Home समाचार समाचार प्रविधि र प्रबृत्तिको केही गणितीय तथ्यहरु

प्रविधि र प्रबृत्तिको केही गणितीय तथ्यहरु

हामी सबैलाई यो विश्वास छ कि, हाम्रो जन्म बुबा र आमाको संयोग र सम्भोगक्रियाबाट भएको हो । यस भनाईमा २×२=४ हुन्छ भन्ने तथ्य जत्तिकै गणितीय सत्य मानिन्छ । यस तथ्यपरक परम्परालाई अलिकति बङ्ग्याउने ठाउँ भने यसमा पाइन्छ । त्यो के भने आफ्नो विवाहिता श्रीमान छँदाछँदै कतै आमाबाट व्यभिचार भएर अन्य पुरुषको संयोगबाट जन्मेको भए रगतको नाताले

इन्द्रप्रसाद कटुवाल

बाबुसंग गणितीय तथ्य फरक पर्ने जस्तो देखिए पनि जन्मको प्रक्रियागत तथ्य त बाबु र आमाकै भूमिकामा निर्भर रहेको हुन्छ । हो यस्तै तथ्यपरक विश्लेषणकै आधारमा भन्ने हो भने हाम्रा कतिपय व्याक्तिगत औ सामाजिक व्यवहारमा पनि सत्य तथ्यलाई बङ्ग्याएर परिवन्दको सत्य सावित गर्ने परम्पराले प्रविधि र प्रबृतिको सम्बन्धमा प्रशस्तै बाङ्गा टिङ्गा तथ्यहरु तेर्सिन पुगेका छन्, जसले गर्दा यी विषयको गणितीय हिसाब ठ्याक्क मिल्न सकिरहेको छैन आजकाल ।
यस सन्दर्भमा प्रश्न उठ्न सक्छ कि प्रवृत्ति के हो र प्रविधि के हो त ? यस्को पनि गणितीय उत्तर नै चाहियो भनेर । यस अनुसार प्रविधि शब्दको अर्थ शब्दकोष अनुसार विज्ञानका कुरालाई व्यवहारमा प्रयोग गर्ने विधि, पद्धति वा तौर तरिका वा बैज्ञानिक विधि । त्यसै गरी प्रबृत्तिको अर्थ–कुनै कामप्रतिको झुकाव वा अकर्षण, बानी व्यहोराको आदत । यहाँ शब्दकोषले बताएको अर्थलाई नै गणितीय आधार मानौ किनकि यो सुत्रात्मक नभएर व्याख्यात्मक हो । कुनै पनि सर्वमान्य आधारबाट गरिएको ब्याख्या पनि गणितीय मानिने गरिन्छ । जस्तो कि ‘नेपालमा अहिले लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्दति लागु छ ।’ के यस भनाइलाई गणितीय मान्न सकिन्न र ? गणितीय नमानेमा तथ्य परक र यो पनि नमानेमा यथार्थपरक त कस्ले नमान्ला र । हो, यसरी नै व्यवहारिक प्रयोजनमा दिइने सूचनामूलक र प्रचलित कुरालाई गणितीय आधार मान्नु सान्दर्भिक नै देखिन आउँछ । यहाँ प्रविधि र प्रबृत्तिको व्यवहारिक तालमेल सम्बन्धमा समसामयिक गतिविधिमा देखा परेका केही पक्षहरुको गणितीय विश्लेषण गर्ने प्रयास नै यस लेखको उद्देश्य रहेको स्पष्ट पार्न चाहन्छु ।
ल विज्ञान र प्रविधिको अत्यधिक विकास भइरहेको वर्तमान सन्दर्भमा हाम्रो व्यवहारिक जीवनमा जति सहुलियत र सुविधा प्राप्त हुन सकेको छ त्यत्तिकै रुपमा सामाजिक जीवनमा अनेकौं प्रकारका जटिलतम समस्याहरु र शान्ति सुरक्षा एवं मानवीय मूल्य र मान्यता धराशायी बन्नुमा प्रमुख कारण प्रविधि र प्रवृत्तिको गणितीय समाधान नहुनु हो ।
ल प्रविधि शील्पसंग सम्बन्धित छ । यो स्वयंमा कुनै दोष छैन तर प्रविधिको उपभोग गर्ने कुरामा प्रबृत्तिको हात रहेको हुने हुनाले प्रबृत्ति गलत भएको खण्डमा प्रविधिको दुरुपयोग हुन जान्छ, भएको छ र हुँदै गइरहेको छ । उदाहरणको लागि मोवायल फोनको र फेसबुकको सुविधा हाम्रा दैनिक जीवनमा एकतर्फ वरदान सावित भएका छन् भने अर्कातर्फ धातक हतियार पनि सावित भएको छ । यस्को प्रमुख कारण पनि प्रबृत्ति दोषकै कारण मान्न सकिन्छ । वर्तमान समयमा यस्ता अनेकौं अन्य प्रविधिहरुको दुरुपयोगका कारण सामाजिक अपराधहरुको संख्यात्मक वृद्धि हुन पुगेको छर्लङ्ग देख्न र बुझ्न पाइएको छ । यसको मूल कारण पनि प्रविधिको गणितीय उपयोग नहुनाले नै हो ।
वर्तमान समयमा देखिन आएका सामाजिक विचलन, आर्थिक अनियमितता, राजनीतिक खिचातानी, शैक्षिक अन्यौलता, स्वास्थ्यको लापरवाहीपन देखिनुमा व्याक्तिगत, संस्थागत, समूहगत प्रबृत्तिको कारण हो र यस्ता हर क्षेत्रमा विचलन देखिनु जीवन र जगतको गणितीय भावनात्मक असमानताको दुरी बढ्दै जानु हो । यस सन्दर्र्भमा यहाँ समयसंग सम्बन्धित गणितीय तथ्यका आधारमा संक्षिप्त लेखा–जोखा प्रस्तुत गरिएको छ ।
आधुनिक विज्ञानले निर्धारण गरेको समयको न्यूनतम हिस्सा (प्रमाणिक समय) सेकेन्ड, मिनेट, घण्टा, दिन, बार हुँदै प्राचीन ऋषि महर्षिले निर्धारण गरेकै कालमानमा गएर मिलेको पाइन्छ । आधुनिक प्रमाणिक समयानुसार ६० सेकेन्ण्को १ मिनेट, ६० मिनेटको १ घण्टा, २४ घण्टाको १ दिन रात, ३० दिनको १ महिना र १२ महिनाको १ वर्ष भनी निर्धारण गरेर वर्षको गणनामा गएर टुङ्गिएको पाइन्छ भने पौराणिक समय निर्धारण यसरी गरिएको छ ः–
एक मात्रा लागेको ध्वनिको न्यूनतम उच्चारण समयलाई ‘निमेष’ भनिन्छ । जस्तै ‘क’ यस अक्षरको उच्चारण अवधि १ निमेष मानिन्छ । यसरी १५ निमेषको एक काष्ठा, तीस काष्ठाको १ कला हुन्छ भने १५ कलाको १ नाडी (घडी) हुन्छ यस्ता दुई नाडीको १ मुहुर्त हुन्छ भने ३० मुहुर्तको समयले १ दिन रात पूरा हुन्छ । यसरी आधुनिक प्रणालीको समय अनुसार ३० मुहुर्त भन्नाले ६० घडी मानिन्छ र ६० घडीको २४ घण्टा पुग्दछ । आधुनिक समयमा पनि पञ्चाङ्ग (पात्रो) मा उल्लेखित समय घडीमा आधारित भएको हुन्छ । यस अनुसार १ मिनेटमा साढे दुईपलाका हिसाबले २४ मिनेटको ६० पला हुन्छ र ६० पालको १ घडी हुनेहुँदा ६० घडीमा २४ घण्टा पुरा हुन्छ ।
स्मरण रहोस यो समयको मापन सूर्योदय अर्थात सूर्य गतिका आधारमा गरिएको हुन्छ । यो गणना अनुसार पनि ३० दिनको महिना र १२ महिना एकवर्ष भन्ने गरिन्छ । प्रायः मानिसमा यही १ वर्षका हिसाबले मात्र समय अवगत गर्ने गरेको पाइन्छ तर यसको परिधि बृहत्तर हुन्छ । हेरौं अझै ठूलो परिणामको समय राशिः विष्णु पुराणमा उल्लेख भए अनुसार–जसरी ७ बार, ६ ऋतु र १२ महिना घुमिरहन्छन् त्यसरी नै ४ युग ः सत्य, त्रेता, द्वापर र कलि पनि घुमिरहन्छन् । कलियुगको समयावधि ४,३२००० वर्ष यसको २ गुणा द्वापरको ८, ६४००० वर्ष र ३ गुणा त्रेताको १२, ९६००० वर्ष र ४ गुणा सत्यको १७२८००० वर्ष मान बताइएको छ । यसरी चार युगको पूर्ण अवधि ४३२०००० वर्ष हुन्छ यसलाई एक चतुर्युग भन्दछन् र यस्ता एक हजार चतुर्युग वित्दा सृष्टिकर्ता ब्रह््माजीको एकदिन मानिन्छ । यस्तै गणना अनुसार ब्रहमाजीको १ दिनमा हामी मनुष्यले गणना गर्ने वर्षहरको ४ अरब ३२ करोड वर्ष हुन्छ । जस्तै ४३, २०००० वर्ष १००० ४,३२००००००० वर्ष हुन आउँछ । यस हिसाबले ब्रहमाजीको समस्त आयु १०० वर्षको बताइएको छ । यस्ता सय वर्ष पुगेपछि ब्रहमाजीको मृत्यु हुन्छ । अर्थात प्राकृतिक प्रलय हुन्छ । सबै समयका अवयव र सृष्टिका सम्पूर्ण ज्ञान–विज्ञान भौतिक अवशेषहरुको अन्त्य भइ भवगान ब्रहमाजी परमतत्वमा लय हुन पुग्नु हुन्छ । यसरी ब्रहमाजीको आधा आयु वित्दा १ पराद्र्ध वित्दछ र जम्मा समयको नित्यतामा दुई पराद्र्ध ब्रहमाजीको समयावधि मानिन्छ । अहिले समयले दोस्रो पराद्र्ध टेकी सकेको छ अर्थात ब्रहमाजी ५० वर्ष नाघिसक्नु भएको छ । त्यसो भए अहिले हामी कुन समयको विन्दुमा छौं त ? बडा रोचक प्रश्न छ ।
अहिले पौराणिक कथन अनुसार हामी अठ्ठाइसौं कलियुग र वैवश्वत् मन्वन्त्तरमा छौं । यस अठ्ठाइसौं कलियुगको अहिले ५, ११९ वर्ष पाँचहजार एकसय उन्नाइस वर्षमा हिंडिरहेका छौं । बाँकी ४,२६८८१ वर्ष अझै कलियुगको समय रहने छ । मनुष्मृतिमा एउटा यस्तो भनाई छ –
कलोंदश सहस्राणि हरिस्त्यजन्ति मेदिनी,
तद्अर्धम् जान्हवीतोयं तद् अर्धम् ग्राम देवताः ।
अर्थ हो, कलिको दशहजार वर्ष विति सक्दा पृथ्वीमा दैवी शक्ति लोप हुनेछ अर्थात भगवानले पृथ्वी त्याग्नु हुने छ । त्यसको आधा वित्दा गंगा आदि तीर्थहरुको पुण्य समाप्त हुन्छ भने त्यसको आधा वित्दा ग्रामदेवी देवता पलायन भै सक्दछन् ।
अतः जसरी हिउँदको महिना चिसो हुन्छ त्यस्तै कलियुग पवनि कलह र पापाचारको बृद्धि भएर अघि बढ्छ अब यहाँ प्रविधिको विकास भयो भन्दैमा सुखका दिन आउलान भनेर आश नगरे हुन्छ । किनकि यहाँ कलि युगिन प्रवाह चलिरहेको छ । यो भनाई मैले समयको गणितीय पद्धति अनुसार उद्यृत गरेको हुँ । किनकि, यस युगको विशेषता भनेको प्रविधिको उच्चतम विकास हुने र प्रबृत्तिको निम्नतम ह््रास हुने हो । अतः प्रविधि र प्रबृत्तिको यही गणितीय तथ्य फरक पर्नाले वर्तमान समय कोलाहलमय वातावरणमा गुज्रन पुगिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार प्रविधि र प्रबृत्तिको केही गणितीय तथ्यहरु

Most Popular

Recent Comments