिक दलद्वारा, नेताद्वारा, उद्योगी–व्यापारीद्वारा, तथाकथित प्राज्ञिक जगत तथा नागरिक समाजद्वारा र यस्तै आदत धारण गरेका व्यक्तिहरुद्वारा । दुर्भाग्यको कुरा आफूसंग भएको कमीकमजोरीले डो¥याएर उनीहरुलाई त्यस्तै कोटीका पत्रकारको सरसंगतमा पु¥याएको छ । तसर्थ तिनकै समर्थनमा नाराजुलुस लाग्छन, पक्षपोषण गन्र्छन, तिनैलाई मानसम्मान तथा पुरस्कार दिन्छन, तिनैलाई राज्यको सार्वजनिक कोषबाट भरमार विज्ञापन उपलब्ध गराउँछन्, सहुलियत र अनुदान दिन्छन्, टेवुलमुनीबाट लिने वा धम्क्याएर असुल्ने पैसाको त के लेखा–जोखा गर्नु ।
यी यावत यथार्थ हुँदाहुँदै पनि म रत्तिभर नडगाइकन भन्छु, ‘कुनै पनि पेशाको सबैभन्दा शुद्ध स्वरुप हो– निष्ठा र इमान्दारी’ । नेपालमा निष्ठावान र इमान्दार पत्रकारको हिस्सा पनि सानो छैन । पत्रकारिता मूल्यको पेशा हो, यसका अन्तरराष्ट्रिय रुपमै प्रतिपादन तथा स्वीकार गरिएका सिद्धान्त, मान्यता, आचार र मानकहरु छन् । पत्रकारिता आम नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई अभ्यास र प्रचलनमा ल्याउने सक्रिय र समर्पित पेशा हो ।
अभिव्यक्ति स्वतन्त्रता नागरिकको अहरणीय अधिकार हो । कुनै पनि बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने वा मास्ने दुस्प्रयासहरु स्वीकार्य हुनु सक्दैन । प्रेस स्वतन्त्रता सबैखाले स्वतन्त्रताहरुलाई मुखरित गर्ने प्रतिनिधि स्वतन्त्रता हो । यसमाथि परिक्षा लिने वा यस्तै केही बहानामा रोक लगाउने कार्य आम नागरिकको कल्याणका लागि नभएर केही शक्तिशाली व्यक्तिहरुको आत्मरति र महत्वकांक्षालाई सन्तुष्ट पार्नु मात्र हो । सधैं नै ती शक्ति कुलिनहरुले आफ्ना कार्यमाथि प्रश्न उठाउने निश्चित पेशाहरुका बारेमा भयावह तस्वीरको चित्रण गर्छन र सबैको एकमात्र मोक्षदाता भएको देखाउन आफ्नो ‘पवित्र छवि’को वकालत गर्छन् । यही दुस्प्रयासको झ–झल्को दिलाउने कार्य पत्रकार हुन परिक्षा लिनु पर्छ भन्ने संशोधन प्रस्तावका रुपमा अहिले राष्ट्रिय सभामा छिरेको छ ।
सभामुख महोदय, स्वतन्त्रता भनेको कुनै कार्यको पूर्वसर्त वा परिवेश मात्र हो, अपेक्षित भुमिका होइन । कुनै पनि समाधान अघिसार्दा त्यो समाधानले समस्यासंग दुरुस्त मेल खानुपर्छ । अर्थात नेपालीमा एउटा भनाई छ– ‘¥याङको ठ्याङ मिल्नु पर्छ’ । तसर्थ हामीले सुधार्ने वा जिम्मेवार बनाउने भनेको भुमिकालाई हो, यसको पूर्वसर्त वा परिवेशलाई खुम्च्याउने वा गिजोल्ने होइन । अहिले हाम्रा सामुन्नेमा देखापरेको प्रमुख चुनौति राजनीति सुधार्ने हो, पेशा सुधार्ने हो, प्रशासन सुधार्ने हो, व्यवसाय सुधार्ने हो, समाजमा मूल्य सिर्जना गर्ने शिक्षालय र शिक्षकहरु सुधार्ने हो, परिवार सुधार्ने हो, हाम्रा सामाजिक र सार्वजनिक आचरण तथा व्यवहारहरु सुधार्ने हो । पत्रकारिताकै सन्दर्भमा भन्ने हो भने पनि यसलाई जिम्मेवार बनाउने वा सुधार्ने थुप्रै पक्षहरु छन् र त्यसलाई उपयुक्त हुने भरपर्दा उपायहरु छन् । सभामुख महोदय, यसबारेमा रहँदावस्दा फेरि वहस गर्दैगरौंला । तर पहुँच माथि नै बन्देज वा छेकवार लगाउनु खोज्नु चाहिँ निन्दनीय हुनजान्छ ।
सभामुद महोदय, अहिले बनाउन खोजिएको जस्तो पत्रकारिता कुनै खिसी–ट्यूरी र मजाकको विषय होइन । अभिव्यक्ति स्वतन्त्रता र नागरिक पत्रकारिताको वर्तमान युगमा‘पत्रकार हुनलाई परिक्षा दिनु पर्ने’ जस्तो जग–हँसाउने र जमाना विरोधी प्रस्तावलाई तपाईले पक्कै पनि स्थान दिनु हुने छैन भन्ने कुरामा म पूर्ण आशावादी रहेको कुरा यसैपत्र मार्फत जाहेर गर्दछु । र, म स्वतन्त्रताको मुल्य बुझेका सम्पूर्ण माननीय सांसदज्यूहरुलाई पनि हार्दिक आग्रह गर्दछु– तपाईहरु स्वतन्त्रतामाथि कलंक लगाउने यस्ता प्रस्ताव वा निर्णयको साक्षी नबनिदिनु होला । अब पालो तपाईकै हो, आफैं जानिफकार हुनुहुन्छ, धेरै के भनौं र ! नभनी चित्त नबुझेकाले एउटा कुरा चाहिँ थप्छु– कसैको भुलभुलैयामा नलागी निर्णयहरु गर्दा होसियारी र विवेक पु¥याउनु होला, वस् ! यति नै ।
आवश्यक परे पत्र लेख्दै गरौंला । सम्झना रहिरहेस् । स्रोतः परिसंवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार जग हसाउने एउटा प्रस्तावबारे सभामुखसंग पत्रालाप

Most Popular

कोरोना संक्रमण पछि झापामा ३ को मृत्यु, ३१ मा संक्रमित थपिए

झापा । कोरोना संक्रमण पुष्टि भएर पछिल्लो २४ घण्टामा झापाका तीनजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा विर्तामोड नगरपालिकाका २ र...

प्रदेश–१ का जेठा सांसदलाई कोरोना

झापा १४ कात्तिक। प्रदेश–१ मा सबैभन्दा जेठा सांसद ओमप्रकाश सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा...

निजी अस्पतालका बेडबारे डिडिएमसीले अनुगमन गर्ने

झापा १४ कात्तिक । जिल्ला स्थित कोरोना संक्रमण व्यवस्थापन तथा न्यूनिकरण समिति (डिडिएमसी)ले सरकारले तोके अनुसार निजी अस्पतालले कोरोना संक्रमणका लागि...

पत्रकार महासंघ झापा अध्यक्ष सापकोटालाई कोरोना

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई...

Recent Comments